२०८३ बैशाख २१ गते , सोमबार

सन्दीप लामिछानेले किशोरीलाई बलात्कार गरेको आरोप

sajilo news
झापा
२०७९ भाद्र २२ गते , बुधबार
सन्दीप लामिछानेले किशोरीलाई बलात्कार गरेको आरोप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ।  क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन्। 

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी प्रहरी उच्च स्रोतको दाबी छ। 

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरी अधिकारी औपचारिक रूपमा बोल्न मानेनन्। 

आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए।

सम्बन्धित समाचार