बिर्तामोडका मत्स्य पालक कृषकलाई नगरपालिकाको सहयोग
बिर्तामोड नगरपालिकाले व्यावसायिक मत्स्य पालनमा हरेक वर्ष विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको छ । पशुपन्छी तथा मत्स्य विकास शाखाको तर्फबाट लागत साझेदारीमा सहयोग उपलब्ध गराउँदै आएको शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन । बिर्तामोड नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका ४ वटा फर्महरूले निरन्तर रुपमा सहयोग प्राप्त गर्दै आएको जनाइएको छ । उनीहरूले आवश्यकताका आधारमा माग गरे बमोजिम साझेदारीमा सहयोग प्राप्त गरेका हुन् ।
नगरपालिकाले व्यवासयिक रुपमा माछा पालन गर्न सुरु गरेका कृषकहरूलाई समेत सहयोग उपलब्ध गराउँछ । क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सहयोग उपलब्ध गराउने गरेको हो ।
बिर्तामोड ८ का चिरञ्जीवी कार्कीले माछा पालन व्यवसाय सुरु गर्नका लागि पोखरी खन्दै छन् । सो पोखरीको बिहीबार नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, इन्जिनियर डिल्लीराम गौतम लगायतको टोलीले अनुगमन गरेको छ । कार्कीले अहिले १४ कट्ठा जमिनमा पोखरी खनिसकेको पाइएको छ ।
नगरपालिकाले साना व्यवसायी माछा पकेट विकास कार्यक्रम अन्तर्गत कृषकहरूलाई सहयोग उपलब्ध गराउँदै आएको हो । नगरपालिकाले नयाँ पोखरी खन्ने कृषकहरूको लागि प्रतिकट्ठा दश हजार रुपैयाँ उपल्वध गराउँदै आएको शाखा प्रमुख दाहालले जानकारी दिइन । यस्तै भुरामा ५० प्रतिशत र बोरीङ्गमा ७५ प्रतिशत अनुदान दिइने गरेको नगरपालिकाले जनाएको छ ।