२०८३ असार १४ गते , आईतबार

बिर्तामोडमा फोहोर वर्गीकरणका लागि छलफल सुरु

sajilo news
झापा
२०७९ पौष १८ गते , सोमबार
बिर्तामोडमा फोहोर वर्गीकरणका लागि छलफल सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिकाले क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न लागेको हो ।

फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै फोहोरको वर्गीकरण गर्न छलफल प्रारम्भ गरेको छ । आइतवार वडा नं. ६ को कार्यालयमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने, वडाध्यक्ष सुर्य कन्दङवा, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बिचमा छलफल गरिएको थियो । छलफलका क्रममा स्रोतबाटै कुहिने, नकुहिने प्लाष्टिकजन्य र धातुजन्य गरि तीन भागमा फोहोरको वर्गीकरण गर्नुपर्ने नगर प्रमुख प्रसाईको भनाई छ ।

नगरप्रमुख प्रसाईले जथाभावी रुपमा फालिएको फोहोरले वातावरण दुषित हुनुका साथै नगरको पहिचान नै विग्रिएको बताइन् । सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई नियन्त्रण गर्न टोल विकास संस्थाका प्रतिनिधि पनि जागरुप हुनुपर्ने उनको धारणा छ । अव्यवस्थित रुपमा फालिएको फोहोरले मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने भएकोले स्वंम सचेत हुनपर्छ, उनले थपिन् – ‘मानव स्वास्थ्यको रक्षाका लागि पनि फोहोरको वर्गीकरणसहित व्यवस्थापन जरुरी रहेकोले नीतिगत छलफललाई अघि बढाएका हौं ।’

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कनकाई नविकरणीय उर्जामा तत्कालै फोहोर व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । उनले सो संरचनामा फोहोर व्यवस्थापन गर्न वर्गीकरण आवश्यक रहेको बताएका छन् । कनकाई नविकरणीय उर्जामा कुहिने फोहोरबाट ग्यास, नकुहिने प्लाष्टिकजन्य फोहोरबाट पेवर्सजन्य निर्माण सामग्री उत्पादन गरिने उनको भनाई छ ।

यस्तै, वडाध्यक्ष कन्दङ्वाले नगरलाई सफा र स्वच्छ बनाउन फोहोर वर्गीकरण गरेर उचित व्यवस्थापनका लागि काम थालिएको बताएका छन् । उनले गाउँ, नगर सफा राखेमा मात्रै देश समेत सुन्दर हुने भन्दै वडाबासीलाई फोहोर वर्गीकरण गरेर राखिदिन आग्रह गरेका छन् ।नगरपालिकाले पहिलो चरणमा बढी फोहोर उत्पादन हुने वडाहरुमा वर्गीकरणका लागि नीतिगत छलफल अघि बढाएको हो ।

सम्बन्धित समाचार