म्यादी प्रहरी युवतीको हत्या प्रकरण : घटनामा संलग्न सशस्त्र प्रहरी जवानको खोजी तीव्र
झापा । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको बताए । उनले भने, “मान्छेको पहिचान भइसकेको छ, पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।”
घटनामा संलग्न व्यक्तिले प्रेमिका भनिएकी मायाको घाँटी रेटेपछि उनीसँगै रहेकी नेहा लुहारलाई पनि लखेट्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको नायब प्रहरी महानिरीक्षक आचार्यले बताए ।
बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा माया लुहारको शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
नेहालाई घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार माया मृतावस्थामा र नेहा गम्भीर घाइते अवस्थामा भेटिएकी हुन् ।
घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमै रहेको छ । हत्या घटनामा शिवनाथकै सशस्त्र प्रहरीका एक जवान संलग्न रहेको जनाइएको छ । उनी फरार रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले भने, “माया र ती सशस्त्रका जवानको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने भन्ने कुरा सुनिन आएको छ, ती अहिले फरार रहेका छन् ।”
माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेको बताइएको छ । सशस्त्रका ती जवानले केही समयअघि मायाको मोबाइल नियन्त्रणमा राखेका थिए । मोबाइल लिन भनेर मायालाई बोलाएको र त्यही हत्या गरिएको प्रहरीको शङ्का छ । दुवै जना प्रेमसम्बन्धमा रहेको र कुरा नमिलेपछि हत्याको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थल रक्ताम्य अवस्थामा रहेको र चक्कुसमेत फेला परेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । उनले भने, “घटनामा संलग्न व्यक्तिको खोजीका लागि भारतीय सीमाक्षेत्र र सुदूरपश्चिमका सबै प्रहरी युनिटलाई सक्रिय पारिएको छ ।”
मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । परीक्षण रिपोर्ट भने आउन बाँकी छ । बलात्कारपछि हत्या भएरनभएको बारे परीक्षण रिपोर्ट आएपछि मात्रै थाहा हुने जनाइएको छ । शव र घटनास्थलको प्रकृति हेर्दा भने बलात्कारको शङ्का गर्न नसकिने प्रहरीको दाबी छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ