२०८२ पौष ३० गते , बुधबार

गौरीगञ्ज गाउँपालिकाको बजेट ४७ कराेड २८लाख ८९ हजार

sajilo news
झापा
२०७९ असार १० गते , शुक्रबार
गौरीगञ्ज गाउँपालिकाको बजेट ४७ कराेड २८लाख ८९ हजार

झापाको गौरीगञ्ज गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । गाउँपालिकाको सभा हलमा आज शुक्रबार सम्पन्न एघारौँ गाउँ सभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन ।गाउँपालिकाले ‘ कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दिगो विकाससहित गौरीगञ्जको समुन्नति ‘ मूल नारा तय गरेको छ । गाउँपालिकाले माध्यमिक तह ११ र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र एमबिबिएसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था मिलाउने अध्यक्ष राजवंशीले बताइन् ।

गाउँपालिकाद्वारा सञ्चालित प्रसूति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई नजिकको अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्धि गराउने छ ।

छोरीलाई पनि आर्थिक रूपमा सक्षम बनाउनु पर्छ भन्ने उद्देश्यसहित बैङ्क तथा वित्तीय संस्थामा बाल बचत खाता खोली गाउँपालिकाको तर्फबाट अनुदानको व्यवस्था मिलाउने छ । त्यसैगरी गाउँपालिकाकाले गाउँपालिका वासीलाई सर्पले टोकी बाहिर उपचार गर्न लानु पर्ने अवस्था रहेमा उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था मिलाउने छ । एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरी साझेदारीको रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने छ ।

साथै गाउँपालिकाको गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेको धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा निरन्तरता दिएको छ । एक घर एक दुधालु गाई, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौँ गाउँपालिका माथि लगायतका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ।

त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेकी थिइन । उपाध्यक्ष कुँवरले गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि ४७ करोड २८लाख ८९ हजार ३ सय ७० रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्। गाउँ सभामा आगामी आर्थिक वर्षको आय (व्ययको अनुमान विवरण प्रस्तुत गरेकी हुन् ।

उनले चालू व्यय तर्फ २५ करोड ८६ लाख २३ हजार, पुँजीगत तर्फ २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रुपैयाँ प्रस्तुत गरेकी थिइन । आय तर्फ नेपाल सरकार समीकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान १८ करोड ९३ लाख, राजस्व बाँडफाँड सङ्घीय सरकार ९ करोड ६२ लाख ३२ हजार, प्रदेश सरकार समीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रुपैयाँ र अल्या आन्तरिक श्रोत रु २ करोड ७ लाख रहेको उपाध्यक्ष न्यौपानेले सार्वजनिक गरेकी थिइन ।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७९/८० का लागि गौरीगंज गाउँपालिकाको प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ करोड, पुँजीगत तर्फ २ करोड २५ लाख, कृषिमा ७५ लाख, पशु सेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ करोड, स्वास्थ्यमा १ करोड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पूर्ण सरसफाइमा ३ लाख, सहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ करोड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको सार्वजनिक गरेकी थिइन ।

सम्बन्धित समाचार