२०८० फाल्गुन १० गते , विहीबार

हात्तीको आतंकले कचनकवल र हल्दिबारीका किसान बेसार खेतीमा लागे

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
हात्तीको आतंकले कचनकवल र हल्दिबारीका किसान बेसार खेतीमा लागे

झापाको कचनकवल र हल्दिबारी बेसार खेती
झापा । झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको माइकेनियाँ झार फाँडेर बेसार खेती गरिएको सामुदायिक वन महासङ्घ कचनकवल गाउँपालिकाका अध्यक्ष भीम लुइँटेलले बताए ।

उनले कचनकवलभित्र रहेका तीनवटा सामुदायिक वन उपभोक्ता समितिले छ हेक्टर जमिनमा बेसार खेती गरिरहेको जानकारी दिए । गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोग र सहकार्यमा उनले माइकेनियाँ झारको नियन्त्रण हुने र हात्तीले समेत नबिगार्ने हुँदा बेसार खेती थालिएको बताए । उनले सामुदायिक वनकै अतिविपन्न परिवारका उपभोक्तालाई छानेर वनमा बेसार खेतीका लागि प्रोत्साहन गर्ने गरेको बताए । हाल वनमा बेसार खेती राम्रोसँग फस्टाएको उनको भनाइ छ ।

उनका अनुसार कचनकवल गाउँपालिकाभित्र रहेका दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले क्रमशः चार हेक्टर र एक/एक हेक्टर जमिनमा बेसारको व्यावसायिक खेती गर्दै आएका छन् । यसैगरी हल्दिबारी क्षेत्रका रातमाटे र पाथीभरा सामुदायिक वनले समेत बेसार खेती गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ हल्दिबारीका अध्यक्ष हेमराज काफ्लेले बताए । उनका अनुसार वन क्षेत्रमा परीक्षणका लागि चार–चार कठ्ठामा बेसार खेती गरिएको छ । उनले बिरुवा लगाएको एक वर्षमै उत्पादन दिन थालेको जनाउँदै भने, ‘अन्य वन क्षेत्रमा पनि लगाउने तयारी गरिरहेका छौँ ।’

हात्ती र माइकेनियाँ झारका कारण आजित भएका सामुदायिक वनहरु बेसार खेतीका लागि प्रेरणा दिने फरेस्ट एक्सनसँग यतिबेला खुसी छन् । डिभिजन वन कार्यालय झापाले अन्य सामुदायिक वनहरूले पनि खाली रहेको अर्थात् साना बिरुवा भएको क्षेत्रमा बेसार खेती गर्दा उपयुक्त हुने जनाएको छ । कार्यालयका निमित्त प्रमुख जीवनकुमार पाठकले बेसार खेतीका लागि जमिन खनजोत गर्दा सो क्षेत्रमा वर्षौँदेखि उम्रिन नसकेका साल, हर्रो, बर्रो, कदमलगायतका बिरुवासमेत उम्रिएको बताए ।

जिल्लामा कृषि सहकारी, निजी क्षेत्रका सङ्घसंस्थाले विगतदेखि नै व्यावसायिक बेसार खेती गर्दै आए पनि सामुदायिक वनहरुले भने पहिलोपटक खेतीको अभ्यास गरेको उनले जानकारी दिए । जिल्लामा बेसारको व्यावसायिक खेती गर्ने पहिलो दमक नगरपालिकास्थित मानसरोवर कृषि सहकारी संस्था रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । सो सहकारीले आर्थिक वर्ष २०७६र७७ बाट बेसार खेतीको सुरुआत गरेको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले जिल्लामा गत आर्थिक वर्ष २०७८र७९ मा दुई सय २० हेक्टर क्षेत्रमा बेसारको व्यावसायिक खेती भएको बताए ।

उनले केन्द्रले बेसार खेतीको प्रवद्धन गर्ने उद्देश्यले यस वर्षदेखि किसानलाई प्रोत्साहनस्वरुव अनुदान दिने बताए । उनले बलौटे दोमट, कालो, रातो र चिम्ट्याइलो माटोमा बेसारको खेती हुने गरेको बताए । पानी नजम्ने जग्गामा चैत र वैशाख महिना बिरुवा लगाउन उपयुक्त हुने उनको भनाइ छ । बेसार हाम्रो दैनिक भान्सामा मसलाका रूपमा प्रयोग हुने एक प्रकारको धुलो हो । बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणको उत्तम स्रोतको रुपमा लिने गरेको पाइन्छ ।

सम्बन्धित समाचार