२०८३ बैशाख ११ गते , शुक्रबार

विश्वकपको दाबेदार मानिएका बेल्जियम मोरक्कोसँग पराजित

sajilo news
एजेन्सी
२०७९ मंसीर ११ गते , आईतबार
विश्वकपको दाबेदार मानिएका बेल्जियम मोरक्कोसँग पराजित

कतारमा भईरहेको विश्वकप फुटबलमा अप्रत्याशित हारजितको क्रम आज पनि कायमै रह्यो। विश्वकपको दाबेदारमध्ये एक मानिएको बेल्जियम २-० गोलले मोरक्कोसँग पराजित हुन पुगेको छ।  मोरक्कोका लागि अब्देल हामिद साबिरीले ७३ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै अग्रता दिलाए। तर उनले ९५औं मिनेटमा पहेंलो कार्ड पाए।

९२औं मिनेटमा जकारिया अबुखलालले दोस्रो गोल गरेर मोरक्कोको जित सुनिश्चित गरे। घाइते रहेका बेल्जियन खेलाडी रोमेल लुकाकु खेलको अन्त्यतिर मैदान प्रवेश गरेका थिए भने इडेन हजार्ड पनि आज खेलेका थिए। तैपनि बेल्जियमले खेलमा जीत निकाल्न नसकेको मात्र होइन‚ हार नै बेहोर्नु पर्‍यो।
आजको जितसँगै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले खेलेका समूह चरणका २ खेलमध्ये पहिलो खेल बराबरीमा र आजको खेल जितेपछि ४ अंक बनाएको छ। 

मोरक्कोले यसअघिका समेत गरी विश्वकपमा खेलेका १८ खेलमध्ये जीत हासिल गरेको यो तेस्रो खेल हो। बेल्जियमको २ खेलबाट ३ अंक छ। क्रोएसिया १ अंक र क्यानडा अंकविहीन छन्। सन् २०१८ मा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो भने अहिले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको छ।

सम्बन्धित समाचार