यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारी भ्रष्टाचारी ठहर
झापा । विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, संकलित राजस्व रकम पूरा बैंकमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो। अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई अदालतले दोषी ठहर गरेको छ।
अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मंगलबार कसुर ठहर गरेको हो। कसुरदारहरूको सजाय निर्धारण चैत ८ गते हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।
राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरकफरक दुई मुद्दा दायर गरेको थियो। दुवै मुद्दामा १३ प्रतिवादी भए पनि दुई जनालाई दुवै आरोपपत्रमा विपक्षी बनाइएको थियो। उपसचिव विष्णुप्रसाद पौडेल र लेखापाल सुरेश अधिकारीलाई दुवै मुद्दामा विपक्षी बनाइएको थियो।
दुई मुद्दामा ७० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। आयोगले पहिलो मुद्दा २०७४ असार ४ गते दायर गरेको थियो। आर्थिक वर्ष २०७१र७२ देखि २०७३र७४ सम्मको राजस्व हिनामिना गरेको आरोपमा पहिलो मुद्दा दायर भएको थियो। उक्त मुद्दामा कुल ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ बिगो कायम गरिएको छ।
मुद्दामा अख्तियारले उपसचिव रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख ३२ हजार २०२, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३५४, उपसचिव नयराज नेपालसँग २५ करोड १३ लाख ३८ हजार ९९९ रुपैयाँ बिगो दाबी गरेको छ।
यस्तै लेखा अधिकृत कुमारबहादुर कटवालसँग दुई करोड १४ लाख ७८ हजार ६२३, लेखा अधिकृत टीकाराम अधिकारीसँग ५७ करोड २५ लाख २७ हजार ५७६ रुपैयाँ बिगो दाबी गरेको छ। लेखापाल सुरेश अधिकारीसँग ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ, लेखापाल देवराज नेपालसँग ४५ करोड ६१ लाख ९९ हजार ७४८, लेखापाल रुद्रप्रसाद दाहालसँग २१ करोड ६३ लाख ४७ हजार ४५३ रुपैयाँ बिगो अख्तियारले दाबी गरेको छ।
यस्तै अख्तियारले दोस्रो मुद्दा २०७४ मङ्सिर १२ गते दायर गरेको थियो। दुई आर्थिक वर्षको राजस्व कम दाखिला गरी हिनामिना गरेको आरोप पछिल्लो अभियोगपत्रमा थियो। कुल आठ करोड ९६ लाख १७ हजार ६३ रुपैयाँ राजस्व हिनामिना भएको अख्तियारको ठहर थियो। मुद्दामा अख्तियारले उपसचिव होमनाथ भट्टराईसँग १४ लाख पाँच हजार ८७३ रुपैयाँ बिगो दाबी गरेको थियो।
यस्तै उपसचिव विष्णुप्रसाद पौडेलसँग आठ करोड ८२ लाख ११ हजार १८९ रुपैयाँ बिगो दाबी गरेको थियो। मुद्दाका प्रतिवादी लेखापाल सुरेश अधिकारी र मणिराज दाहालसँग आठ करोड ९६ लाख १७ हजार ६३ रुपैयाँ बिगो दाबी गरेको थियो। यस्तै सहलेखापाल टंकबहादुर खड्कासँग पनि आठ करोड ९६ लाख १७ हजार ६३ रुपैयाँ बिगो दाबी आयोगले गरेको थियो।