राजवंशी समाज विकास समितिको स्थापना दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश
बिर्तामोड । प्रधानमन्त्री शेरबहादुर देउवाले राजवंशी समाज विकास समितिको स्थापना दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार एक लिखित सन्देश जारी गर्दै राजवंशी समाज विकास समितिको २९ औं स्थापना दिवस अवसरमा शुभकामना सन्देश जारी गरेका हुन् । प्रधानमन्त्री देउवाले राजवंशी समाज विकास समिति २९ औं वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको अवसरमा राजवंशीहरूको भाषा, कला, संस्कृति र मौलिक परम्परा झल्कने गरी विभिन्न कार्यक्रम आयोजना गरेकोमा खुसी समेत व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा आदिमकालदेखि बसोबास गर्ने राजवंशी जातिको छुट्टै भाषा, धर्म, कला, संस्कृति, भेषभूषा तथा विशिष्ट मौलिक परम्परा रहेको उल्लेख गर्दै राजवंशी जातिले मनाउने सिरुवा, घाटोसरी, डोलपावनी, गरुवाँसी, भाक्का दिवसलगायत पर्व र उत्सवहरूको नेपाल सरकारले संरक्षण तथा सम्वद्र्धनमा ध्यान दिने उल्लेख गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले राजवंशी जातिको मौलिक तथा परम्परागत खानाका परिकारहरूको समेत संरक्षण र सम्वद्र्धन जरुरी रहेको औँल्याएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवाले समुदायगत विकासको कामना समेत गरेका छन् । देउवाले राजवंशी समाज विकास समितिको स्थापना दिवसको अवसरमा राजवंशी जातिभित्र पारस्परिक सद्भाव, भ्रातृत्व र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान हुने विश्वास तथा शुभकामना व्यक्त गरेका छन् ।
राजवंशी समाज विकास समितिले मोरङको सुनवर्षी नगरपालिका ९ भेरुवाथानसहित विभिन्न स्थानमा सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको अध्यक्ष अभय राजवंशीले जानकारी दिए । आफ्नो जातीय संस्थाको स्थापना दिवसको अवसरमा लिखित शुभकामना सन्देश दिएको प्रति संस्थाका केन्द्रीय अध्यक्ष अभय राजवंशीले प्रधानमन्त्री देउवा र प्रधानमन्त्री कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत राजवंशी समुदायको मनोबल बढाएकोमा खुसी व्यक्त गरेका छन् । सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री स्वयम्ले राजवंशी जातिको धार्मिक, सांस्कृतिक एवं समग्र जातीय विकासका निम्ति गरेको पहल र कामनाले आगामी दिनमा राजवंशी जातिको विकासमा अर्थपूर्ण महत्त्व राख्ने विश्वास व्यक्त गरेका छन् ।