२०८१ माघ २७ गते , आईतबार

विश्वकपमा स्पेनको हालसम्मकै फराकिलो गोल अन्तरको जित

sajilo news
एजेन्सी
२०७९ मंसीर ८ गते , विहीबार
विश्वकपमा स्पेनको हालसम्मकै फराकिलो गोल अन्तरको जित

दोहा । फेरान टोरेसको दुई गोलप्रेरित स्पेनले समूह 'ई'को पहिलो खेलमा कोस्टा रिकालाई ७-० ले पराजित गर्दै विश्वकपमा शानदार सुरुआत गरेको छ। दोहास्थित अल थुमामा रंगशालामा पहिलो हाफमा ३-० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा चार गोल थप्यो।

सेन्ट्रल अमेरिकी मुलुकमाथि हाबी बनेको स्पेनका लागि ११औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरेका थिए। ओल्मोले पहिलो मिनेटदेखि नै निरन्तर आक्रमण गरेको स्पेनका लागि विश्वकपमा १००औं गोल गरेका थिए। त्यसको १० मिनेट नबित्दै जोर्डी अल्बाको क्रसमा मार्को एसेन्सियोले सुन्दर गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए।

पेनाल्टी एरिया भित्रबाट एसेन्सियोले गरेको प्रहारमा कोस्टा रिकाका गोलकिपर तथा कप्तान केइलर नाभासले औंलाले छोए पनि गोल हुनबाट रोक्न सकेनन्। सन् २०१० को विश्व विजेताका डिफेन्डर अल्बालाई कोस्टा रिकाका ओस्कार डुवार्टेले फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै फेरान टोरेसले स्पेनको अग्रता ३-० मा लम्ब्याए।

दोस्रो हाफमा थप आक्रामक बनेको स्पेनका लागि टोरेसले ५४औं मिनेटमा पुनस् गोल गर्दै अग्रता ४-० मा लम्ब्याएका थिए। ६ यार्ड बक्समा अन्मार्क्ड रहेका टोरेसले कोस्टा रिकाका गोलकिपरलाई छलाएर सुन्दर गोल गरेका थिए।

त्यसको २० मिनेटपछि सन् २००४ मा जन्मिएका युवा मिडफिल्डर गाभीले पाँचौं गोल गरेका थिए। अल्भारो मोराटाको पासमा पेनाल्टी एरियाभित्रबाट गरेको आउट फुटेड प्रहार पोलमा ठोकिएर गोलमा परिणत भएको थियो।
निर्धारित समयको अन्तिम मिनेटमा सब्स्टिच्युट मिडफिल्डर कार्लोस सोलेरले स्पेनका लागि छैटौं गोल गरेका थिए। इन्जुरी समयमा अर्का सब्स्टिच्युट खेलाडी मोराटाले गरेको गोलसँगै स्पेनले विश्वकपमा सबैभन्दा ठूलो जित दर्ता गर्यो।  बुधबार नै भएको समूह 'ई'को पहिलो खेलमा जर्मनी जापनसँग १-२ गोलको नतिजामा पराजित भएको थियो।

सम्बन्धित समाचार