२०८० मंसीर २० गते , बुधबार

सन्तानको खुसी, सुख र संवृद्धिका लागि बुबाको एक्लो सङ्घर्ष

sajilo news
झापा
२०७९ भाद्र १५ गते , बुधबार
सन्तानको खुसी, सुख र संवृद्धिका लागि बुबाको एक्लो सङ्घर्ष

जनक बस्नेत । हरेक वर्ष कुशे औशी बुबाको मुख हेर्ने दिन आए पनि प्रायजसो बुबासँगै भइने हुनाले कहिल्यै खास महत्त्वको लाग्दैन तर बुबाको विराटता अनि विशालता सधैँ विशेष र खास महत्त्वको छ । नियतिले ४० वर्षको उमेरमा आमालाई चुँडेर लगे पनि त्यो भन्दा ५ वर्ष पहिले देखी नै ब्रेन ट्युमरको अपरेसनपछि आमा प्यारालाइसिस भएपछि करिब करिब अहिलेको मेरै उमेरबाट सुरु भएको बुबाको एक्लो सङ्घर्ष-सन्तानको खुसी सुख र संवृद्धिका लागि आज पर्यन्त जारी नै छ ।

ऊर्जा,उत्साह,सहनशीलता,ईमान्दारीता र सङ्घर्षका लागी हाम्रो प्रेरणाको श्रोत बुबा नै हो । सन्तानको भविष्य उन्नति, प्रगति र खुसीलाई नै आफ्नो खुसी ठानेर आफ्ना व्यक्तिगत रहर इच्छा चाहानाहरूलाई त्याग गर्न सक्ने बुबाको योगदान माया र भावनाको व्याख्या शब्दमा त गर्न सकिँदैन यद्यपि आफ्नो यो विशेष पवित्र दिनमा बुबाप्रति समर्पित गर्दै यो प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

२०६२ साल पौषमा आमाले धर्ती छोड्नुभयो, फागुनमा छोरी जन्मिइन ।मैले बीए सकेको थिए, उमेर २०-२१ वर्षको थियो । त्यो बेला म हिलेमा मनकामना बोर्डिङ स्कुलमा पढाउँथे । भाइ त्यो बेला धनकुटामा १०ं२ पढ्दै थियो । घरमा सानी छोरी, अर्धाङ्गिनी अनि बुबालाई छोडेर म २०६३ बैशाख अन्तिममा काठमाडौँ हिँडे । रत्न राज्य क्याम्पसमा एमए अङ्ग्रेजीमा एड्मिसन गरेको थिए कतै बोर्डिङ पढाउँदै दाजुभाइसँगै बसेर पढ्ने लक्ष थियो । कीर्तिपुरमा युवराज दाइ र प्रेम दाइ हुनहुन्थ्यो उहाहरुसँग बसे । काठमाडौँ पुगेको दिनदेखि विज्ञापन हेर्दै स्कुलमा आवेदन दिन थाले र बिहानको टाइममा क्याम्पस पनि गइरहे ।

त्यस्तै क्याम्पस गएको तेस्रो दिन हुँदो हो परिचयकै क्रममा एउटा सँगै बेन्चमा बस्ने साथीलाई आफू पढाउन स्कुल खोजिरहेको कुरा सुनाए । त्यसको १ घण्टा पछि त्यो साथीले सेरेन हिल सेकेण्डरी बोर्डिङ स्कुलमा माविको लागि इपीएच पढाउने शिक्षक आवश्यक छ त्यहाँ जानुभन्यो म कलेज सकेर त्यही दिन साखु जान हिँडे । उही साथीले बताएअनुसार रत्नपार्क गएर रमपम ४ नम्बरको माइक्रो चढे ।काठमाडौँमा म नयाँ थिए साखुत टाढै रहेछ । चाबहिल आइपुगेदेखि साखु कति बेला पुगिन्छ भनेर सोध्दा सोध्दा बल्ल बल्ल सुन्दर हरियाली बिचमा रहेको स्वस्थानीमा वर्णित पवित्र साली नदी किनारको संखरापुर नगर साखु आइपुग्यो । मलाई झन्डै झन्डै धनकुटै पुगेजस्तो लागिराथ्यो ।

उक्त स्कुलमा प्रिन्सिपल बुद्धि कार्की सरसँग भेट गरे । उहाँले ९ र १० कक्षालाई पढाउन लगाउनु भयो जागिरको प्रेसर भएपनी डर लागेन किनभने त्यहाँ पढाएर मसँग आफूलाई पढ्नको लागि समय हुँदैनथ्यो म कलेज जान भ्याउँदैनथे । म आफ्नो अध्ययन अनि जागिर सँगै लैजान मिल्ने वातावरणको खोजीमा थिए । त्यसकारण खासै स्कुलले नबोलाइदिए हुन्थ्यो जस्तो लागेको थियो । २ दिनपछि उक्त स्कुलको प्रिन्सिपलले मलाई फोन गर्नु भयो र पढाउन आउनु भन्नुभयो र ६५०० तलब दिने कुरा गर्नुभयो तर म दोधारमा परे नजाऊ त्यति सजिलै आफ्नै प्रयासमा काम पाए, धनकुटाको हिलेमा निमाविमा मात्र पढाएको थिए त्यहाँ मावि तलब पनि ठिकै थियो पढाउन जाऊ मेरो पढाई सँगै लान सक्ने अवस्था हुँदैनथ्यो फेरी साखु टाढा पनि थियो । कलेज जान पाउने अवस्था थिएन तर जानुपर्छ बिचमा अन्य कुराहरू मिलाउँदै गरौला भनेर मैले पढाउन जाने निर्णय गरे ।

भाइको प्लस टु सकियो साउनमा भाइलाई काठमाडौँ बोलाए । कोठा खोजे दाजुभाइ बस्न थाल्यौ । सुमना दिदी जो मेरो लागी सधैँ श्रद्धेय र सम्मानको पात्र हुनुहुन्छ।उहाँकै घरछेउमा कोठा थियो । भाइको कलेज सुरु भएको थिएन । म बिहानै स्कुल हिँड्थे बेलुका मात्र फर्कन्थे । एउटा मोबाइल थियो त्यो भाइलाई छाडिदिन्थे र स्कुलबाट दुई तिन पटक फोन गर्थे । दिनभरि एक्लै कोठामा उ पनि पत्रिकामा हेर्दै कामको खोजी गर्न थालेछ ।

मैले त्यस्तो नगर भने तर उसले मलाई तँ दिन भरी काम गर्छस् तेरो पनि क्यारियर छ तेरो यो अवस्थामा म चाही कसरी आनन्दले पढ्न सक्छु रु त्यसैले म पनि काम गर्छु भन्यो । त्यो कुराले मलाई असह्य बनायो किन भने म साखुमा पढाउँदै आफू तत्काल एमए सक्न नसके पनि भाइ पढ्छ भन्ने विश्वास थियो। भाइ १२ कक्षा सकुन्जेल सम्म कहिल्यै दोस्रो भएको थिएन । म त्यसको निरन्तरमा हर तरहले सहयोग गर्छु भन्ने थियो तर जब मैले बुझे भाइको करियर प्रति म जति चिन्तित छु त्यो भन्दा बढी भाइ म प्रति चिन्तित छ भन्ने बुझेपछि अब भाइ पनि काम नगरी छाड्दैन म पनि काम, हामी दुवैको अध्ययन सोचेजस्तो अगाडी बढ्दैन भन्ने मलाई लाग्यो र मैले आफ्नो बाटो बदल्ने निर्णय गरे ।

दसैँमा घर आएपछि भाइ घरमै बस्यो ।त्यति बलेला सम्म भाइको १२ को रिजल्ट आएको थियो। भाइले भाषा उच्च मावि ब्याच टप गर्‍यो । डा. विनोद गुरागाईँ (हाल प्राध्यापक अमेरिका) मेरो प्रिय साथी उसले टियु टप गरेको थियो र भाइ उसैलाई आदर्श मान्दै उसकै पत्रिकामा छापिएको फोटोको कर्टिङ्ग आफ्नो डायरीमा राख्थ्यो । पौषमा आमाको वर्ष दिनको काम गर्न म घर आए भाइ घरमै थियो छोरी हुर्कँदै दिइन। श्रीमती खुसी नै थिइन सायद एक्लोपन महसुस गर्दै बेखुसी हुने फुर्सद पनि थिएन नत दुखेसो र गुनासो‘‘। । घरमा फोन थिएन । माथि राजु दाइकोमा थियो । १५ दिनमा १ पटक कुरा हुन्थ्यो, वरिपरि सबै जनाको अगाडी बोल्नुपर्थ्यो । के छ सन्चै छ ? नानीलाई कस्तो छ‘ यस्तै यस्तै पुरै औपचारिक ।

वर्ष दिनको काम सकेर म काठमाडौँ फर्किन लागे । भाइ कलेज लागेपछि मात्र आउने भयो । हिलेबाट चण्डिका ट्राभल्स रात्रि बस दिनको १ बजे काठमाडौँको लागि छुट्थ्यो । बुबा हिलेसम्म पुर्‍याउनु आउनु भयो ।गाडी छुट्ने समय अलिकति बाकी थियो, हिले बजारको बिचतिरको एउटा मिठाई पसलमा बुबा र म गफ गरेर बस्यौ । मैले २ वटा रसबरी खाए । बुबालाई मैले आफ्नो बदलिएको योजना सुनाए र बुबालाई हालकै अवस्थाबाट आफू पनि पढाई अगाडी बढाउन नसक्ने र भाइको पनि उस्तै अवस्था हुने हुँदा आफू थाकेको र अब विदेश जान्छु भने । आमाको उपचार र ५ वर्षसम्म प्यारालाईज भएर आमा थलिँदा घरको अवस्था नाजुक बनेको थियो, आवश्यकता र अवस्थाले अब यही बाटो नै उपयुक्त हुने कुरा मैले बुबालाई सुनाए । बुबाले सजिलै अहिले नआत्तिनु केही बितेको छैन २/४ वर्ष अरू सङ्घर्ष गर यही गर्न सकिन्छ बिस्तारै सबै राम्रो हुन्छ हरेस नखाऊ अहिले मलाई केही चाहिएको छैन भन्नुभयो । प्रेमले सम्झाउनु भयो ।अब फेरी म नयाँ उमंग,जोस र उत्साह लिएर काठमाडौँ हिँडे । संयोग मान्नुपर्छ हिलेमा सधैँ चण्डिका ट्राभल्स हुन्थ्यो त्यो दिन न्यु चण्डिका ट्राभल्स थियो ।

अर्को महिना माघमा सशस्त्र प्रहरी निरीक्षक भर्ना खुल्यो । हाल अ.प्रा/.प्र.ना.म.नि.दिनेश अमात्य सर त्यो बेला डिएसपी हुनुहुन्थ्यो उहाँले मलाई फर्म खुलेको र फर्म भरेर तयारी गर्न सुझाउनु भयो । म त्यसकै तयारीमा लागे अर्को तर्फ साखुबाट स्कुल बदली गर्ने तयारी गरे । स्कुल बदली गर्न शैक्षिक सत्र सक्नु पर्थ्यो । बिचमा स्कुल छाड्दा तुरुन्तै शिक्षक नपाइने हुँदा स्कुल प्रति धोका हुन्थ्यो । फलामे ढोका भनेर चर्चित एसएलसीकै जमाना थियो । शैक्षिक सत्र सकिएपछि चैत्रबाट पुरानो बानेश्वर स्थित द सिटी एकेडेमीमा पढाउन थाले । उता सप्रनिको छनौट परीक्षामा पनि सहभागी भइरहेको थिए । सप्रनिमा छनौट नभए पनि काम गर्ने स्कुल र आफ्नो कलेज नजिकै भएकोले अब आफ्नो गन्तव्य त्यति टाढा छैन भन्ने आत्मविश्वास बढेको थियो । सप्रनि छनौटका विभिन्न चरणका परीक्षाहरू पास गर्दै गएपछि त्यता पनि भइन्छ भन्ने आत्मविश्वास बढ्दै गयो । अन्ततः सशस्त्र प्रहरी निरीक्षकमा छनौट भई नियुक्ति लिए । यहीबाट जीवनको दोस्रो घुम्ती सुरु भयो ।

भाइले सहज ढङ्गले पढ्यो नेपाल कमर्स क्याम्पस मीन भवनबाट ब्याच टप गर्दै बिबिएस सक्यो । निजामतीको लेखा अधिकृतमा नाम निकाल्यो । २ वर्षको अध्ययन छात्रवृत्ति पाएर जापान गयो । एमबिएस,एमपिए,एमबिए र एलएलबि गर्‍यो र मेहनत गरिनै रहेको छ । अगाडिको क्यारियरको लागि ।

यो सबैको श्रेय हामी बुबालाई दिन चाहन्छौ । सायद हिलेको त्यो मिठाई दोकानमा बुबालाई मैले विदेश जान्छु भन्दा ठिकै छ जाउनत राम्रो म्यानपावर विश्वासिलो एजेन्ट खोज अथवा वल्लो पल्लो तल्लो माथ्लो कसैलाई भिजा पठाइदिनू भन भन्नु भएको भए सायद जीवनले फरक मोड अवश्य लिन्थ्यो । त्यसैले बुबाको सोच चेतना र सपनाले नै आज हामी यहाँ छौ । बिदेसिने कतिको बाध्यता होला कतिपयका रहर पनि छन कति पारिवारिक दबाब र प्रभावमा पनि बिदेसिने छन । म कामना गर्दछु जो बाध्यताले बिदेसिएका छन तिनलाई नेपालमै रोजगारीको वातावरण बनोस् । जो आफ्ना खेतबारी बन्जर बनाएर बिदेसिँदै छन तिनलाई हाम्रै बुबाले जस्तो सबैका बुबाले सङ्घर्ष गर्न प्रेरित गरुन् । माया गरुन् विश्वास गरुन् साथ दिउन् ।

कुशे औषी बुबाको मुख हेर्ने दिनको सबैमा हार्दिक शुभकामना । ९५ वर्षको उमेरमा पनि चिटिक्क परेर दौरा सुरुवाल स्टकोट ढाका टोपी कम्मरमा सेतो पटुका बाँधेर खुकुरी भिर्ने अनि गिजा देखाएर मुसुक्क हाँस्ने हाम्रा स्वर्गीय हजुरबुबा समेतलाई सम्झँदै श्रद्धा सुमन अर्पण गर्दछु । यो लेखिरहँदा म बारम्बार सम्झिरहेको छु ।मेरा प्यारा साथीहरू किशोर राज अधिकारी, सुनिल न्यौपाने, विनोद पौडेल, उपेन्द्र नेपाल, गौरव कार्की, राजु राई, चन्द्रे भन्यो भने रिसाउँछ चन्द्रमणि चौलागाई ।

लेखक बस्नेत सशस्त्र प्रहरी निरीक्षक हुनुहुन्छ ।

सम्बन्धित समाचार