मेचीनगरमा बेवारिसे अवस्थामा फेला परेकी महिलासहित तीन बालबालिकाको उद्धार, लगाइयो अभिभावकको जिम्मा
भद्रपुर । मेचीनगरमा बेवारिसे अवस्थामा फेला परेकी एक महिलासहित तीन बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका महिलासहित तीन छोराछोरीलाई बिहीबार अभिभावकको जिम्मा लगाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलवार साँझ मेचीनगर नगरपालिका- १३ पिपल चौकमा बिरामी जस्तो देखिने भद्रपुर नगरपालिका- ७ निवासी ३२ वर्षीया रिमा हस्दा माझी, उनका ५ वर्षीय छोरा कृष्ण माझी, छोरीहरू ३ वर्षीया लक्ष्मी माझी र ३ महिनाकी सरस्वती माझी बेवारिसे अवस्थामा फेला परेको थियो । स्थानीयले बेवारिसे अवस्थामा फेला पारे पनि महिला रिमाले आफ्नो परिचय खुलाउन चाहेनन् । त्यसपछि रिमासहित छोराछोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रहरीले तत्काल चारै जनाको उद्धार गरी मानव अधिकारको लागी एकल महिला चन्द्रगढीमा ल्याएर राखेका थिए । त्यसपछि प्रहरीले अभिभावक खोज्ने क्रममा रिमाका श्रीमान् ४५ वर्षीय शिवचरण माझीलाई फेला पारेका थिए । श्रीमान् शिवचरणलाई श्रीमती र छोराछोरी जिम्मा लगाएको प्रहरीले जनाएको छ ।