सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थानीय अधिकारीले शनिबार यो जानकारी दिएका हुन्। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ ।
मौसम सुरु भएको केही साता भित्रै जिहादी र आपराधिक गिरोह रकमका लागि अपहरणकर्ता (स्थानीय रूपमा ‘ब्यान्डिट’ भनेर चिनिने गाई चोरहरू) ले उत्तरी तथा मध्य नाइजेरियाका कृषक समुदायहरूमाथि कर लगाएर पैसा नदिनेहरूलाई आक्रमण बढाएका छन् ।
यस हिंसाका कारण धेरै किसान आफ्नो खेतमा जान डराएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस्ता आक्रमणले नाइजेरियामा ‘गरिबी र खाद्य असुरक्षा’ बढाउन सक्ने चेतावनी दिएको छ।
जाम्फारा राज्यको तुङ्गार बाउरे गाउँमा शुक्रबार मोटरसाइकलमा सवार डाकाहरूहरूले आक्रमण गरी गोली हानेको स्थानीय राजनीतिक प्रशासक याहाया अबुबकर यारीले बताए ।
'आक्रमणमा अपराधीहरूले १७ जनाको हत्या गरे र केही (सङ्ख्या पुष्टि हुन नसकेको) लाई अपहरण गरे,' पीडितहरूको अन्त्येष्टिमा सहभागी यारीले भने, 'जिल्लाका समुदायहरू पर्याप्त सुरक्षा कर्मी नभएका कारण ब्यान्डिटहरूबाट निरन्तर आक्रमणमा परिरहेका छन् ।'
यो आक्रमण जुनियर रक्षा मन्त्री बेल्लो मुहम्मद मतावाल्लेको गृह जिल्लामा भएको हो। उहाँले यसअघि गिरोहविरुद्ध लड्न दुई हजार सैनिक खटाउने प्रतिबद्धता जनाएका थिए ।
एएफपीले प्राप्त गरेको भिडियोमा तुङ्गार बाउरेका सयौं क्रुद्ध बासिन्दाहरूले राजमार्ग अवरुद्ध गरी हत्याको विरोध गर्दै सुरक्षा फौज खटाउन माग गरेका थिए।
जुन १२ मा छिमेकी मारादुन जिल्लाको एउटा गाउँमा डाँकाहरूले १७ जना किसानको हत्या गरेका र अन्य पाँच जनालाई घाइते बनाएको स्थानीय अधिकारी तथा बासिन्दाले बताएका थिए ।