क्यानडामाथि बेल्जियमको कठिन जित

दोहा । मिची बाट्सुवायीको निर्णायक गोलप्रेरित बेल्जियमले फिफा विश्वकपको समूह ‘एफ’अन्तर्गत बुधबार राति भएको खेलमा क्यानडालाई १–० गोलको नतिजामा पराजित गरेको छ। अहमद बिन अली रंगशालामा भएको खेलको ४४औं मिनेटमा बाट्सुवायीले गरेको एक मात्र गोल निर्णायक बन्यो।
डिफेन्डर टोबी अल्डरवेरल्डले दिएको लामो पासलाई पेनाल्टी एरिया भित्र नियन्त्रणमा लिएर २९ वर्षे फरवार्डले गरेको प्रहार गोलमा परिणत भएको थियो।
त्यसअघि बेल्जियमका यानिक कारास्कोले १८ यार्ड बक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा क्यानडाले अग्रता लिने मौका गुमाएको थियो। क्यानडाका अल्फोन्सो डेभिसले प्रहार गरेको पेनाल्टी बेल्जियम गोलकिपर टिबाउट कर्टुवाले बचाएका थिए।
जितसँगै बेल्जियम समूह चरण पार गर्न एक खेल टाढा छ। आइतबार हुने मोरक्कोविरुद्धको खेलमा जित निकाले एक खेल अगावै बेल्जियमले अन्तिम १६ मा स्थान बनाउने छ। बुधबार नै भएको समूह ‘एफ’को अर्को खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेलेका थिए।