झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ
झापामा लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका- २ जामुनखाडी सिमसार निवासी ४० वर्षीय भानु दाहाल, इलाम जिल्ला माई नगरपालिका- ८ निवासी ३९ वर्षीय आश बहादुर लिम्बु र सोही ठाउँ घर बताउने ३२ वर्षीय उमेश राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । मंगलबार राती साढे ८ बजे दाहालको घरमा लागु औषध सेवन भइरहेको सूचना पाए लगतै इलाका प्रहरी कार्यालय सुरुङगाको टोली त्यहाँ पुगेका थिए । प्रहरीले उनको घरभित्र खोजतलास गर्दा टिनको छाना मुनी काठको तक्थी माथि लुकाइछिपाई राखेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम ३०० मिलिग्राम र नगद ३४ हजार फेला पारेको थियो । बरामद गरिएको लागु औषध, नगद, मे ९ प ९२९६ नम्बरको पल्सर मोटरसाइकल र तीन थान मोबाइलसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।