विश्वकपमा नेदरल्यान्ड्सको विजयी सुरुवात

दोहा । नेदरल्यान्ड्सले फिफा विश्वकपअन्तर्गत समूह 'ए'को दोस्रो खेलमा सेनेगललाई २-० को नतिजामा पराजित गरेको छ। नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र डेभी क्लास्सेनले एक(एक गोल गरे।
अल थुमामा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको ८४ मिनेटसम्म नेदरल्यान्ड्सले फ्रेममा आक्रमण गर्न सकेको थिएन। यद्यपि, फ्रान्की डी योङले बायाँतर्फबाट गरेको क्रसमा गाक्पोले उत्कृष्ट रन बनाएर हेडरमा सेनेगलका गोलकिपर एडुवार्डो मेन्डीलाई बिट् गर्दै सुन्दर गोल गरेका थिए।
निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पछाडी परेको सेनेगललका लागि त्यसको दुई मिनेट नबित्दै पेप ग्वुयेले गरेको सशक्त प्रहारमा डच गोलकिपर एड्रियस नोप्पर्ट बाधक बने।
इन्जुरी समयमा क्लास्सेनले रिबाउन्डमा गोल गर्दै डच टिमका लागि २-० को जित सुनिश्चित गरे। सेनेगलसँग डच टिमको यो कुनै पनि प्रतियोगितामा पहिलो भेट हो।
नेदरल्यान्ड्सले विश्वकपमा अफ्रिकी मुलुकसँग अपराजित यात्रा कायम राखेको छ। सन् २०१४ को उपविजेता नेदरल्यान्ड्सले यसअघिका अफ्रिकी टिमविरुद्धका चार खेलमा तीन जित र एक बराबरी नतिजा निकालेको थियो।
अफ्रिकी च्याम्पियन सेनेगलले भने समूह चरणमा युरोपियन प्रतिद्वन्द्वीसँग पहिलो पटक पराजित भएको छ। नेदरल्यान्डले विश्वकप लगातार ९ पटक पहिलो खेलमा अपराजित यात्रा तय गरेको छ। डच टिमले यसअघिका ८ मध्ये ६ खेलमा जित र दुई बराबरीको नतिजा निकालेको थियो।
अर्कातिर तेस्रो पटक विश्वकप खेलिरहेको सेनेगलले पनि सन् २००२ र २०१८ मा जितसहित विश्वकपको सुरुआत गरेको थियो। तर, तेस्रो अनुभवमा सेनेगलले पहिलो खेलमै पराजय भोगेको छ। प्रतिस्पर्धात्मक खेलको नवौं मिनेटमा सेनेगलका स्मालिया सारले गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
नेदरल्यान्ड्सका गाक्पोले १७औं मिनेटमा प्रहार गरेको फ्रि(किकमा डेली ब्लन्डको हेडर पनि फ्रेममा परेको थिएन। जितसँगै नेदरल्यान्ड्सले समूह 'ए'मा तीन अंक जोडेको छ। लुइ भान हालको प्रशिक्षणमा रहेको डच टिम शुक्रबार हुने इक्वेडरविरुद्धको खेलमा जित हासिल गरे एक खेल अगावै नक आउट चरणमा पुग्ने छ।
पराजित सेनेगलले शुक्रबार नै कतारसँग खेल्ने छ। समूह ‘ए’अन्तर्गत नै सोमबार भएको उद्घाटन खेलमा आयोजक कतार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी इक्वेडरसँग २-० को नतिजामा पराजित भएको थियो। सोमबार भएको समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्डले इरानलाई ६-२ को नतिजामा पराजित गरेको थियो।