हाम्रो भद्रपुर नगर – केही पुराना र नयाँ सरोकार
यसो युट्युब हेर्दै थिए, पाँच वर्ष पहिला स्थानीय तहको चुनाव हुँदै गर्दा त्यतिखेर नेकपा एमालेको तर्फबाट झापाको भद्रपुर नगरपालिकाका लागि नगर प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बन्नु भएका क्रमशः जीवन कुमार श्रेष्ठ र चन्द्रा श्रेष्ठले सूर्योदय टेलिभिजनको ‘सन्दर्भ चुनाव’ कार्यक्रममा संयुक्त रुपमा दिनु भएको एउटा अन्तर्वार्ता देखा पर्यो ।
वहाँहरू दुवै जनाले त्यतिखेर भद्रपुरवासीको विश्वास मात्र जित्नु भएन चुनाव पनि जित्नु भएको थियो । अर्थात् वहाँहरू दुवै जनालाई भद्रपुर नगरको प्रमुख र उपप्रमुखका रुपमा पाँच वर्ष सम्मका लागि भद्रपुर नगरवासीहरूको सेवा गर्ने सौभाग्य पनि प्राप्त भएको थियो । संयोग पनि कस्तो पर्यो भने, वहाँहरूको त्यो पाँच वर्षको कार्यकाल केही समय पहिला मात्र पुरा भएको छ र अहिले वहाँहरू दुवै जना भद्रपुर नगरको पूर्व नगर प्रमुख र उपप्रमुख बन्नु भएको छ । यस्तो अवस्थामा, युट्युबमा भेटिएको यो अन्तर्वार्ता पुरानै भए पनि, वहाँहरूले त्यतिखेर के कस्ता कुराहरू वा प्रतिवद्धाताहरु जनाउनु भएको रहेछ सुनिहालौँ न त भन्ने एउटा कौतुहलता मेरो मनमा जागे सँगै उक्त अन्तर्वार्ता मैले सुरु देखि अन्त्य सम्म नै हेरे ।
उक्त अन्तर्वार्ता भद्रपुर नगरवासीले भावनात्मक हिसाबले जनतासँग एकाकार हुन सक्ने । हरेक भाषा, हरेक संस्कृति, हरेक विविधता भित्र नाच्न सक्ने, बाँच्न सक्ने, सुखको बेलामा दुःखको बेलामा जनतालाई साथ दिन सक्ने, एउटा इमानदार जननेताको चाहन गरेको र नगरवासीको उक्त चाहनालाई आफूले पुरा गर्ने । नगरवासीलाई सुशासनको प्रत्याभूति दिलाउने तथा भ्रष्टाचार रहित आर्थिक पारदर्शिता र नैतिकवान् आदर्श चरित्र प्रस्तुत गरेर आम नगरवासीको मन जित्ने । महेशपुर तथा पृथ्वीनगरका जनतालाई सहज आवागमनका लागि नगर बसको व्यवस्थापन गर्ने । र त्यसमा नगरका आमाहरू, ज्येष्ठ नागरिकहरूलाई भाडा दरमा केही सहुलियतको व्यवस्था समेत प्रदान गरिने लगायतका प्रतिबद्धताहरू गरिएको रहेछ ।
त्यसपछि वहाँहरू, निर्वाचित भइसकेपछि ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ति र समृद्धि सहितको भद्रपुर सहर’ भन्ने नारा राखेर सुरु भएको वहाँहरूको पाँच वर्षे कार्यकालको प्रथम ऐतिहासिक नगर सभाबाट स्वीकृत गरिएको १२६ पृष्ठको नीति तथा कार्यक्रम भित्र नगर क्षेत्रभित्र बिग्रिएका सडकको तत्कालै मर्मत गर्नका लागि औजारसहितको विशेष कार्यदल गठन गर्ने, युवा स्वरोजगार कार्यक्रमहरू सञ्चालन गर्ने, रोजगारीका अवसरमा वृद्धि गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षामा जोड दिने, निजी विद्यालय र सामुदायिक विद्यालयको पाठ्यक्रम एकै प्रकारको बनाउने, नगर क्षेत्रलाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गर्ने, नगरपालिका भित्रका सडकका दुवै किनारा वृक्षारोपण गर्ने, विमानस्थल, अस्पताल, उद्यान लगायतका सार्वजनिक स्थलहरूमा फ्री वाइफाइको व्यवस्था गर्ने, जेष्ठ् नागरिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने, ज्येष्ठ नागरिक मिलन चौतारीको स्थापना गर्ने, लगायतका अनेकौँ महत्त्वपूर्ण कार्यक्रमहरू समेटिएका रहेछन् ।
गएको पाँच वर्ष भित्रमा भद्रपुर नगरको पुरानो टिमले आफ्नो नीति तथा कार्यक्रम भित्र समेटिएका कामहरू सम्पन्न गर्न कत्तिको सफल भयो ? चुनावका समयमा नगरवासी सामु गरेका प्रतिबद्धता तथा सङ्कल्पहरू पुरा गर्नमा पुरानो टिम कत्तिको खरो उत्रन सक्यो ? आफ्नो कार्यकाल पुरा गरेर बाहिरिँदै गर्दा पुरानो टिमले आफ्ना सक्सेसरहरुलाई के कस्ता महत्त्वपूर्ण परियोजनाहरू हस्तान्तरण ग¥यो ? यी विषयमा यो पङ्तिकारको कुनै टिप्पणी छैन । नगर बसको व्यवस्था हुन नसके पनि महेशपुर पृथ्वीनगर सम्म पुग्ने सडकहरूको विकास भएको मानेको छु । खैर, यी सबै कुराको मूल्याङ्कन तथा लेखाजोखा सिङ्गो भद्रपुर नगरवासीले भने पक्कै पनि राखेको हुनु पर्छ । यो सँगसँगै तत्कालीन जनप्रतिनिधि ज्युहरू स्वयमले पनि आ–आफ्नो छातीमा हात राखेर हाम्रो पाँच वर्षे कार्यकालमा सिङ्गो नगर तथा नगरवासीको प्रगति÷उन्नतिको क्षेत्रमा हामीले हाम्रो सेख पछि पनि नगरवासीले सम्झन योग्य के कस्ता काम गरेछौँ भनेर आत्मसमीक्षा गर्न सके झनै राम्रो ।
खैर, अहिले भद्रपुर नगरको बागडोर नयाँ टिमको हातमा पुगेको छ र उक्त टिमको नेतृत्व गर्ने अवसर नेपाली काँग्रेसका गणेश पोखरेललाई प्राप्त भएको छ । चुनावका समयमा आफू वा आफ्नो टिमले गरेका प्रतिबद्धता पुरा गर्ने मात्र हैन अघिल्लो टिमले सुरु गरेका वा सुरु गर्न खोजेका राम्रा कामहरूलाई निरन्तरता दिने अथवा पुरा गर्ने जिम्मेवारी पनि अहिलेको नयाँ टिमको काँधमा थपिएको छ ।
मिनेट, घण्टा, दिन, महिना र वर्ष गर्दै यहाँहरूको पनि पाँच वर्षको कार्यकाल पुरा हुनलाई धेरै समय लाग्दैन । हरेक मिनेट, हरेक घण्टा, हरेक दिन यहाँहरूका लागि महत्त्वपूर्ण बन्न सक्नु पर्छ ।
धरान उपमहानगरपालिका मेयरले आफूले चढ्ने नगरको गाडी बेचेर धरानको विकासका लागि आवश्यक रोलर किन्ने निर्णय गरेको समाचार अहिले निक्कै चर्चामा छ । यसो भन्दैमा सबै नगरका मेयरहरूले आफूले चढ्ने गाडी नै बेच्नु पर्छ भनेर म भन्दिन । तर नेतृत्वमा इमानदारिता र दृढ इच्छाशक्ति हुने हो भने, असम्भव मानिएका धेरै कामहरू पनि सजिलै गरेर देखाउन सम्भव हुन्छ । यसको उदाहरणका लागि हाम्रो छिमेकी मुलुकमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हामी लिन सक्छौँ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनले गरेको विकास आज सिङ्गो भारतका लागि मात्र नभएर अन्य राष्ट्रहरूका लागि पनि उदाहरणीय बनेको छ ।
हाम्रो भद्रपुर नगर एउटा पुरानो नगरपालिका मात्र हैन, यो झापा जिल्लाको सदरमुकाम पनि हो । यहाँ एयरपोर्ट, अञ्चल अस्पताल, रङ्गशाला, विभिन्न प्रशासनिक कार्यालय, पर्याप्त सङ्ख्यामा स्कुल कलेज, विभिन्न मन्दिर, मस्जिद, देवालय, चर्च तथा पर्यटकीय स्थल लगायतका सबै सुविधाहरू हुँदा हुँदै पनि समृद्धि हासिल गर्ने सवालमा भने आज हाम्रो नगर किन यति धेरै पछाडि परेको छ ? यो प्रश्न मैले गरेको हैन, यो प्रश्न अहिले नगरका हरेक जनप्रतिनिधि स्वयम् ले आफैँलाई गर्न सक्नु पर्छ । यो प्रश्नले तपाईँहरूको रातको निन्द्रा र दिनको भोक पक्कै पनि हर्ने छ ।
हो, भद्रपुर नगरको मुहार फेर्ने सबलमा तपाईँ जनप्रतिनिधिहरूको भोक, प्यास, निन्द्रा हराउनु पर्छ । तब मात्र हाम्रो नगरले समृद्धिको बाटोमा फड्को मार्न सक्छ । नगर प्रतिनिधिका रुपमा उम्मेदवार बन्दै गर्दा हिजो नगरवासी सामु आफूले गरेका प्रतिबद्धता तथा सङ्कल्पहरूलाई पल पल सम्झनु होस् । भोलि यहाँहरूको कार्यकाल सकिँदै गर्दा, नगर भित्रका यी यी कामहरूको सूत्रपात हामीले गरेका हौँ भनेर तपाईँ या तपाईँको टिमले मात्र हैन, सिङ्गो नगरवासी र आउने पुस्ताका लागि पनि यहाँहरूले गरेका कामहरू उदाहरणीय र यादगार बन्न सकुन् । भद्रपुर नगरको नयाँ टिमलाई फेरी पनि शुभकामना !
लेखक : रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार) dhakalrp@gmail.com