भद्रपुर झापा गोल्डकप : आज मछिन्द्र र चर्च ब्वाइज भिड्दै
भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र र चर्च ब्वाइजबीच आज दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुन लागेको आयोजक समितिले जनाएको छ ।
गत वर्षको लिग विजेता मछिन्द्र हो भने ए डिभिजनका लागि चर्च ब्वाइज नवप्रवेशी टिम हो । मछिन्द्रले भर्खरै सातौँ राजर्षि जनक कप फुटबलको उपाधि जितेको हो । आइतबारबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।