क्यारियर काउन्सिलिङ्ग आजको आवश्यकता
जनक बस्नेत । भर्खरै कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ, जसमा इटहरी आसपासको प्लस९टु कलेजबाट विज्ञान विषय लिएका सुमन बराल (नाम परिवर्तन) ले ८२ प्रतिशत अङ्क ल्याउँदै उत्तीर्ण भए अब उनको चाहना काठमाडौँमा गएर कम्प्युटर साइन्स पढ्ने अनि वैदेशिक अध्ययनका लागि फ्रान्स अथवा क्यानडा जाने । नेपालमा फर्कने कि नफर्कने भन्ने कुरामा उनी प्रस्ट छन चाडपर्व र बेला मौकामा फर्कने । उनी अरू साथी तथा आफन्त जस्तो उता गएपछि चटक्क आफ्ना साथीभाइहरू र आफन्तलाई बिर्सन चाहँदैनन् बेलाबेला फोन सम्पर्क गरिरहने सोच छ उनको ।नेपालको ४०/४५ हजार तलबले जीवन यापन गर्न कठिन हुने हुँदा गुणस्तरीय जीवनका लागि बिदेसिनै पर्ने सोच छ उनको ।सुमन अहिलेको युवा पुस्ताका प्रतिनिधि पात्र हुन उनी जस्ता लाखौँलाख सुमनहरू आफ्नो सपनाका खोजीमा दैनिक देश छोडिरहेका छन ।
शिक्षा मन्त्रालय अन्तर्गतको नो अब्जेक्सन सर्टिफिकेट (NOC) शाखाका अनुसार यस वर्षको जनवरी १ देखी जुलाई ४ सम्ममा ८२४०९ जनाले वैदेशिक अध्ययनका लागि अनुमति प्राप्त गरेका छन । (NOC) शाखाका प्रमुख हरि प्रसाद निरौलाका अनुसार यो सङ्ख्या गत वर्ष २०२१ को जनवरी देखी डिसेम्बर सम्मको तथ्याङ्क भन्दा झन्डै झन्डै दोब्बर रहेको छ । उक्त अवधि भित्र ४५४४३ जनाले अध्ययन अनुमति प्राप्त गरेका थिए । (अनलाइन खबर जुलाई ५) सोही मन्त्रालयका अनुसार गत ६ महिनाको तथ्याङ्क हेर्दा दैनिक १०००/१२०० जनाले वैदेशिक अध्ययन अनुमति पत्र प्राप्त गरिरहेका छन (अनलाइन खबर मार्च ३) ।
वैदेशिक रोजगार विभागका प्रमुख गिरमान थापालाई उद्धृत गर्दै उल्लेख गरेअनुसार नेपालमा वैदेशिक अध्ययन अनुमति लिनेको सङ्ख्या ३२३९७२ रहेको छ । विगत ८ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने यो सङ्ख्या ७ गुणाले बढेको छ । (६ सेप्टेम्बर २०२२, नेपाली संक्षेप) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ३ लाख भन्दा बढी नेपालीहरू विश्वका विभिन्न बिश्वबिद्यालयहरुमा अध्ययन गरिरहेका छन । यद्यपि सरकार सँग उपरोक्त मध्ये कति विद्यार्थी अध्ययन पुरा गर्दछन् कति बिचैमा छाड्छन् र कति स्वदेश फर्कन्छन् भन्ने ट्याकिङ्ग प्रणाली छैन । ६४ देशमा अध्ययनका लागि यो वर्ष विद्यार्थीले ११३००९ नो अब्जेक्सन लेटर (NOC) प्राप्त छन । (भवानिश्वर गौतम नयाँ पत्रिका २०७९।०३।२८) । ज्येष्ठ सम्मको ११ महिनामा वैदेशिक अध्ययनमा ५९ अर्ब ९९ करोड ३४ लाख बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार वैदेशिक अध्ययनमा यसपालि बाहिरीको रकम अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा झन्डै १६० प्रतिशतले बढी हो ।
वैदेशिक अध्ययन र रोजगारीबाट प्राप्त रेमिटेन्स नै देशको अर्थतन्त्रको मेरुदण्ड भएको छ । वैदेशिक अध्ययन आफैमा राम्रो कुरा हो जसले फराकिलो विश्वलाई बुझ्न मद्दत गर्दछ, विभिन्न फरक राष्ट्रियतालाई बुझ्दै तिनको सम्मान, पारस्परिक भावना, सांस्कृतिक आदान प्रदान र सु-सम्बन्धले आपसी विश्व बन्धुत्व र भातृत्वको बढवासँगै आफ्नो जातिभन्दा माथि देशको सिमाना भन्दा माथि समग्र मानवजाती भन्ने भावको समेत बोध गराउँछ ।विभिन्न भाषा संस्कृति, राष्ट्र राष्ट्रियता,जाती धर्म र बिचारको सम्मान र सहअस्तित्वको निर्माण गर्ने सोचको विकास गराउँछ । विकसित ज्ञान र प्रविधिको स्वदेशमा समुचित प्रयोग हुन सकेमा देशले आधुनिक र समृद्ध बन्न धेरै समय पर्खनु पर्दैन ।
यसरी ज्ञान विज्ञान र प्रविधिले सु९सज्जित बनेर संसारलाई बुझेर, यही देशको लालीगुराँसको लालीमा रोमाञ्चित हुँदै चमेली अनि बाबरीको वासना र यही माटोको सुगन्ध लिँदै आफ्ना भगिरथी हातहरूलाई यही खियाउने सङ्कल्प गरे त कुनै समस्या नै हुने थिएन तर समस्या यहीनेर छ सुमन जस्ता लाखौँ आजका होनहार युवाहरूको आँखामा देश छैन, सपनामा देश छैन, भावनामा देश छैन अनि रहरमा देश छैन । नेपालमा भविष्य छैन भन्दै सुमन जस्ता कर्णधारहरू वैदेशिक अध्ययनको यात्रामा लामबद्ध छन । सुमन जस्तै उनीहरूको चाहाना सकेसम्म र मिलेसम्म उतै स्थायी रुपमा बसोबास गर्नु नै रहेको छ ।
के सुमनले देखेजस्तो र बुझेजस्तो नेपालमा केही छैन त रु रोजगारी र करियर विकासका अवसरहरू छैनन् रु अध्ययनका लागि गुणस्तरीय कलेजहरू छैनन् रु गुणस्तरीय जीवनको लागि बिदेसिनै पर्ने हो रु गुणस्तरीय जीवन नेपालमा बाच्न सकिँदैन ? के हो जीवनको सुन्दरता रु यी प्रसङ्गहरूको सन्दर्भमा सुमनलाई नेपालमा रोजगारी पाए पनि तलब थोरै हुन्छ त्यसैले जीवन यापन कठिन हुन्छ भन्ने कुरा मात्र थाहा छ । अर्को तर्फ वैदेशिक अध्ययनका लागि खुलेका हजारौँ परामर्श संस्थाहरूले वैदेशिक अध्ययन र त्यसको सहज यात्राका सन्दर्भमा विद्यार्थीहरूलाई परामर्श दिइरहेका हुन्छन् र सो सम्बन्धमा सुमन लगायतलाई थाहा छ की कुन देश जाने, कति खर्च लाग्ने, कति वर्ष पछि पिआरको लागि आवेदन दिन पाउने आदी आदी ।
नेपालमा पनि रोजगार दाता, सरकारी नथा निजी क्षेत्र संस्थान,प्राधिकरण,निगम, बैङ्क तथा वित्तीय संस्था, सेना, प्रहरी लगायतका सबै क्षेत्रमा विद्यार्थीहरूलाई क्यारियर परामर्श हुने भए धेरै सुमनहरूले कुलमान घिसिङ बन्ने बाटो रोज्थे होला । कोही राजदूत भएर परराष्ट्र सम्बन्ध राम्रो बनाउने सपना देख्थे होला । कोही न्यायधिस, कोही मुख्य सचिव,सचिव,गभर्नर,प्रधान सेनापति,आइजिपी। कोही हरिवंश, मदनकृष्ण त कोही बालेन, हर्क साङ्गपाङ्ग बनेर देश बनाउँछु भन्थे होला अनि कतिपय विदेश गएर अध्ययन गरेर महावीर पुन बनेर फर्कन्छु भन्थे होला अनि कोही डा।स्वर्णिम वाग्ले । बेलैमा उद्यमशीलता, ऋण सुविधा, अनुदान,व्यापार व्यवसाय जस्ता कुराहरूको परामर्श भएमा कति सुमनहरूले आफ्ना बाबुको गाई गोठलाई विशाल गाई फाम बनाउने सपना देख्थे होला, बाख्रा फाम,फलफूल खेती,तरकारी खेती साना उद्योग र ठुला उद्योग अनि त्यसै बाट धेरै सुमनहरू खेतान बन्थे होला अनि विनोद चौधरी पनि ।
त्यसैले वैदेशिक अध्ययनमा जानेको बाढीलाई कम गर्न र अध्ययन समापन पश्चात् आफ्नै देश फर्कने वातावरण निर्माण गर्न करियर काउन्सिलिङ्गको अत्यन्त जरुरत रहेको छ ताकि युवाहरूले देशमै केही गर्ने सपना देखुन् । उनीहरूको आँखामा, हृदयमा, मन मस्तिष्कमा अनि मुटुको हरेक स्पन्दनमा देश धड्कियोस् तब मात्र बन्छ देश आफ्नै पौरख अनि मेहनतले । कवि भूपी शेरचनले भनेजस्तै हामी त जन्मँदै आँखामा गुराँस र हत्केलामा सुनगाभा लिएर जन्मिएका छौ ।
जनक बस्नेत, धनकुटा (लेखकको निजी बिचार)