इरानमाथि इङ्ल्यान्डको शानदार जित

दोहा । बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले समूह ‘बी’को पहिलो खेलमा इरानलाई ६-२ को नतिजामा पराजित गर्दै फिफा विश्वकप २०२२ मा शानदार सुरुआत गरेको छ। सोमबार साँझ दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा ग्यारेथ साउथगेटको इङ्ल्यान्डले एसियन प्रतिद्वन्द्वीविरुद्ध सहज जित निकाल्दा पाँच फरक खेलाडीले गोल गरे।
विश्वकपमा पहिलो पटक युरोपेली मुलुकलाई हराउने लक्ष्यसहित मैदानमा उत्रिएको इरान एक पटकको विश्व विजेता इङ्ल्यान्डसँग निरिह बन्नुपर्यो। युरोपेली मुलुकविरुद्ध विश्वकपमा खेलका आठमध्ये ६ पराजय भोगेको इरान दुई खेलमा बराबरीमा अल्झिएको थियो।
केइरन ट्रिपियरले आठौं मिनेटमा प्रहार गरेको फ्रि-किक क्लियर गर्ने क्रममा इरानी पहिलो रोजाईका गोलकिपर अलिरेजा बेरानभन्डलाई नाकमा चोट लागेको थियो। करिब १५ मिनेटको उपचारपछि उभिएका बेरानभन्डलाई १९औं मिनेटमा परिवर्तन गर्नुको विकल्प रहेन।
निरन्तर आक्रमणका मौका बनाएको इङ्ल्यान्डका लागि ३५औं मिनेटमा ज्युड बेलिङ्घमले इरानविरुद्ध इतिहासकै पहिलो गोल गरे। पहिलो पटक इरान र इङ्ल्यान्ड आमनेसामने भएको खेलमा विश्वकपमा डेब्यू गरेका बेलिङ्घमले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए।
त्यसको ८ मिनेट नबित्दै डिफेन्डर ह्यारी मग्वायरले दिएको पासमा साकाले भलीमार्फत उत्कृष्ट गोल गरेका थिए। पहिलो हाफको अन्त्यमा सम्हालिन नसकेको इरानी रक्षापंक्तिलाई बिट् गर्दै राहिम स्टर्लिङले इङ्ल्यान्डका लागि तेस्रो गोल गरे। कप्तान ह्यारी केनको क्रसमा ६ यार्ड बक्स अगाडि अन्मार्क्ड रहेका स्टर्लिङले एक्रोब्याटिक फिनिसिङ गरेका थिए।
पहिलो हाफमै तीन गोल ठोकेको इङ्ल्यान्डका लागि ६२औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४(० मा लम्ब्याएका थिए। सन्तुलित इङ्लिस टिमको रक्षापंक्ति विरलै छिचोल्ने मौका पाएको इरानका लागि मेहेदी तारेमीले ६५औं मिनेटमा एक गोल फर्काएका थिए।
अली घोलिजादेले दिएको पासमा पेनाल्टी ६ यार्ड बक्स अगाडिबाट तारेमीले गरेको सशक्त प्रहार क्रसबारमा ठोकिएर गोलमा परिणत भएको थियो। मध्यान्तरमा इरानी प्रशिक्षक कार्लोस क्वेरेजले तीन परिवर्तन गरेका थिए। जसको प्रभाव पहिलो हाफको सुरुआतमा देखिएको थियो। पहिलो हाफको तुलनामा सुधारिएको संकेत दिए पनि इरानले इङ्ल्यान्डविरुद्ध थप तीन गोल रोक्न सकेन। दुई गोल गरेका साकाको स्थानमा ७१औं मिनेटमा मैदान प्रवेश गरेका मार्कस रासफोर्डले पहिलो पासलाई नै गोलमा परिणत गरे। कप्तान केनले दिएको पासलाई दायाँतर्फबाट पेनाल्टी एरियामा कट्(इन् गर्दै रासफोर्डले उत्कृष्ट गोल गरेका थिए।