राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण सदस्यमा दंगालको उम्मेदवारी

लामो समयदेखि सहकारी अभियानमा सक्रिय झापाका भवानीप्रसाद दङ्गाल राष्ट्रिय सहकारी बैंक (रास बैंक) को लेखा सुपरिवेक्षण समितिको सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
विगत दुई दशकदेखि सहकारी आन्दोलनमा निरन्तर रूपमा लागिरहेका दङ्गाल हाल झापा जिल्ला सहकारी संघको सचिवको भूमिका जिम्मेवारी पूर्वक निर्वाह गरिरहेका छन् ।
सहकारी अभियानलाई निरन्तर अगाडि बढाउन र सहकारी बैंकको गरिमा उच्च राख्न आफ्नो तर्फबाट उम्मेदवारी दिएको भवानीप्रसाद दङ्गालले बताए । 'जितेपछि बैंकको साख वृद्धि गर्दै सहकारी संस्थाको लगानी विविधीकरण र उन्नतिका लागि म दत्तचित्त भएर लाग्नेछु,' उनले भने ।
आगामी पुस १६ गते सम्पन्न हुने बैंकको १९ औ वार्षिक साधारण सभाका क्रममा मतदान गरेर आफूलाई विजयी गराइदिन उनले आम सहकारीकर्मीहरुसँग आग्रह गरेका छन् । देशैभरका सहकारी संस्थाका प्रतिनिधिहरूलाई एक पटक आफूलाई सेवा गर्ने मौका प्रदान गर्न अनुरोध गर्दै उनले एक विज्ञप्ति सार्वजनिक गरेका छन् । निर्वाचन सातै प्रदेशमा आगामी पुस १६ गते हुँदैछ ।