२०८३ असार १४ गते , आईतबार

धुलाबारी-भद्रपुर सडक बन्यो कालोपत्रे, काँकडभिट्टादेखि विमानस्थल जान सजिलो

sajilo news
रासस
२०७९ पौष २२ गते , शुक्रबार
धुलाबारी-भद्रपुर सडक बन्यो कालोपत्रे, काँकडभिट्टादेखि विमानस्थल जान सजिलो

झापा । काँकडभिट्टादेखि चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी-भद्रपुर सडकको सात किलोमिटर खण्ड कालोपत्र भएको छ । 

भारत, भुटान तथा बंगलादेशबाट एसियन राजमार्ग हुँदै नेपाल आउने पर्यटकले यो सडक प्रयोग गर्दै आएका छन् । सडकको दूरी १७ किलोमिटर भए पनि भद्रपुर खण्डको तीन किलोमिटर र काँकडभिट्टाबाट धुलाबारीसम्मको पाँच किलोमिटर सडक यसअघि नै कालोपत्र भएको थियो ।

प्रदेश नं १ सरकारको गौरवको मुख्य परियोजनका रूपमा रहेको धुलाबारी(ज्यामिरगढी(चन्द्रगढी सडकको बाँकी दुई किलोमिटर खण्डमा कालोपत्र धमाधम भइरहेको छ भने दुईवटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । 

पूर्वीनाकाबाट नेपाल भित्रिने पर्यटकले विमानस्थल प्रयोग गर्नका लागि यसअघि काँकडभिट्टा(विर्तामोड(चन्द्रगढी सडकको ३० किलोमिटर वा काँकडभिट्टा-चारआली-चन्द्रगढी सडकको २४ किलोमिटर लामो बाटो प्रयोग गर्दै आएका थिए । ती दुई सडकको तुलनामा धेरै यो सडकखण्ड निकै छिटो पर्छ । 

मेचीनगर-१५ का दुर्गा बुढाथोकीले विगतमा पिछडिएको क्षेत्रका रूपमा हेरिने ज्यामिरगढी क्षेत्र यो सडक कालोपत्र भएसँगै सुविधाजनक भएको बताए । 

यो सडकको धुलाबारीबाट भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्र निर्माणको ठेक्का विसं २०७५ कात्तिक ७ मा हिम्डुङ एन्ड थोकर सरोज जेभीले लिएको थियो । 

सो सडक २०७९ असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेको थिएन ।

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा निर्माण भएको सो सडक यही फागुनसम्ममा सरकारलाई हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिए । “कल्भर्टमा काम भइरहेको छ”, उनले भने, “काम द्रुतगतिमा भइरहेको हुँदा अब दुई महिनाभित्रमा सडक पूर्णपमा निर्माण भइसक्छ ।”

सम्बन्धित समाचार