२०८१ फाल्गुन ४ गते , आईतबार

इरानसँग दुई गोलले हार्‍यो वेल्स

sajilo news
एजेन्सी
२०७९ मंसीर ९ गते , शुक्रबार
इरानसँग दुई गोलले हार्‍यो वेल्स

दोहा । दश जनामा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २-० गोलको नतिजामा पराजित भएको छ। गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित हुनुपर्यो। इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक/एक गोल गरे।

सन् २००६ यता विश्वकपका सुरुआती दुई खेलमा लगातार पराजित नभएको इरान नकआउट चरण नजिक पुगेको छ । पहिलो हाफमा गोलका लागि दुवै टिमले अवसरको सिर्जना गरेका थिए। तर, सटिक फिनिसिङको अभावमा गोल गर्न दुवै टिम असफल रहे। इरानका घोलिजादेहले १६औं मिनेटमा गरेको गोल भीएआरले रद्द गरिदिएको थियो। वेल्सका कप्तान ग्यारेथ बेलले ३०औं मिनेटमा भलीमार्फत गरेको प्रहार सोझै इरानी गोलकिपरको हातमा परेको थियो।

वेल्सका ह्यारी विल्सनले ५४औं मिनेटमा प्रहार गरेको फ्रि-किक इरानी गोलकिपर होसेइनी होसेनको हातमा पुगेको थियो। समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ।

यसअघि १९५८ मा एकपटक मात्र विश्वकप खेलेको वेल्स सनसनी मच्चाउँदै क्वार्टरफाइनलमा पुगेको थियो।  त्यसबेला समूह तीनमा परेको वेल्सले तीन बराबरी र एक जितसहित क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। अन्तिम आठमा ब्राजिलसँग १-० को नतिजामा पराजित भएर विश्वकपबाट बाहिरिएको वेल्स झण्डै साढे ६ दशकपछि मात्रै छनोट भएको हो।

सम्बन्धित समाचार