न्यायालयमाथि भइरहेको विकृति र बेतिथिको अन्त्य गर्छु : महान्यायाधिवक्ता डा. पोरखेल
भद्रपुर । महान्यायाधिवक्ता डा. दिलमणि पोखरेलले न्यायालयमाथि भइरहेको चौतर्फी आक्रमणलाई रोकी त्यसलाई सुधार गरेर अघि बढ्ने बताएका छन् ।
नेपाल बार काउन्सिल र झापा बार एशोसियसनको संयुक्त आयोजनामा शुक्रबार भद्रपुरमा सम्पन्न नेपाल कानुन व्यवसायी परिषद्को वार्षिक गतिविधि तथा कानुन आचारसंहिता अनुसन्धान अभियोजन विषयक प्रदेश १ स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता डा। पोखरेलले यस्तो बताएका हुन् ।
सरकारले बुधवार मात्र महान्यायाधिवक्तामा नियुक्त गरेका डा। पोखरेलले भने, ‘आफूले सस्तो लोकप्रियताका लागि कुनै कुरा नबोल्ने र बोलेको कुरालाई पुरा गरेरै छाड्छौँ ।’ न्यायालयमा हुने गरेका विकृति विसङ्गति र बेतिथिको अन्त्य गर्दै त्यसलाई सुधारोन्मुख बनाउने आफ्नो मुख्य लक्ष्य र योजना रहेको उनले बताए ।
सो कार्यक्रममा कानुन व्यवसायी आचारसंहिताका विषयमा नेपाल बार एसोसिएसनका सदस्य डा. चन्द्रकान्त ज्ञवाली र अनुसन्धान अभियोजन पत्रको बारेमा झापा जिल्ला न्यायधिवक्ता प्रकाश गौतमले छुटाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए ।
झापा बार एसोसिएसनका अध्यक्ष हरि अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा एसोसिएसन केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू वीरेन्द्र चक्रवर्ती, टङ्कप्रसाद उप्रेती, गजेन्द्र आचार्य, पूर्व केन्द्रीय बार उपाध्यक्ष अशोककुमार पोखरेल, भरतबहादुर थापा, सह अधिवक्ता कोसहरि निरौला लगायतले आआफ्नो धारणा राखेका थिए ।
प्रदेश १ का विभिन्न जिल्लाबाट आएका कानुन व्यवसायीहरूले व्यावसायिक आचरणमा सुधारका विषयमा सुझाव समेत राखेका थिए । बार काउन्सिल सदस्य प्रेमप्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन झापा बारकी सचिव हेमकला कट्टेलले गरेकी थिइन् ।