भन्सार चोरीपैठारी बढ्नुमा कर्मचारी पनि दोषीः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समय भन्सार नाका नजिकैबाट चोरीपैठारी बढेको भन्दै यसमा केही रुपमा कर्मचारी पनि दोषी रहेको बताएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री महतले भन्सार महशुलमा कमी आउनुमा कर्मचारीको पनि दोष देखिएको बताए ।
कडा रुपमा प्रस्तुत हुँदै उनले भने, “अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन् भनेर कठघरामा उभिएको भन्ने मेरो भनाइ होइन । राजस्व घट्नुमा विभिन्न कारण छन् । हामी आफैं कति कारक छौं, त्यसको आत्ममूल्यांकन सबैले गर्नुपर्छ । पछिल्लो समयमा चोरीपैठारी बढ्यो । यो चोरीपैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाट चुहावट आएको छ, यो गम्भीर कुरा हो ।” भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिपोर्टअनुसार यो वर्ष २८ प्रतिशत भन्सार घटेको छ । यसमध्ये भैरहवा भन्सारको राजस्व सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारको ४४ प्रतिशत भन्सार महशुल घटेको छ । अर्थमन्त्री महतले आफूले त्यहाँका भन्सार प्रमुखलाई यसबारेमा भनिसकेको र उनी आएपछि गम्भीर छलफल गर्नुपर्ने आवश्यकता देखेको बताए ।
“महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ रु त्यसको रिपोर्ट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो रु त्यसको ‘ब्रेकडाउन’ मलाई चाहियो,” अर्थमन्त्री महतले भने, “त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार महशुल धेरै घटेको छ । त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ ।”
अर्थमन्त्री महतले थपे, “वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार महशुल घटेको छ । यसलाई तपाईंहरुले गम्भीर रुपमा लिनुहोला । मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला ।”
महतले आयात–निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक शुल्क लिएर भन्सार महशुल बढाउन आफूले नभनेको बताए । “यथार्थ विषय तपाईंहरुलाई थाहा छ, बुझ्नु भएको छ । तर कार्यान्वयन भइरहेको छैन । त्यतातिर म तपाईंहरुको ध्यानाकर्षित गराउन चाहन्छु । धेरैजसोले मेहनत र इमान्दारिताका साथ काम गरिराखेका छन् । सबैलाई कठघरामा उभ्याउन खोजेको होइन । राजनीतिक, प्रशासनिक अथवा जो जहाँ जसले जिम्मेवारी लिइराख्नु भएको छ, संस्थाप्रति इमान्दारिता चाहियो भनेको मात्र हो,” उनले भने ।
अर्थमन्त्री महतले विभागमा बलियो नेतृत्वको आवश्यकता रहेको भन्दै तल्लो तहलाई सजाय गरिने र नेतृत्व वर्गलाई केही गरिँदैन भन्ने कुरा आफ्नो पालामा नहुने दाबी गरे । “जसले नेतृत्व गरिराखेको छ, उसले त्यो जिम्मेवारी लिनुपर्छ भन्ने मेरो धारणा छ । जवाफदेही पनि बनाउने र जिम्मेवारी पनि दिने हो । जिम्मेवारी दिने र जिम्मेवारी लिने परम्पराको सुरुवात गरिनेछ,” महतले भने, “अरु धेरै कारणले राजस्व घटेको छ । कारोबार दैनिकबाट