झन्डै एक केजी ब्राउन सुगरसहित दुई महिला सीमावर्ती क्षेत्रबाट समातिए
झन्डै एक केजी लागूऔषध ब्राउन सुगरसहित दुई महिला तस्कर सीमावर्ती क्षेत्र नक्सलवारीबाट पक्राउ परेका छन् । आज बिहान ५ बजे भक्तिनगर प्रहरी चौकी अन्तर्गतको आशिघर आउट पोस्टको प्रहरी टोलीले सिलिगुरी प्रहरी आयुक्तालयको टोलीको सहयोगमा अल्कोम चौबाटोमा संयुक्त अभियान सञ्चालन गरेको थियो। यस अभियानमा दुई सन्दिग्ध महिलालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा मालदा कालियाचक शाहबाजपुर बामनतला गाउँकी ३० वर्षीया जुलेखा खातुन र दार्जिलिङ जिल्ला रेलवे स्टेसन नक्सलबारीनजिकै बस्ने २० वर्षीया सुप्रभा चक्रवर्ती रहेका छन् ।
खोजतलासका क्रममा प्लास्टिकले पोको पारेको ९८६.६५ ग्राम ब्राउन सुगर र दुई वटा मोबाइल फोन बरामद गरिएको थियो। उनीहरूमाथि भक्तिनगर प्रहरी चौकीमा एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। ती महिलालाई आज जलपाईगुडी अदालतमा पेस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।