झापामा 'नाइरोबी फ्लाई' नामक किराको आतंक, यस्तो छ जोगिने उपाय
झापासहित पूर्वी तराईका क्षेत्रमा नाइरोबी फ्लाई ‘एसिड फ्लाई’ नामक किराले आक्रान्त मच्चाइरहेको छ। उक्त किराले टोकेर उपचारका लागि अस्पताल धाउने मानिसको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन् । किराबाट पीडित बनेको झापाका स्थानीयले बताएका छन् ।
बिर्तामोड निवासी सन्दीप न्यौपानेका अनुसार शरीरका विभिन्न घाउ निस्किएको बताए । किराले कति बेला टोक्यो थाहा छैन तर, शरीरमा जनै खटिरा जस्तै देखिने डढेको घाउहरू निस्किएको न्यौपानेले बताए ।
न्यौपाने जस्तै धेरैले उक्त घाउबाट पीडित बनेको भन्दै सामाजिक सञ्जलहरुको पोस्ट गरेका छन् । गर्मी मौसम भएकाले शरीर घाउ खटिरा निस्किएको हुन सक्ने बताइए पनि ‘एसिड फ्लाई’ नाम किराको टोकाइबाट उक्त संक्रमण फैलिएको चिकित्सकहरूले बताएका छन् ।
वैज्ञानिक नाम ‘पेडिरस एसपी’ रहेको किरा झाड तथा प्रदूषित पानीबाट उत्पन्न हुने र त्यहाँ बस्ने गर्दछ। उक्त किरा साँझ घाम डुबेपछि सक्रिय हुने र बत्तीको उज्यालोले आकर्षित हुने बताइएको छ ।
के गर्छ यो किराले ?
यो किराले टोकेर छालामा विषालु चिज छोड्छ जसले गर्दा छाला सुन्निने, रातो हुने, चिलाउन र २४ देखि ४८ घण्टामा पानी जस्तो फोका उठ्न थाल्छ। यो किरालाई बिटल ब्रिस्टल पनि भनिन्छ। यो किरा मारे पनि यसले विष निकाल्दछ। यसलाई चलाउने बित्तिकै क्यान्थादिन नामक विष छर्दछ।
क्यान्थादिन विष यति धेरै विषालु हुन्छ कि यो मुखमा पर्यो वा खाइयो भने यसले ग्यास्ट्रोइन्टेस्टिइनल ट्रयाक्ट र मिर्गौला खराब गर्न सक्छ। विश्वभर नै खेतमा काम गर्ने किसानहरू यसको सिकार हुन्छन् भने नेपालमा पनि मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई धेरै असर गरेको पाइन्छ।
उपचार
– किराले टोकेको ठाउँमा साबुन पानीले मज्जाले पखाल्ने
– टोकेको ठाउँमा ‘टिन्चर आयोडिन’ औषधी राख्दा विष केही हदसम्म जान्छ।
– टोपिकल स्टेरोइड मलम लगाउँदा बिस्तारै टोकेको ठाउँमा फोका सुक्दै जान्छ। ७ देखि १० दिनसम्म यस्तो दाग रहन्छ।
– धेरै चिलाए एन्टिहिस्टामाइन्स लगाउन सकिन्छ।
‘एसिड फ्लाई’ बाट कसरी जोगिने ?
यो किरा निकै सानो र मसिनो हुने भएकाले लामखुट्टेबाट जोगिन राखेको झुलभित्र पनि पस्न सक्छ। त्यस्तै, यो प्रकाश प्रेमी भएका कारण बत्ती बालेको ठाउँहरूमा आउन सक्छ। यसबाट जोगिन यी केही उपायहरू अवलम्बन गर्न सकिन्छ
१, यो किरा आएको ठाउँमा ‘स्प्रे’ छर्कने
२, घाम जाने बित्तिकै वा अँध्यारो हुन थालेपछि झ्याल ढोकाहरू बन्द गर्ने। यो किरा घाम डुबेको एक घण्टामा सक्रिय हुन थाल्छ। सकेसम्म किराको सम्पर्कमा नजाने
३, किरा छिर्न नमिल्ने खालको झुल लगाउने
४, मनसुनको समयमा किरा धेरै हुने ठाउँहरूमा सिधै बत्तीको मुनि सकेसम्म नबस्ने
५, राति बत्ती निभाए पनि बत्तीको सिधै मुनि नसुत्ने
६, किरा मार्ने तथा समात्ने प्रविधि प्रयोग गर्ने
७, घ्युकुमारी र नरिवलको तेल लगाउने
८, झाडी तथा पानी भएको ठाउँहरू सफा राख्ने।