विश्वकपको ९२ वर्षे यात्रा, ८ देश मात्र विश्वविजेता
झापा । विश्वकपको महाकुम्भ सुरु हुन अब दुई दिनमात्र बाँकी रहेको छ। यसपटकको विश्वकप कस्ले जित्ला भन्ने कौतुहलता विश्वभर नै रहेको छ। विश्वकपको २२ औं संस्करणको इतिहासमा अहिलेसम्म आठ देशले मात्र उपाधि पोल्टामा पारेका छन्। सन् १९३० मा सुरु भएको विश्वकपको १९३८ पछि रोकिएको थियो। बाह्र वर्षपछि १९५० मा फेरि सुरु भएको थियो।
कसले कतिपटक जिते ?
विश्वकपमा सबैभन्दा बढी उपाधि ब्राजिलले जितेको छ। उसले १९५७, १९६२, १९७०, १९९४ र २००२ को उपाधि पोल्टामा पार्यो भने सन् १९५० र १९९८ को उपविजेता बन्यो। त्यस्तै जर्मनीले चार पटक उपाधि उचाल्दा चारपटक नै रनरअप बन्यो। उसले १९५४, १९७४,१९९० र २०१४ मा उपाधि उचाल्यो भने १९६६, १९८२, १९८६ र २००२ को उपविजेता रह्यो।
चारै पटकको विश्व विजेता इटाली भने यो पटकको विश्वकपको छनोट चरणबाट नै बाहिरियो। इटाली दुई पटक फाइनलमा पुगेर हारेको थियो। इटालीले १९३४, १९३८, १९८२ र २००६ मा उपाधि उचाल्यो। सन् १९७० र १९९४ मा फाइनलमा पराजित हुन पुग्यो।
अर्जेन्टिना विश्वकपमा २ पटक उपधि जित्ने टोली हो भने तीन पटक फाइनलमा पराजित हुन पुगेको थियो। उसले १९७८ र १९८६ मा उपाधि उचाल्दा १९३०, १९९० र २०१४ मा फाइनलमा पुगेर पराजित हुन पुग्यो। दुई पटक उपाधि जितेको फ्रान्स साबिक विजेता हो। उसले सन् १९९४ र २०१८ मा विश्व विजेता बन्यो भने सन् २००६ मा उपविजेता बजेको छ।
त्यस्तै उरुग्वेले पहिलो विश्वकप १९३० र १९५० मा विश्वकप जितेको थियो। त्यस्तै इंग्ल्याण्ड र स्पेनले क्रमशः १९६६ र २०१० का विजेता बनेका छन्।
फाइनलमा पुगेर घर फर्किएका अभागी टोली
तीन पटक फाइनलमा पुगेको नेदरल्याण्डले एक पटक पनि उपाधि जित्न सकेको छैन। नेदरल्याण्ड सन् १९७४, १९७८ र २०१० मा फाइनलसम्म पुगेको थियो। चेकोस्लोभाकिया पनि दुई पटक फाइनलमा पुगरे रित्तो हात घर फर्किएको थियो। ऊ १९३४ र १९६२ मा फाइनलमा पुगेको थियो।
त्यस्तै हंगेरी पनि दुईपटक फाइनलमा पुगेको थियो। हंगेरी १९३८ र १९५४ को फाइनलमा पुगेर पराजित भएको थियो भने स्वीडेन १९५८ मा फाइनलमा पुगेको थियो।