२०८३ बैशाख ७ गते , सोमबार

पोल्यान्डसँग साउदी अरब पराजित

sajilo news
एजेन्सी
२०७९ मंसीर १० गते , शनिबार
पोल्यान्डसँग साउदी अरब पराजित

दोहा । फिफा विश्वकपको समूह ‘सी’अन्तर्गत शनिबार भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलको नतिजामा पराजित गरेको छ। एजुकेसन सिटी रंगशालामा पहिलो हाफमा १-० को अग्रता लिएको पोल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्यो।

कप्तान रोबर्ट लेवान्डोस्कीले ३९औं मिनेटमा दायाँ तर्फबाट गरेको क्रसमा १८ यार्ड बक्स भित्र अन्मार्क्ड रहेका पिटर जेलेन्सकीले उत्कृष्ट गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा पोल्यान्डका क्रिस्टियान बेलिकले सली अल शेहेरीलाई पेनाल्टी एरियामा फाउल गरेपछि साउदीले पेनाल्टी पाएको थियो।

यद्यपि, सलिम अल-दावसरी पेनाल्टीमा चुक्दा साउदीले बराबरी गर्ने मौका गुमाएको थियो।  निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा कप्तान लेवान्डोस्कीले गरेको गोलसँगै पोल्यान्डले जारी विश्वकपमा पहिलो जित दर्ता गर्यो। साउदी अरबका मिडफिल्डर अब्दुलेला अल(माल्कीले पेनाल्टी एरिया नजिकै बलमाथि नियन्त्रण गुमाउँदा शतर्क रहेक लेवान्डोस्कीले त्यसको फाइदा उठाए।

युरोपेली फुटबलमा प्रभावशाली फरवार्ड भए पनि विश्वकपमा भने लेवान्डोस्कीको यो पहिलो गोल हो। पोल्यान्डबाट एक सय ३६ खेलमा लेवान्डोस्कीले ७७ गोल गरेका छन्। सन् २०१८ विश्वकपमा डेब्यू गरेका लेवान्डोस्कीको टिम चार वर्षअघि समूह चरणबाट बाहिरिएको थियो। समूह चरणका तीन खेलमा दुई गोल गरे पनि लेवान्डोस्कीको नाम स्कोर सिटमा थिएन।

आजको जितसँगै दुई खेलमा चार अंक जोडेको पोल्यान्ड नकआउट चरण नजिक पुगेको छ। यद्यपि, समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्ने भएकाले कठिन चुनौती अझै बाँकी छ। समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग जित निकाल्न सके साउदी अरब समूह चरण पार गर्ने सफल हुनेछ।

सम्बन्धित समाचार