भद्रपुरका मेयर पोखरेलको नाममा खुला पत्र

श्री गणेश पोख्रेल ज्यु, नगर प्रमुख - भद्रपुर नगरपालिका, झापा
नमस्कार !
सर्वप्रथम तपाईँ लगायत भद्रपुर नपाको सिङ्गो नयाँ टिमलाई सफल कार्यकालको हार्दिक शुभकामना ! सञ्चार माध्यम मार्फत हाम्रो जानकारीमा आएअनुसार, मेयर पदको शपथ लिँदै गर्दा यहाँले जनाउनु भएका प्रतिबद्धताहरू उत्साह जनक छन्, जसको व्यावहारिक कार्यान्वयनमा यहाँलाई सफलता प्राप्त होस् ।
यहाँ तपाईँको ध्यान केन्द्रित गर्न खोजिएको विषय के हो भने, हाम्रो भद्रपुर नगरमा रहेको मेची अञ्चल अस्पताललाई सुविधा सम्पन्न बनाउने कुरा त चली नै राखेको छ, जुन अभियान आगामी दिनमा पनि जारी नै रहला । तर दुःखको कुरा आज पनि अस्पतालमा उपचारका लागि जाने बिरामीहरूले डाक्टरलाई भेट्न डाक्टरको क्याबिनको ढोकामा घुइँचो लागेर आपसमा ठेलमठेल गर्दै उभिनु पर्ने अवस्थामा भने कुनै सुधार आउन सकेको छैन । अस्पतालको सरसफाइको अवस्था उस्तै विरक्त लाग्दो छ । डाक्टर शावहरूको उपस्थिति र समय व्यवस्थापनमा पनि सुधारको खाँचो छ ।
यो अवस्थालाई थोरै मर्यादित बनाउन वा सुधार गर्न अतिरिक्त बजेट भन्दा पनि एउटा असल नियतको खाँचो छ । मेची अञ्चल अस्पताल नपाको नियन्त्रण भित्र पर्दैन भन्ने कुरामा हामी सचेत छौँ । तर यो विषयमा नपाले चासो नै राख्न नमिल्ने, अथवा नपाले सधैँ आँखा चिम्म गरेर बस्नु पर्ने भने पक्कै पनि होइन होला ।
हिजो जे भयो भयो, आज तपाईँ नयाँ जोस र जाँगरका साथ आउनु भएको छ । तपाईँले चाहनु भयो भने अस्पतालको अहिलेको अवस्थामा परिवर्तन ल्याउन सम्भव छ । तपाईँ पहल गर्नुस्, तपाईँलाई सम्पूर्ण नगरवासीले साथ दिनेछन् ।
भवदीय,
रमेश ढकाल
सचेत नागरिक
भद्रपुर, झापा