झापामा हात्तीको आक्रमणबाट मृत्यु भएका भुजेलको शव साढे ४ घण्टापछि प्रहरीले उठाउन पाए
जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका बाह्रदशी गाउँपालिका- १ का ३७ वर्षीय जगतबहादुर भुजेलको शव साढे ४ घण्टापछि उठाइएको छ ।
मंगलबार दिउँसो ४:२० बजे कचनकवल गाउँपालिका- १ स्थित पश्चिम देउराली चारकोसे सामुदायिक वनमा घाँस दाउरा लिएर फर्किने क्रममा भुजेललाई वनसँग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि शव आसपास ३–४ वटाको सङ्ख्यामा हात्ती आएर बसेका थिए । हात्तीका कारण प्रहरीले शव उठाउन सकेको थिएन् । त्यसपछि वन डिभिजन कार्यालय र प्रहरीले साइरन बजाउनुका साथै अनेक उपाय लगाएर घटनास्थलबाट हात्ती धपाउन साढे ४ घण्टा लाग्यो । हात्ती गएपछि मात्र प्रहरीले शव उठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । झापामा यस वर्षको ९ महिनामा हात्तीको आक्रमणमा परी चार जनाको मृत्यु भइसकेको छ ।