बिर्तामोडको बजेट १ अर्ब ३८ करोड ३५ लाख
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।त्यसमा सामाजिक सुरक्षाको रकम समेत समावेश छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोस्रो नगर सभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उक्त बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आयतर्फ सङ्घीय समीकरण अनुदानबाट २३ करोड ६० लाख, सङ्घीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिस्ट्रेसन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने सङ्घीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार,समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।
चालु खर्चतर्फ प्रशासनिक खर्च,कृषि,पशु विकास,शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिइने अनुदान,क्षमता विकास, सीप विकास तालिमहरू तथा लक्षित वर्ग, पुँजीगततर्फ बहुबर्षे तथा क्रमगत योजनाहरूको निरन्तरता, शिक्षा,कृषि,पशु विकास,तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन,मर्मत सम्भार कोष,विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरू, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरूको भवन घेराबारा तथा मर्मत,फोहोर मैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरूमा विनियोजन हुने गरी बजेट प्रस्ताव गरिएको उपप्रमुख सङ्ग्रौलाले बताए ।
चालु आर्थिक वर्ष २०७८/०७९ को कुल वार्षिक बजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएको थियो । जस अनुसार आर्थिक वर्ष ०७८/०७९ को बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्ययमध्ये चालुतर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगततर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ हजार खर्च भएको आय–व्यय विवरण समेत प्रस्तुत गरिएको छ ।
नगर सभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक,नगर शिक्षा विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धी विधेयक पेस गरेकी छन् । उक्त विधेयकमाथि असार २२ गते बस्ने सभामा छलफल गर्ने नगरप्रमुख प्रसाईँले जानकारी दिइन् ।
अधिवेशनमा नगरप्रमुख प्रसाईँले आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नगरले यस वर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,पर्यटन,वन वातावरण तथा विपद् व्यवस्थापन,कृषि पशुपालन,पशुपन्छी,उद्योग,व्यापार,व्यवसाय,श्रम तथा रोजगार,सहकारी,यातायात तथा पूर्वाधार निर्माण,युवा तथा
खेलकुद,कला,साहित्य,भाषा,धर्म,सङ्गीत,संस्कृति,सभ्यता,सामाजिक सुरक्षा,लक्षित समूह,विज्ञान प्रविधि,सूचना सञ्चार,सुशासन,राजश्व तथा वित्तीय श्रोत परिचालनलगायत विविध शीर्षकमा कार्यक्रमहरू समावेश गरेको छ । अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्य रहेको थियो ।