२०८३ बैशाख ३ गते , विहीबार

विराटनगरमा व्यापार मेला सुरु

sajilo news
मोरङ
२०७९ माघ २१ गते , शनिबार
विराटनगरमा व्यापार मेला सुरु

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले पहल गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) १ नम्बर प्रदेशले विराटनगरमा आयोजना गरेको कृषि तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले नयाँ सरकार गठनसँगै अर्थतन्त्रले सुधारको गति लिएको दाबी गरे । निजी क्षेत्रलाई संगठनभन्दा काममा प्रतिस्पर्धा गर्न आग्रह गर्दै ओलीले विराटनगर राजनीतिकरूपमा जागरुक थलो भएको र आर्थिकरूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रका समस्या तीन तहका सरकार मिलेर समाधान गर्नुपर्ने बताए। उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक मेलाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले मेलाहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार विलासिताका वस्तुको आयात नियन्त्रण गर्दै व्यापारघाटा न्यूनीकरणमा लागेको बताए ।

सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगीहरू कठिन अवस्थाबाट गुज्रनुपरिरहेको भन्दै बजार सन्तुलन बिग्रँदो अवस्थामा रहेको बताए । सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पहिलोपटक आयोजित मेलाले १ नम्बर प्रदेशको आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने अपेक्षा गरिएको बताए । १० दिनसम्म चल्ने मेलामा विभिन्न विधा तथा क्षेत्रका गरी चार सय प्रदर्शनको सहभागिता रहेको छ । उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुलगायतका स्टल रहेको र भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकबाट पनि उद्योगी व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

रमपम तयारी चाउचाउ मुख्य प्रायोजक रहेको मेलाका प्रायोजकमा केएल दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकमा सेञ्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कंक्रिट नेपाल रहेका छन् भने मोरङ व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एसोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नर्सिङ कलेज, मेडिकल एसोसिएसन कोशी, इलेक्ट्रिक्स संघलगायतले पनि सहकार्य गरेका छन् ।

सम्बन्धित समाचार