रोटरी क्लबद्वारा कलवलगुढी प्राविलाई ल्यापटपसहित शैक्षिक सामग्री वितरण
भद्रपुर । मानवीय सेवामा सक्रिय सामाजिक संस्था रोटरी क्लब अफ भद्रपुरले भद्रपुर १० स्थित कलवलगुढी प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमका बीच क्लबले एक थान ल्यापटप कम्प्युटर सहित शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।
क्लबको टीइएसीएच कार्यक्रम अन्तर्गत क्लबले एडप्ट गरेको स्कुललाई हैप्पी स्कुल बनाउन डिष्टीक ग्रान्डवाट प्राप्त सहयोगले सो विद्यालयलाई खेलकुद सामाग्री, स्टेशनरी, कल्चरल पोसाक समेत वितरण गरेको बताइएको छ ।
क्लबका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कल्पना नेपालले सामुदायिक विद्यालयलाई गरेको सहयोगको लागि क्लबलाई धन्यवाद दिँदै प्राप्त सामाग्रीहरूको सही सदुपयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीसहित क्लबका संस्थापक अध्यक्ष किशोर पराजुली, पूर्व अध्यक्षहरू राजकुमार पोखरेल, विगत ओझा, तथा विनोद चापागाईँ, प्रदीप सरावगी, कविन राई लगायत रोटरीयनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रोट्याक क्लब र इनर व्यहील क्लब भद्रपुरले गरेको थियो ।