२०८२ बैशाख १३ गते , शनिबार

धुलाबारी मावि झापाकै उत्कृष्ट विद्यालय घोषित 

sajilo news
झापा
२०७९ पौष १३ गते , बुधबार
धुलाबारी मावि झापाकै उत्कृष्ट विद्यालय घोषित 

मेचीनगर । धुलाबारी माध्यमिक विद्यालयलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापाकै उत्कृष्ट विद्यालयको रुपमा छनोट गरेको छ ।

प्रदेशका १४ जिल्लाबाट एक एक उत्कृष्ट विद्यालय छनोट गर्दा झापाको सो विद्यालय परेको हो । मन्त्रालयको मूल्याङ्कनका आधारमा धुलाबारी माविलाई उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरी अनुदान दिने घोषणा गरिएको हो ।

मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले धुलाबारी माविलाई पत्रचार गरी अनुदानका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेलले जानकारी दिए।

उनका अनुसार विद्यालयले रु १४ लाख ५० हजार अनुदान प्राप्त गर्नेछ । अनुदानबापतको २० प्रतिशत रकम प्रोत्साहन कार्यक्रम र बाँकी ८० प्रतिशत रकम विद्यालयको प्रस्तावका आधारमा कार्य गर्ने गरी योजना तयार पार्न मन्त्रालयले निर्देशन दिएको उनको भनाइ छ ।

आगामी पुस १७ गतेभित्र पेश गर्नुपर्ने प्रस्तावनामा विद्यालयको विगत र वर्तमान अवस्था प्रष्ट हुने कागजात, विद्यालयको भौतिक अवस्था, कक्षागत विद्यार्थी तथा शिक्षकको विवरण, सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपिलगायतका छन् ।

धुलाबारी मावि झापाकै पुराना विद्यालय हो । हाल यहाँ प्राविधिक शिक्षासँगै कक्षा १ देखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइसमेत हुने गरेको छ । “हामीले गरेको कामको प्रदेश सरकारले सही मूल्याङ्कन गरेको छ”, प्रधानाध्यापक लुइँटेलले खुसी हुँदै भने, “अनुदान पाएको रकमलाई सही सदुपयोग गरेर अझ विद्यालय सुन्दर र व्यवस्थित बनाउनेछौँ ।”

सम्बन्धित समाचार