नेताहरुलाई खादा-मालाले होइन, प्रश्नले स्वागत गरौँ
हाम्रा नेताहरूले देशमा राजनीतिक स्थिरता कायम गरेर, पर्याप्त रोजगारी, उत्कृष्ट स्वास्थ्य सेवा, जीवनोपयोगी शिक्षा, आरामदायक आवास, मनोरञ्जन, यातायात लगायतका तमाम सेवा सुविधाहरू उपलब्ध गराएर नेपाललाई सिंगापुर जस्तै बनाउँछौँ भनेर भनेको तीन दशक भन्दा पनि धेरै भइसक्यो । तर अहिले सम्म सिङ्गो नेपालको के कुरा गर्नु, नमुनाका रुपमा नेपालभित्रको कुनै एउटा गाउँ पनि राम्रो बन्न सकेको छैन ।
तर विडम्बना के छ भने अझै पनि हामीले हाम्रा नेताहरूलाई प्रश्न सोध्ने हिम्मत जुटाउन सकिराखेका छैनौँ । किन? यो प्रश्न अब हरेक नेपालीले आफैलाई सोध्नु पर्ने बेला आएको छ ।
देशमा राजनीतिक दलहरू कयौँ खुलेका छन् । यी कयौँ दलका कयौँ नेताहरु पटक पटक सांसद, मन्त्री, प्रधानमन्त्री बनिसकेका छन् । अब हरेक नेपालीले आफ्नो क्षेत्रबाट जितेर गएको सांसद (मन्त्री वा प्रधानमन्त्री) वा हरेक नेताहरूलाई प्रश्न गर्ने हिम्मत गरौँ । हरेक दलका घोषणा पत्रहरूमा अत्यन्तै महत्त्वका साथ लेखिने केही साझा विषयहरू छन् । हामी तिनै विषयहरूलाई आधार बनाएर, आफ्नो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई यस्ता केही साझा प्रश्नहरू सोध्न सक्छौँ ।
प्रश्न–१ः यो देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्नका लागि अहिलेसम्म तपाईँले के कस्ता भूमिका निभाउनु भयो र यस सम्बन्धमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन भोलिका दिनमा कसरी अघि बढ्ने सोच बनाउनु भएको छ ।
प्रश्न–२ः तपाईँले लिनुभएको नीति वा गर्नु भएको कुनै पहलले अहिलेसम्म कति सङ्ख्यामा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुन सके ?तपाईँको पहलमा अहिले सम्म कति सङ्ख्यामा बेरोजगारहरूले रोजगार पाउन सफल भए?
प्रश्न–३ः तपाईँले लिनुभएको नीति वा गर्नु भएको कुनै पहलको परिणाम स्वरूप बनेको कुनै एउटा त्यस्तो अस्पतालको नाम भनिदिनुस्, जहाँ जनताले कुनै पनि प्रकारको सकस या सास्तीको सामना नगरीकन सन्तोषजनक सेवा लिन पाएका हुन् । अहा ! कस्तो व्यवस्थित अस्पताल भनेर जनताले उक्त अस्पतालको प्रशंसा गर्ने गरेका हुन् ।
प्रश्न–४ः तपाईँले लिनुभएको नीति वा गर्नु भएको कुनै पहलको परिणाम स्वरूप बनेको कुनै एउटा त्यस्तो स्कुलको नाम भनिदिनुस्, जहाँ जनताका छोराछोरीले १२ कक्षा सम्मको पढाई सक्दा अब कसरी गरी खाने होला भनेर चिन्ता गर्नु पर्ने अवस्था नरहेको होस् ।
प्रश्न–५ः तपाईँले लिनुभएको नीति वा गर्नु भएको कुनै पहलको परिणाम स्वरूप खुलेको कुनै एउटा त्यस्तो उद्योगको नाम भनिदिनुस्, जहाँ हजार पन्ध्र सय मान्छेहरूले रोजगार पाएका हुन् ।
प्रश्न–६ः ठ्याक्कै तपाईँकै पहलको परिणाम स्वरूप तपाईँकै क्षेत्रमा भएको कुनै एउटा परिवर्तन वा काम भनिदिनुस्, जसलाई आजको पिँढीले मात्र हैन, आउने पिँढीले पनि सम्झना गर्न सकोस् ।
यी त केही प्रतिनिधि प्रश्नहरू मात्र भए । प्रश्न यी नै र यस्तै नै हुनु पर्छ भन्ने छैन, तर आफ्नो क्षेत्रबाट जितेर गएका जिम्मेवार जनप्रतिनिधिहरूलाई प्रश्न गरौँ । हाम्रो प्रश्न गर्ने बानीले उनीहरूलाई जबाफदेही बन्न कर लाग्ने छ । जिम्मेवारी महसुस गर्न बाध्य पार्ने छ । म जवाफ देही बन्नु पर्ने रहेछ भन्ने कुराको बोध गराउने छ ।
हेर्नुस्, हामीले जस्ता सुकै तर्क गरे पनि जसरी धर्महरू कुनै गलत छैनन् त्यसै गरेर, कुनै राजनीतिक विचार पनि आफैमा नराम्रा भने छैनन् । सबैले देश र जनताको भलो नै चिताएका हुन्छन् । समस्या धर्ममा हैन, धर्म गुरुमा छ । हामी अनुयायीमा छ । यसै गरेर समस्या राजनीतिक विचार बादलमा हैन, समस्या तिनका नेताहरूमा छ । तिनका कार्यकर्ताहरूमा छ । समस्या तपाईँमा छ । समस्या म आफैमा छ । दाग हाम्रो आफ्नै अनुहारमा लागेको छ तर हामी दर्पण पुछेर समय वरवाद गरिराखेका छौँ ।
हामीले यस्ता देशहरू पनि देखेका छौँ, जहाँ राजाको शासन भएर पनि देश अत्यन्तै समृद्ध छ । जनताहरू पनि खुसी छन् । अर्को तर्फ, यस्ता देशहरू पनि छन्, जसमा जनताले चुनेको राष्ट्रपति÷प्रधानमन्त्रीले शासन गर्छन् तर पनि देश अत्यन्तै गरिब छ । त्यहाँका जनताको जीवन कष्टकर छ ।
हाम्रो इतिहासमा हामीले यस्ता राजाको बारेमा पनि पढेका छौँ, जो आफ्ना प्रजाले नखाए सम्म आफू खाँदैन थिए । हामीले गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरु पनि पायौँ । र हामीले यस्ता नेताहरु पनि पाएका छौँ, जो सहिद परिवारलाई भैँसी उपहार दिएर सहिदका छोराछोरीलाई गोठालो बनाउँछ, अनि आफ्ना छोराछोरीहरूलाई भने पढ्नका लागि विदेश पठाउँछ । तर हाम्रो विडम्बना के छ भने, हामी यस्ता नेताहरूलाई प्रश्नको भार भिराउनुको बदलमा, फुलको हार दिएर स्वागत गर्छौँ ।
आज नेताहरु बिग्रिएका हामीले प्रप्रश्न नै नगरेर हो । नेताहरूलाई छाडा छोडिदिएकाले हो । नेताहरूलाई उत्तरदायी बनाउन नसकेर हो । हामीले नेताहरूलाई प्रश्न गर्न थाल्ने हो भने – नेता बिग्रिन चाहेर पनि बिग्रन सक्दैनन् ।
हेर्ने हो भने आज हरेक दलमा केही राम्रा युवा नेताहरु पनि छन् । उनीहरूमा देश र जनताका लागि केही गरौँ भन्ने नयाँ जोस, नयाँ उत्साह, इच्छाशक्ति पनि देखिन्छ । तर कति अवस्थामा उनीहरूको बाटोमा उनीहरूकै दलको नेतृत्व गारो बनेर आउने गरेको हामीले देख्ने गरेका छौँ । यसरी देश र जनताका लागि केही गरौँ भन्ने हुटहुटी लिएका युवाहरूलाई कतै दलहरू भित्रका आन्तरिक किचलोले पछि पारेको छ त, कतै पूर्वाग्रहको सिकार बनाइने गरिएको छ ।
खास गरेर पुराना दलभित्र सधैँ जसो देखिने यस्तै खाले खिचातानी, बेथिति, बेचलन तथा नातावाद, कृपावाद र चाकडीवाद लगायतका विसङ्गतिहरूका कारण देश कहिल्यै उँभो लाग्न नसक्ने भयो भनेर दिक्क भएका जनताले गएको निर्वाचनमा केही नयाँ भनिने पार्टीहरूलाई पनि राम्रो मत दिएर नीति निर्माण गर्ने ठाउँमा पु¥याएका छन् ।
तर विडम्बना, राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना सांसदले मन्त्री बन्नका लागि पैसा बुझाउनु पर्ने भन्दै एक व्यवसायीसित २ करोड रुपैयाँ मागेको अडियो हालैमा बाहिरिए सँगै नयाँ भनिएका दल पनि विवादरहित बन्न सक्ने देखिएको छैन । खैर, उक्त सांसदको सांसद पद खारेज गर्दै दलको साधारण सदस्य समेत नरहने गरी भएको कारबाहीले भने पुराना दलहरूको तुलनामा रास्वपा खरो उत्रिएको देखिन्छ । रास्वपाको यो कदम सकारात्मक त छ नै, सँगसँगै अन्य पुराना दलहरूका लागि उदाहरणीय पनि बनेको छ ।
अहिलेको नयाँ दल रास्वपा, पुराना दलहरूको लागि आँखाको कसिङ्गर जस्तै बनेको छ । अझ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो पहिचान बनाएका युवा अर्थशास्त्री स्वर्णिम वाग्ले, आफू आबद्ध दलभित्रको विसङ्गति सहन नसकेर रास्वपा छिरे सँगै धेरैलाई औडाहा भएको छ । वाग्ले विरुद्ध उनी आबद्ध पुरानो दलका युवा नेताहरु नै पनि खनिने गरेको देखिन्छ । यो अत्यन्तै दुर्भाग्यपूर्ण छ ।
नेपालको राजनीतिमा युवा नेताहरूकै बीचमा हुने गरेको यस्तो खाले अस्वस्थ प्रतिस्पर्धा राम्रो सङ्केत होइन । जुनसुकै राजनीतिक दलमा रहे पनि, आजका युवा नेताहरूले स्वस्थ राजनीतिक संस्कारको विकासमा जोड दिनु पर्छ ।
कतिपयले रास्वपालाई विचारहीन, सिद्धान्तहीन भनेर आरोप लगाउने गरेको पनि सुनिन्छ । साँच्चिकै तुष्ट भावना राखेर बिचमा उभिएर हेर्ने हो भने, यस्ता आरोपहरू अत्यन्तै पूर्वाग्रहीका दुराशयी भावबाट प्रेरित भएर आएका देखिन्छन् । हामी सबैले बुझेको सामान्य कुरा, आफू गतिलो देखिनका लागि, मैले कसैलाई निर्गतिलो साबित गर्नु पर्छ भने, मेरोलागि यो भन्दा दयनीय अवस्था अर्को के हुनसक्छ होला र !
यतिका वर्ष राजनीति गरेर, राज्यसत्ता सम्हाल्दै आएकाहरूसँग आज जनतालाई सुनाउनका लागि राम्रो केही नहुनु । र फगत अरूलाई नराम्रो देखाएर, जनताका सामु आफू राम्रो देखिने दुष्प्रयास गर्नु यो अत्यन्तै दुखद अवस्था हो ।
खैर, अब आमजनता बाठा बनिसकेका छन् । अब जनतालाई झुक्क्याउन, ढाँट्न सजिलो छैन । यो कुरा पुराना राजनीतिक दलका नेता तथा कार्यकर्ताले जति छिट्टो बुझेर सुध्रन्छन्, उत्ति नै धेरै हानी हुनबाट जोगिन सक्छन् ।
अन्त्यमा, २०८० साल एउटा वर्षका रुपमा मात्र नयाँ हैन, हामीले अनुभव गर्ने परिवर्तनका हिसाबले पनि नयाँ साबित हुन सकोस् – सबैमा शुभकामना !
रमेश ढकाल भद्रपुर–झापा (हाल दोहा–कतार)