कनकाई सामुदायिक वनको २१औं टोल प्रतिनिधि भेला सम्पन्न
कनकाई । झापाको कनकाई सामुदायिक वन उपभोक्ता समूहको २१औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ । बिहीबार सामुदायिक वनको सभा हलमा उपभोक्ता समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वनसँग प्रत्यक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समूहका १७ वटै टोलका टोल प्रतिनिधिहरूको उपस्थितिमा भएको भेलामा अध्यक्ष ओलीले वन संरक्षण समिति लगायत ९ औ कार्यसमितिको चौथो वर्षको कार्यक्रमको मूल्याङ्कन साथै दशौँ कार्यसमितिको प्रथम वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष २०७८/७९ मा समूहबाट सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समूहबाट सञ्चालन गरिने नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै बन समूहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समूहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समूहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परीक्षण प्रतिवेदन भेलामा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चौलागाईं, विशेष अतिथि कनकाई २ का वडा अध्यक्ष बलराम राई, सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख सुरेश कुमार खनाल, हरिभक्त सिटौला , नारायण ओली , भीष्म मैनाली , गोविन्द पौडेल , सूर्य उप्रेती लगायतले विभिन्न सल्लाह सुझाव सहित आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थियो । छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बन्द सत्रमा माइन्युट लेखनको जिम्मेवारी समूहका कार्यालय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालीले सम्हालेका थिए भने प्रमाणीकरण सल्लाहकार द्वय हरिभक्त सिटौला र गोविन्द पौडेलले गरेका थिए ।
उक्त प्रतिवेदनमा भेलाले दिएको सल्लाह सुझावलाई समेट्दै समूहको आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागी पेस गरिने र साधारण सभा कार्यसमितिको बैठक बसी पौष महिना भित्रैमा गर्ने गरी मिति तय गरिने जनाइएको छ । स्वागत मन्तव्य वन समूहका सहसचिव केशव सङ्ग्रौलाले राखेको कार्यक्रमको सञ्चालन सचिव मान्तादेवि काफ्ले खरेलले गरेकी थिइन् ।