२०८३ भाद्र ५ गते , शुक्रबार

पाँचथरमा रेविज सङ्क्रमणबाट ३६ पशुचौपाया मरे

sajilo news
पाँचथर
२०८३ भाद्र ४ गते , विहीबार
पाँचथरमा रेविज सङ्क्रमणबाट ३६ पशुचौपाया मरे

रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका छन्। सङ्क्रमण फैलन नदिन खोप कार्यक्रम निरन्तर सञ्चालन गरिएपछि स्थिति नियन्त्रणउन्मुख भएको छ। पाँचथरमा फिदिम नगरपालिकासहित फाल्गुनन्द, कुम्मायक, हिलिहाङ र याङवरक गाउँपालिकामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो। 

रेबिज रोग सङ्क्रमित सामुदायिक कुकुरको टोकाइबाट गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर र सामुदायिक तथा घरपालुवा कुकुरमा सङ्क्रमण फैलिएको हो। जसकारण हालसम्म सानाठूला गरी ३६ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरजकुमार भट्टराईले जानकारी दिए।

पाँचथरमा सबैभन्दा बढी फाल्गुनन्द गाउँपालिकामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो। एकै सङ्क्रमित कुकुरले दर्जनौँ पशु चौपायालाई टोकेपछि स्थिति भयावह बनेको थियो।

जसकारण फाल्गुनन्द गाउँपालिकामा मात्रै छ गाईगोरु, सात भैँसी, पाँच बाख्रा र आठ कुकुर रेबिज सङ्क्रमणका कारण मरेको फाल्गुनन्द गाउँपालिका पशुपक्षी विकास शाखाका प्रमुख डा निरज चौधरीले जानकारी दिए।

उक्त गाउँपालिकाका–६ र ७ मा सङ्क्रमण अत्यधिक फैलिएको थियो। यस क्रममा पाँच जना मानिसलाई पनि सङ्क्रमित कुकुरले टोकेपछि उपचार भइरहेको छ।

सम्बन्धित समाचार