उपप्रधानमन्त्री लिङ्देनलाई एउटा परदेशी भाइको खुला पत्र
श्री राजेन्द्रप्रसाद लिङ्देन
माननीय उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
सर्वप्रथम दाजु हाम्रो देशको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना !
अहिले तपाईँ हाम्रो देशको ऊर्जा मन्त्रीमा नियुक्त हुनु भएको छ । सामान्यतया यो मन्त्रालय गृह तथा अर्थ लगायतका मन्त्रालयहरूको तुलनामा कुनै दल वा सांसदका लागि कम रोजाइमा पर्ने मन्त्रालयको रुपमा पर्ने गरेको मैले मानेको छु । तर वास्तवमा हाम्रो देश तथा यो देशका हरेक आमजनताको आर्थिक स्तर बलियो बनाउने पक्षमा होस् वा आफ्नै देश भित्र रोजगारीका अवसरहरू सिर्जना गरेर हाम्रो देशका युवा जनशक्तिलाई खाडी मलेसिया लगायतका देशहरूमा पलायन हुनबाट रोक्ने तथा युवाहरूलाई स्वरोजगार तुल्याउने पक्षमा होस् अथवा अत्यन्तै कमजोर अवस्थामा रहेको हाम्रो देशको अहिलेको आर्थिक अवस्थालाई चमत्कारिक शैलीमा रूपान्तरण गरेर यो देशका घरहरू मात्र उज्यालो बनाउने हैन ती घरहरूमा बस्ने हरेक नागरिकको मन र मुहार पनि उज्यालो बनाउने पक्षमा होस् । यस्ता अत्यन्तै महत्त्वाकाङ्क्षी लक्ष्यहरू पुरा गर्ने सवालमा सबै मन्त्रालयहरू मध्ये सबै भन्दा महत्त्वपूर्ण भूमिका यदि कुनै मन्त्रालयको हुनसक्छ भने त्यो ऊर्जा मन्त्रालय नै हो भन्ने मेरो बुझाई रहेको छ ।
विज्ञहरू भन्नु हुन्छ, जलस्रोत भनेको जलविद्युत मात्र होइन । जलस्रोतभित्र विद्युतका अतिरिक्त सिँचाइ, खानेपानी, डुबान, बाढी नियन्त्रण जस्ता विषयहरू पनि पर्छन् । सिँचाइको अभाव तथा युवा श्रम शक्तिको विदेश पलायनका कारण हाम्रो देशको खेतीयोग्य जमिनको ठुलो हिस्सा आज बाँझै रहने गरेको छ । हाम्रो देशलाई भन्नका लागि ’कृषिप्रधान देश’ भनिन्छ तर खाद्यान्न, तरकारी, फलफूल तथा मासुजन्य सामाग्रीहरू भने भारत लगायतका देशहरूबाट आयात गरिन्छ ।
मुख्यतः ठुलो परिमाणमा पेट्रोलियम पदार्थको आयात गर्नु पर्ने भएकाले हाम्रो देशको व्यापार घाटा हरेक वर्ष निरन्तर रुपमा चुलिँदै गएको छ । देशको यो बढ्दो व्यापार घाटालाई प्रतिस्थापन गर्दै द्रुत रूपमा समृद्धि हासिल गर्नका लागि जलविद्युत तथा कृषि उत्पादनमा जोड दिनुको अलावा हाम्रो देशमा अर्को कुनै उत्कृष्ट विकल्प होला जस्तो कमसेकम मलाई भने लाग्दैन ।
ठुला ठुला नेताहरूले हाम्रो देशमा पानीजहाज, विद्युत्–रेल, मोनोरेल सञ्चालनका सपना देखाए पनि, यस्ता सपनाहरू साकार पार्ने दिशा तर्फ अहिले सम्म कुनै ठोस काम हुन सकेको देखिँदैन ।
हाम्रो देश जलस्रोतका हिसाबले सबै भन्दा धेरै सम्भावना भएका देशहरू मध्ये विश्वकै दोस्रो ठुलो देशमा पर्छ । हाम्रो देशमा जलविद्युत् उत्पादनको अपार सम्भावना हुँदाहुँदै पनि जलविद्युत उत्पादनका निम्ति आवश्यक नीतिगत व्यवस्था तथा यसका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिका सन्तोषजनक नहुँदा देशको आर्थिक उन्नतिको सबैभन्दा ठुलो स्रोत वर्षौँदेखि त्यतिकै खेर गइरहेको छ भनेर विज्ञहरू ले भन्ने गरेका छन् ।
उपलब्ध जलस्रोतको भरपुर उपयोग गरेर देशमा कायापलट गर्न सकिन्छ भन्ने कुरा २०४६ साल पछि हाम्रो देशमा हरेक साना–ठुला राजनीतिक दलहरूले उठाउँदै आए पनि, राजनीतिक दल तथा तिनका नेताहरूको बोली र व्यवहारमा आजसम्म कुनै किसिमको तालमेल देख्न सकिएको छैन । बरु हरेक दल तथा नेताले अहिलेसम्म जलस्रोतलाई सत्तामा चढ्ने सिँढीको रूपमा मात्र प्रयोग गर्ने गरेको देखियो ।
एउटा तितो सत्य के हो भने, ४६ साल पछि बनेका सरकारले कमसेकम हाम्रो देशमा अत्यन्तै सहज रुपमा उपलब्ध जलस्रोतको मात्र पनि सही उपयोग गर्ने दिशा तर्फ इमानदार भएर काम गर्न सकेका भए आज हाम्रो देश संसारका समृद्ध राष्ट्रहरू मध्येको एउटा राष्ट्र बनिसकेको हुने थियो । जसरी खाडी देशहरू आज तेल र ग्यास बेचेर समृद्ध बनेका छन् ।
पुरानो शोधअनुसार नेपालका नदीहरूबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन हुनसक्ने भनिएको भए पनि, अहिले जलस्रोतको क्षेत्रमा काम गरिरहेका केही संस्थाहरूले नेपालमा दुई लाख मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको कुरा सार्वजनिक गरेका छन् । खैर, नेपालमा आर्थिक रूपले सम्भाव्य आयोजनाहरूको क्षमता पनि ४२ हजार मेगावाटभन्दा पनि बढी रहेको भनेर भनिएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमा नेपाल विद्युत् प्राधिकरणले नेपाली बिबिसी न्युजलाई उपलब्ध गराएको जानकारी अनुसार नेपालको जडित विद्युत् उत्पादन क्षमता २,१९० मेगावाट रहेको र हाम्रो देशको आन्तरिक बजार माग भने १,६०० देखि १,७०० मेगावाटको हाराहारीमा रहेको कुरा उल्लेख छ । (सुक्खा याममा उत्पादन घट्ने हुनाले, अपुग विद्युत् भारत सँग किन्ने गरिएको छ ।) यसै गरेर विभिन्न निकायमार्फत कुल २७,७८० मेगावाट विद्युत् उत्पादन क्षमता रहेका आयोजनाहरू अघि बढाइएको कुरा पनि विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
यो तथ्याङ्कलाई हेरेर के अनुमान लगाउन सकिन्छ भने, अहिले निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् परियोजनाहरू छिटो भन्दा छिटो पुरा गर्नका लागि आवश्यक निगरानी तथा सहजीकरण गर्दै एउटा निश्चित लक्ष्य राखेर अगाडि बढ्न सक्ने हो भने आगामी १–२ वर्ष भित्रैमा नेपाल विद्युतमा सम्पूर्ण रूपले आत्मनिर्भर बन्दै सुक्खा याममा पनि विद्युत् निर्यात गर्ने सक्ने अवस्थामा पुग्न सक्ने रहेछ ।
देशमा विद्युत् उत्पादन बढे सँगसँगै उत्पादित विद्युतलाई निर्यात गर्नका लागि निर्माणाधीन अवस्थामा रहेका प्रसारण लाइनका कामहरू सकेसम्म चाँडै सम्पन्न गराउने तथा आवश्यक अन्य नयाँ प्रसारण लाइनहरू निर्माण गराउने लगायत विद्युत् व्यापार विस्तार गर्नका लागि भारत, बङ्गलादेश लगायतका छिमेकी मुलुकहरूसँग कुराकानी गरेर आवश्यक व्यवस्था मिलाउने विषय चुनौतीपूर्ण त छ, तर असम्भव छैन ।
तर यो सबै त्यति खेरसम्म सम्भव हुन सक्दैन जबसम्म निजी क्षेत्रका सम्बन्धित साझेदार, सम्बन्धित सरकारी कर्मचारी र सम्बन्धित मन्त्री सबैले आ–आफ्ना निहित स्वार्थहरूलाई त्यागेर सिङ्गो राष्ट्र र जनताको हितमा काम गर्न प्रतिबद्ध हुँदैनन् । अन्यथा १–२ वर्ष भित्रमा पुरा हुन सक्ने काम र परीयोजानहरु पुरा हुनलाई दसौँ वर्ष लाग्ने गरेका कयौँ उदाहरणहरू हाम्रा सामु जिउँदै छन् ।
खैर, आज यो देश र जनताको भाग्य आफ्नै जीवनकालमा परिवर्तन गरेरै छाड्छु भन्ने एउटा बलियो इच्छाशक्ति बोकेको तपाईँ जस्तो अत्यन्तै कर्मठ नेतालाई अहिले हाम्रो देशको उप–प्रधान सँगसँगै ऊर्जा, जलश्रोत तथा सिँचाई जस्तो अत्यन्तै महत्त्वपूर्ण मन्त्रालयको पनि नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । अब तपाईँ बोल्ने भन्दा पनि, तपाईँको काम बोल्नु पर्छ । अब हामी हाम्रो राजेन्द्र दाजुले यस्तो भन्नु भयो भनेर लेख्न भन्दा पनि ऊर्जा मन्त्री बन्नु भएको हाम्रो दाजुले यस्तो काम गर्नु भयो वा यस्तो काम गर्दै हुनुहुन्छ भनेर लेख्न, सुनाउन चाहन्छौँ ।
दाजु ऊर्जा मन्त्री बन्नु भए सँगै न त हामीलाई अब कुनै प्रकारको शङ्का गर्ने ठाउँ छ, न त दाजुलाई कुनै बहाना गर्ने छुट नै । अधर्मका विरुद्ध अर्जुनले महाभारतको युद्धमा जसरी सम्पूर्ण रुपमा निस्वार्थ भएर लडेका थिए, दाजुले पनि अब हाम्रो देशमा गणतन्त्रका नाममा हुने गरेका सबै प्रकारका भ्रष्टाचार, प्रशासनिक अपचलन, राजनीतिक विकृति लगायतका अनेकौँ बेथिति र विसङ्गतिहरूका विरुद्ध लड्नु पर्छ । हामीलाई विश्वास छ दाजुले यो लडाइँ जित्नु हुनेछ । अब दाजुलाई हार्ने छुट छैन पनि ।
यो पत्रमा मैले छुटाउन नमिल्ने एउटा कुरा छ, त्यो हो दाजुले परिकल्पना गर्नु भएको एउटा विकासको मोडेल, दाजुले देख्नु भएको विकासको एउटा सपना । जुन सपनाका बारेमा दाजुले पाँच वर्ष पहिला एउटा टेलिभिजन अन्तर्वार्तामा चर्चा गर्नु भएको थियो, त्यो सपना दाजुलाई यहाँ स्मरण गराउन चाहन्छु ।
दाजुले भन्नु भएको थियो “मेरो निर्वाचन क्षेत्रमा रहेका मेची, बिरीङ जस्ता ठुला नदिहरुको किनारै किनार ठुला–ठुला तटबन्धनरु बनाउने । त्यसै माथिबाट दोहोरो मोटर कुद्ने बाटो पनि बनाउने । त्यहाँ हजारौँ बिघा जमिन निस्कन्छ । त्यो जमिनका लागि राज्यले एउटा नीति बनाउने, जसले दुई हजार भन्दा बेसी मान्छेहरूलाई रोजगार दिने उद्योग खोल्न आउँछ, उसलाई उक्त जमिन उपलब्ध गराइदिने । उसको उद्योग सम्म पुग्ने मोटर बाटो तथा बिजुली पुर्याइदिने । ऊसँग २५ वर्ष सम्म स्थानीय कर नलिने । उसलाई बिजुली पनि सहुलियत दरमा दिने । यसरी खोलिएका उद्योगहरूमा राजनीतिक दलले युनियन खोल्न नपाउने व्यवस्था मिलाउने । अन्तर्राष्ट्रिय प्रचलन अनुसार मजुदुरहरुले सेवा सुविधा पाएको छ कि छैन भनेर सरकार तथा स्थानीय तह आफैले हेर्ने व्यवस्था मिलाउने । यस्तो व्यवस्थाका साथ देशी विदेशी कम्पनीहरूलाई उद्योग सञ्चालनका लागि अवाहन गर्ने र ती उद्योगहरूमा हाम्रै क्षेत्रका भाइबहिनी छोराछोरीहरूलाई काम गर्ने वातावरण बनाउन पाए कस्तो हुन्थ्यो होला ?“
अझै पनि चुनौतीहरू त धेरै नै छन्, तर पनि अहिले दाजुलाई आफूले देखेको यो सपना पुरा गर्ने अवसर प्राप्त भएको हामीले मानेका छौँ । अन्त्यमा, तपाईँसँग चुनावका बेला तपाईँलाई भोट दिनेहरूको मात्र हैन, तपाईँलाई भोट नदिनेहरूको पनि उत्तिकै ठुलो आशा र विश्वास छ । यी सबै आशा र विश्वासहरू कहिल्यै पनि निराशामा परिणत हुने छैनन् भन्ने विश्वास र शुभकामनाका साथ तपाईँको यो परदेशी भाइ बिदा माग्दछु । नमस्कार ! रमेश ढकाल