रवि लामिछानेले गरेको सबै राम्रा काम अपराध हो र ?
हाम्रो देशमा आज सम्म जुन परिवर्तनहरू आएका छन्, यी सबै परिवर्तनहरूमा मिडिया याने सञ्चार माध्यमको सधैँ महत्त्वपूर्ण भूमिका रहने गरेको छ । देश भित्र हुने हरेक परिवर्तन वा उथलपुथलमा सञ्चार माध्यम मेरुदण्डको रुपमा उभिने भएकोले नै होला, सञ्चार माध्यम अथवा पत्रकारितालाई राज्यको चौथो अङ्ग मानिन्छ ।
सञ्चार माध्यम आवाज विहीन नागरिकहरूको आवाज हो । स्वतन्त्र र निष्पक्ष भएर समाचार सप्रेषण गर्नु सञ्चार माध्यमको धर्म नै हो । यसो भन्दै गर्दा, मिडियाले हरेक अवस्थामा अदालती शैलीमा सही र गलतको वकालत मात्र गरिरहेको हुँदैन । कुनै विशेष अवस्था वा समयमा, मिडिया सही र गलत भन्दामाथि उठ्न सक्नु पर्छ । किनभने कहिले काहीँ के सही र के गलत भन्दा पनि, ’के सबैभन्दा आवश्यक छ’ भन्ने कुरा देशका आम नागरिकका लागि धेरै महत्त्वपूर्ण हुन आउँछ ।
एउटा देश भक्त पत्रकारले देश भित्रका हरेक अवस्था वा परिस्थितिलाई विद्यमान कानुनको तराजुमा राखेर मात्र समाचार बनाउँदैन, उसले समाचार बनाउँदा, देश र आमजनताको हितलाई केन्द्रमा राखेर समाचार बनाएको हुनुपर्छ । सच्चा पत्रकारले समाचार बनाउँदा प्रकाशक हैन, आफ्नो अन्तर आत्माको आवाजलाई सुन्ने गर्छ । एउटा आम नागरिकको आँखा बाट हेर्दा, कहाँ नहुन पर्ने कुरा भयो र कहाँ हुनुपर्ने कुरा भएको छैन भन्ने तथ्यलाई औँल्याइ दिनु एउटा सच्चा पत्रकारको कर्तव्य हो । देश तथा समाजमा शान्ति र सुव्यवस्था कायमा गर्ने सवालमा सञ्चार माध्यम एउटा पहरेदार हो ।
खैर, कुनै व्यक्तिले पत्रकारको परिचयपत्र पाउँदैमा ऊ चौथो अङ्गको सम्मान योग्य बन्न सक्दैन । सञ्चार माध्यमलाई त्यतिकै राज्यको चौथो अङ्ग भनेर सम्मान गरिएको हैन । यो सम्मान त उसले देश र आम नागरिक प्रतिको उसको सेवा र कर्तव्यबाट आर्जन गरेको हो । पत्रिका प्रकाशकका लागि पत्रिका प्रकाशन पैसा कमाउने व्यवसाय हुनसक्छ । तर पत्रिकामा काम गर्ने सम्पादक तथा संवाददाताहरूका लागि पत्रकारिता एउटा पेसा मात्र हैन, धर्म पनि हो ।
तर हिजो आज तपाईँ हामी जस्ता आम मानिसलाई पत्रकारिताको रूप, चरित्र र धर्म फेरिएको महसुस हुन थालेको छ । राज्यको चौथो अङ्गको रुपमा प्राप्त गौरव र गरिमालाई कतिपय मिडिया र पत्रकारहरूले कलङ्कित तुल्याउन थालेका छन् । अधिकांश सञ्चार माध्यमभित्र सामाजिक उत्तरदायित्व हराउँदै गएको छ । पत्रकारिता राजनीतिक प्रचारबाजीको एउटा साधन बनेको छ । वर्तमान समयमा यो अझ धेरै व्यापारमुखी, उत्तेजनापूर्ण र पूर्वाग्रही बन्दै गएको हामी सबैले महसुस गर्दै आएका छौँ । अधिकांश मिडिया हाउसहरू निहित स्वार्थ र समूहबाट सञ्चालित छन् भन्ने कुरा तपाईँ हामी कसैबाट छिपेको छैन ।
वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईँ स्वयमले केही वर्ष पहिला आफ्नो एउटा लेखमा लेख्नु भएको थियो ’स्वतन्त्रता, निष्पक्षता, धैर्यता, वस्तुगत, सन्तुलन जस्ता मान्यताहरू विज्ञापनको टोकरीमा फालेर आग्रह, पूर्वाग्रह र स्वार्थहरू समाचारको टोकरीबाट झिकेर हामी छाती फुलाएर कलम चलाइरहेकै छौँ । जीवन्त चलिरहने यस पेसामा विषादी भर्ने काम सञ्चार संस्थाका सञ्चालक र पत्रकारहरूबाटै भएका छन् । पीत पत्रकारितालाई नियन्त्रण गर्न कानुन, आचारसंहिता बने पनि हामी त्यसको ख्याल गर्दैनौँ । हामीमा घमन्ड छ, किन कि हामी पत्रकार हौँ ।’
विडम्बना नै भनौँ, पत्रकारिताको स्तरमा सुधार आउनुको बद्ला, यो अझ धेरै कलङ्कित बन्दै गएको देखिन्छ । शायद, केही दिन पहिला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले विभिन्न सञ्चार समूह तथा सञ्चारकर्मीहरूका बारे मादिएको प्रतिक्रिया, हाम्रा सञ्चार माध्यम तथा पत्रकारितामा आएको क्षयीकरणको उपज नै थियो भन्दा अति युक्ति नहोला । रविजीको मिडिया प्रतिको आक्रोशका बारेमा बहस गर्न सकिन्छ । उनमा सम्मयताको अभाव देखिएकै हो । तर यो भन्दा पनि पहिला बहस गर्नु पर्ने विषय – के हाम्रो देशका ठुला मिडिया हाउसहरू साँच्चिकै निष्पक्ष छन् त ? रविको सम्मयताको बाँध तोड्ने काममा हाम्रा मिडियाहरू पनि जिम्मेवार छैनन् र ?
रवि लामिछाने एउटा पक्का नेपाली नागरिक हुन् । उनी बाट केही कमीकमजोरीहरू भए तर ती कमजोरीहरू नियतवश भने भएका थिएनन् । उनको नियत खराब भएको हुन्थ्यो भने त्यस्ता सामान्य कमजोरीहरू उनले पहिले नै सच्याइ सकेका हुने थिए । खैर, उनले प्रयोग गरेको नागरिकतामा केही प्रक्रियागत त्रुटि देखिएकाले अदालतले उनलाई नयाँ नागरिकता लिन आदेश दियो, साथै उनलाई मन्त्री तथा पार्टी अध्यक्षको भूमिका बाट पनि हटायो । अदालतको आदेश पछि भलै उनलाई पर्सि पल्टै उही नम्बर र मिति राखिएको नयाँ नागरिकता प्राप्त भयो, तर यसले सिर्जना गरेका अन्य गम्भीर प्रतिकूल परिस्थितिको सामना भने उनले गरिरहेकै थिए, छन् ।
यो दौरानमा उनलाई विभिन्न सञ्चार समूहहरूले यसरी लखेटी राखेका छन्, मानौँ उनी एउटा ठुलो अपराधी वा देशद्रोही हुन् । आज जसरी विभिन्न सञ्चार समूहहरू मिलेर रवि लामिछानेलाई लखेटिराखेका छन्, यसै गरेर आयल निगमको जग्गा खरिद प्रकरण, कोभिडको औषधि खरिद प्रकरण, वाइडवडी जहाज खरिद प्रकरण, मधेस प्रदेशको साइकल खरिद प्रकरण, हयात जग्गा प्रकरण, ललिता निवास जग्गा प्रकरण, नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको कमिसनको खेल लगायतका ठुला ठुला भ्रष्टाचार र अनियमिततामा मुछिएका सबै भ्रष्टहरूलाई लखेट्न सकेका भए, आजती सबै भ्रष्टहरू जङ्गलको ध्रुवे हात्तीजस्तै छाडा भएर घुम्नुको बदलामा जेलको हावा खाँदै गरेका हुने थिए ।
अहिले के स्पष्ट छ भने, केही निष्ठावान् राष्ट्रसेवक र मिडियाकर्मीहरूलाई छोडेर, अदालत देखी हाम्रा मिडिया हाउस सम्म देश र आम नागरिकका पक्षमा नभएर राजनीतिक दल र तिनका नेता तथा विभिन्न व्यापारी तथा बिचौलियाहरूको पक्षमा काम गर्दछन् । उनीहरू राजनीतिक दल तथा तिनका नेताहरूको स्वार्थ अनुरूप सरकार बनाउने र गिराउने खेलमा सामेल हुन्छन् । भित्रभित्रै उनीहरू आफूलाई असलीकिङ्ग मेकर ठान्दछन् ।
ठुला मिडियाको यस्तो हाउगुजी फैलिएको अवस्थामा, केही महिना पहिला मात्र मिडिया क्षेत्रमा नै काम गरेर व्यापक लोकप्रियता हासिल गरेको एउटा सामान्य युवक एकाएक राजनीतिमा आएर नयाँ पार्टी खोल्छ, चुनावमा भाग लिन्छ, र अप्रत्याशित सफलता हासिल गर्दै एकैचोटी देशको उपप्रधान तथा गृहमन्त्री बन्न पुग्दा – ऊ नेपालका ठुला ठुला मिडिया हाउसहरूको आँखाको कसिङ्गर बन्न पुग्यो । भ्रष्टाचारी, दलाली र बिचौलियाहरू सँगको साँठगाँठमा सधैँ मनोमानी गर्न पल्केका सबैको सास रोकियो । त्यसैले आज नेपालका प्राय सबै नाम चलेका मिडियाहरू उसलाई अपराधी घोषित गर्न र सजाय दिलाउन आतुर देखिन्छन् ।
हो, रवि अपराधी हो, किनकि उसले देश विदेशमा रहेका तमाम शोषित, पीडित, अन्यायमा परेका आम नागरिकहरूको पक्षमा निडर बनेर निरन्तर काम ग¥यो । दुर्गम कालिकोटमा अस्पताल खोलेर रविले अपराध ग¥यो । सप्तरीका बाढी पीडित मुसहर परिवारहरूका लागि घर बनाएर रविले अपराध ग¥यो । आवाजविहीन र सहारा विहीनहरूका लागि आवाज र सहारा बनेर रविले अपराध ग¥यो । रविले, मलाई नाम कमाउन रहर छ, तर म सत्कर्म गरेर नाम कमाउन चाहन्छु भनेर पनि अपराध ग¥यो ।
गृहमन्त्रीका रुपमा पुगनपुग एक महिना काम गर्दा, रविले अवैध क्रसर उद्योगहरू बन्द गरे । विभिन्न बहानामा घरको कामदारका रुपमा प्रयोग गरेर राखिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाए । बर्दीसँगका प्रहरीलाई नेताहरूसँगको भेटघाटमा रोक लगाए । प्रहरीको सरुवा अथवा बढुवामा पैसाको चलखेल हैन, कार्यसम्पादनका आधारमा मात्र गरिने सिस्टम बसाले । सिंहदरबार आम नागरिकहरूका लागि पनि खुला हुने बन्दोबस्त मिलाए । ३०–३१ दिन गृहमन्त्रीका रुपमा काम गर्दा, देशका आमनागरिकहरुलाई यो देशमा सरकार छ भन्ने कुराको अनुभूति मात्र दिलाएनन्, उनले हरेक नागरिकको मनमा एउटा आशा, भरोसा र विश्वास पनि जगाए ।
यी सबै राम्रा काम गरेर रविले साँच्चिकै अपराध गरेको छ । खैर, रवि तिमीले यतिका धेरै अपराध गर्यौ, एउटा अर्को अपराध पनि गर – तिमी विचलित नबन । तिमी वीर थियौ, छौ र सधैँ रहिरहनु । तिमी जुन बाटोमा हिँडिराखेको छौ, त्यो बाटोमा तिमीलाई रोक्न खोज्ने, छेक्न खोज्ने, खुट्टा तान्न वा लडाउन खोज्नेहरू धेरै भेटिने छन्, भेट्टिरहने छन् । तिमीले ती सबै बाधा, विघ्न तथा चुनौतीहरूलाई नडगमगाईकन, विचलित नभईकन सामना गर्न सक्नु पर्छ । तिमी राम्रो काम गर्ने अपराध सधैँ गरिराख, आमजनताले तिमीलाई सधैँ न्याय गर्ने छन् ।
रमेश ढकाल, भद्रपुर–झापा (हाल दोहा–कतार)