भद्रपुर झापा गोल्डकप फाइनल आज, मच्छिन्द्र र आर्मीमध्ये कसले मार्ला बाजी ?
झापा । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब उपाधि उचाल्न यो सिजनमा पहिलो पटक एकआपससँग भिड्दैछ ।
झापास्थित मेची रंगशालामा आज (मंगलबार) हुने प्रथम भद्रपुर झापा गोल्डकपको फाइनल खेलबाट उपाधि उचाल्ने कसरतमा मच्छिन्द्र र आर्मी दुवै टोली एक कदम पछाडि छ ।
सेमिफाइनलमा मच्छिन्द्रले सशस्त्रको एपिएफलाई र आर्मीले संकटा फुटबल क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो । राष्ट्रिय खेलाडी सुजल श्रेष्ठको कप्तानीमा भर्खरै सातौँ राजर्षि जनक कप जितेको मच्छिन्द्रले दोस्रो उपाधि उचाल्ने दाउमा छ । राष्ट्रिय खेलाडीले भरिभराउ मच्छिन्द्रलाई मैदानमा रोक्दै लिंगको दोस्रो टोली आर्मी यो सिजनमा पहिलो उपाधि जित्ने मौकाको पखाइमा देखिएको छ ।
आर्मीका लागि झापा जिल्ला यसअघि नै भाग्यशाली साबित भइसकेको छ । झापा गोल्डकपको पाँचौँ संस्करणमध्ये आर्मी चार पटक उपाधि जितेको इतिहास छ ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल र आर्मीका प्रशिक्षक राजु तामाङले उपाधि आ–आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । गोल्डकप आयोजक समितिले हिजो सोमबार आयोजना गरेको प्रिम्याच प्रेस कन्फरेन्समा बोल्दै मच्छिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘यो सिजनमा मच्छिन्द्रका खेलाडीहरूले प्रशिक्षण लिई सकेपछिको यो दोस्रो गोल्डकप हो, पहिलो गोल्डकप हामीले जित्न सफल भएऔं, खेलाडीहरूको खेलप्रति म सन्तुष्ट छु ।’ ‘लिगपछि गोल्डकप हुँदा खेलाडीहरूको प्रदर्शन अझ राम्रो हुने थियो,’ उनले थपे । फाइनलमा आर्मीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । ‘आर्मीको खेल हेरे दुवै खेलमा राम्रो प्रदर्शन गरेको छ,’ उनले भने, ‘आर्मी मच्छिन्द्रको एउटा मुख्य प्रतिद्वन्द्वी टोली पनि हो, फाइनल राम्रो हुन्छ ।’
केपी ओली गोल्डकप र भद्रपुर झापा गोल्डकप जुध्दा खेलाडीहरूलाई समस्या भइरहेको बताउँदै उनले भने, ‘झापा खेलेर काठमाडौँ जानु पर्ने र त्यहाँ सकिए लगतै झापा फर्किनु पर्ने कारण गर्दा खेलाडीहरूलाई थकित छन्, यसले गर्दा खेलाडीहरूमा केही समस्या भने पक्कै आउने छ ।’ ‘त्यस बाबजुद पनि फाइनलमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी ट्रफि जित्नेमा म ढुक्क छु,’ उनले थपे । हामी मैदानमा उत्रिँदा जित्नका लागि खेल्ने बताउँदै मच्छिन्द्रका कप्तान श्रेष्ठले भने, ‘पहिलाको दुई खेल भन्दा फाइनलमा समग्र टिमको उत्कृष्ट प्रदर्शन रहनेछ । त्यस्तै आर्मीका प्रशिक्षक तामाङका अनुसार ए र बि टिम भन्दा पनि सर्वप्रथम हामी आर्मी टिम हौँ ।
लिगमा सशक्त मानिएका संकटा जस्तो टिमलाई सेमिफाइनलमा हराएर आर्मी फाइनलमा पुगेको बताउँदै प्रशिक्षक तामाङले भने, ‘आर्मीमा राष्ट्रिय खेलाडी नहोला, तर टिमलाई ब्यालेन्स गरेर हामीले उत्कृष्ट प्रदर्शन देखाएका छौँ ।’ ‘झापा गोल्डकप आर्मीले चार पटक जितेको छ,’ उनले भने, ‘त्यही आत्मबलको कारण आर्मीले यो उपाधि पनि जित्छ, झापा आर्मीको लागि भाग्यशाली जिल्ला हो ।’ मच्छिन्द्रमा राष्ट्रियसहित विदेशी खेलाडीहरू रहेकोले आर्मीका लागि सशक्त प्रतिद्वन्द्वी मान्नु पर्छ । ‘ ‘ए’ डिभिजन लिग प्रतियोगितामा आर्मी कुन स्थानमा रहने हो, त्यो मच्छिन्द्रसँग हुने खेलको परिणामबाट थाहा हुन्छ,’ उनले भने । ‘खेलाडीहरू प्रदर्शन राम्रो छ, उपाधि पनि आर्मीले जित्नेमा हामी ढुक्क छौँ,’ आर्मीका कप्तान गिलेस्पीजंग कार्की भने ।
यता गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिएका छन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइनेछ ।
मृत मेची रंगशालालाई पुनर्जीवन दिन आयोजना गरिएको प्रथम भद्रपुर झापा गोल्डकप सफलता सोच भन्दा उत्कृष्ट भएको बताउँदै अध्यक्ष ढकालले भने, ‘यस गोल्डकपलाई निरन्तरता दिँदै लैजाने छौँ, यसमा कुनै दुबिधा छैन ।’