डेग्लोको सेवा विस्तार : अब भद्रपुरमा लजिङ-फुडिङसहित 'डेग्लो इन' सञ्चालन
भद्रपुर । झापाको भद्रपुर- ८ स्थित सगरमाथा चोकमा सञ्चालनमा रहेको डेग्लो क्याफे रेस्टुरेन्ट एन्ड बारले आफ्नो व्यवसायलाई थप विस्तार गरेको छ । डेग्लोले भद्रपुर – ५ बसपार्क छेउ नवराज पनेरू ‘राजु’द्वारा सञ्चालित होटेल रिवाजलाई भाडामा लिएर त्यसको नाम परिवर्तन गरी 'डेग्लो इन होटेल र लज' सञ्चालनमा ल्याएको सञ्चालक राज वनले जानकारी दिए । नगर क्षेत्रमा डेग्लोले लजिङ फुडिङसमेतको व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए ।
बुधवारदेखि सञ्चालनमा आएको होटेलको उद्घाटन भ्वाइस अफ नेपाल सिजिन प्रथमका विजेता तथा युवा गायक विजय अधिकारीले रिबन काटेर गरेका थिए । सो उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश एकका अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दीपेश ढकाल, वडा अध्यक्षहरू गौरव सुब्बा (मनोज) र बन्धु कार्की लगायतको सहभागी रहेको थिए।
उद्घाटनका अवसरमा युवा गायक विजय अधिकारीसहित एसेक्स ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएका थिए भने टेलिभिजन प्रस्तोता प्रहिल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । डेग्लो क्याफे रेस्टुरेन्ट एन्ड बारले होटेल म्यानेजमेन्ट सम्बन्धी इन्स्टिच्युट समेत सञ्चालनमा ल्याएको अर्का सञ्चालक एमबी गिरीले जानकारी दिए ।