मेची अस्पतालमा बिरामीको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप
भद्रपुर । कुनै पनि रोगीले आफ्नो मन चाहेको चिकित्सक, चिकित्सा प्रतिष्ठानमा उपचार गराउन पाउने उसको नैसर्गिक अधिकार हो । नेपालको संविधानले प्रत्येक नेपालीलाई सो अधिकार प्रदान गरेको छ । तर, झापाको सदरमुकाम भद्रपुरस्थित मेची अस्पतालले व्यक्तिको उक्त स्वतन्त्रतामाथि हस्तक्षेप गरेको पाइएको छ ।
भुक्तभोगीले सुनाए अनुसार, ‘घटना २०७९ असार ३ गतेको हो । भद्रपुर–६ भानुनगर निवासी ७९ वर्षीय एबिसी नसा सम्बन्धी रोगबाट पीडित भएर मेची अञ्चल अस्पताल पुगेँ । अस्पतालमा नसा सम्बन्धी चिकित्सक रहेनछन् । स्थानीय ओमसाई पाथीभरा अस्पतालमा फोन गरेर, त्यहाँ न्युरो चिकित्सक भए नभएको बारे जानकारी लिँदा, भएको जवाफ पाएँ । अनि स्वास्थ्य बिमा काउन्टरमा गएर रेफरका लागि आफ्नो बिमा कार्ड दिएँ ।
काउन्टरले ३ न. कोठामा अर्थोपेडिका डा. समक्ष जानु भनेर कागज र कार्ड दियो । ३ न. कोठामा गएर कुर्सीमा विराजमान डा.साहेबलाई प्रणाम गर्दै रेफर लेटरका लागि बिन्ती बिसाएँ । डा. साहबले मेरो कागज हातमा लिँदै भने, ‘तपाईँसँग नसा सम्बन्धी रोग लागेको भन्ने के प्रमाण छ, देखाउनु होस्, छैन भने एक्स-रे गरेर ल्याउनु होस्, हेर्छु, अनि मात्र हुनसक्छ , नत्र रेफर लेटर दिन्न ।’ आखिर अस्पतालमा न्युरो डा. छैन भने रेफर दिन किन रोक ? ‘जुन गोरुको सीँ छैन उसैको नाम तिखे,’ भन्ने उखान सम्झेँ । डाक्टरका कुरा सुन्दा कन्सिरी त तातेको थियो, तर, संयम गरेर चुपचाप त्यहाँबाट निस्किएँ । अस्पतालका मेसुसँग परिचय भएकाले, मेसु बारकोटी समक्ष गएर सबै बयान सुनाए । उनले तुरुन्तै फोन गरेर ती डाक्टरलाई रेफर लेटर दिन भने । अनि म तर्फ हेरेर भने, ‘जानुहोस् दिनुहुन्छ ।’
पुनः कोठा न. ३ मा जाँदा डा. साहब कोठाबाट निस्कँदै रहेछन् । डा. साहबलाई ‘सर १ रेफर लेटर बनाई दिनु हुन्छ ? ’भन्दै कागज अघि सारे । डा. साहबको कानमा मोबाइल फोन थियो, ‘म बाहिर जाँदै छु पर्खिँदै गर्नुहोस्’ भनेर बाटो लागे । घडी हेरेँ, दिनको ठीक् ११:३० भएको रहेछ । सुगर प्रेसरको रोगी । खाना खाको छैन, आपत् पर्ने अवस्था आउन आँट्यो । १२ बज्यो । डा. साहब आई पुगेनन् । उपचारको लक्षण नदेखे पछि, अनि म पनि बाटो लागे ।’
यो एउटा प्रतिनिधि घटना मात्र हो । वाक्स्वतन्त्रता प्रयोग गर्न सम्भव व्यक्ति भएकाले यो घटना बाहिर आयो । यस्ता कति सोझा साझा, निमुखा लाचार बनेका घटना होलान् रु जुन गर्भमै तुहिएका छन् । आम नेपाली नागरिकलाई स्वास्थ्य सेवामा राहत पुर्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । तर यसको कार्यान्वयनमा कति समस्या जोडाइएको छ, यसको मर्म भुक्त भोगीलाई मात्र थाहा छ ।
यसै प्रसङ्गमा मेची अस्पतालले, व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी नियम लगाएको छ । अस्पतालमा सम्बन्धित रोगको चिकित्सक रहेमा रेफर लेटर दिँदैन । त्यहीँ उपचार गराउनु पर्ने अरे ! अनि सरकारी अस्पतालको रेफर लेटर नभए अन्य चिकित्सकीय प्रतिष्ठानले बिमा कार्डको सुविधा दिँदैन । कस्तो विडम्बना !
मेची अञ्चल अस्पतालले उपचारजन्य सबै उपकरण, अनि तत् तत् सम्बन्धी चिकित्सकको ब्यबस्थत गरेर सबैको मन जितेर, प्रशंसनीय उपचार गर्दा त रोगीहरूको स्वतस्फुत ताँती लागिहाल्छ नि ! किन नाना भाँतीका हथ्कण्डा अपनाउनु पर्छ र ? डा. छ, उपकरण छैन । उपकरण छ त्यसलाई चलाउने विशेषज्ञ छैन । विशेषज्ञ छ, उपकरण बिग्रिएको छ । यो मेची अञ्चल अस्पतालको परिचय हो ।
यति हुँदाहुँदै पनि मेची अस्पतालको आफ्नै लिडेढिपि छ , सबै रोगीलाई त्यहीँ उपचार गराउन बाध्य तुल्याउने । कल्पना गरौँ, यदि मेची अञ्चल अस्पताल काठमाडौँमा भएको भए, कुनै पनि प्रधान मन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ अधिकारीलाई विदेश गएर उपचार गराउन नै स्वीकृति दिँदैन थियो होला ! हैन त ? त्यो पनि सरकारी खर्चमा ।
अन्तमा मेची अस्पताल, स्थानीय, प्रदेश र देश विदेशकै आँखाको नानी बनोस् ! त्यहाँका सञ्चालक, डा. कर्मचारी रोगी मैत्री बनुन् भन्ने शुभकामना र आग्रह छ ।