२०८० मंसीर २० गते , बुधबार

स्थानीय निर्वाचन : मतदातामा अन्योल र मतपत्र बदर हुने सम्भावना 

sajilo news
झापा
२०७९ बैशाख २५ गते , आईतबार
स्थानीय निर्वाचन : मतदातामा अन्योल र मतपत्र बदर हुने सम्भावना 

अहिले जताततै चुनावी माहोल छ । घरदैलोमा पुगेर आफूलाई मतदान गर्न उम्मेदवारहरू अपील गरिरहेका छन््, तर मतदातालाई मतदान गर्दा अपनाउनु पर्ने होशियारी बारेमा सचेत गराउन भने उनीहरूको ध्यान पुगेको पाइँदैन । 
स्थानीय तहका जनप्रतिनिधि छनोटका लागि मतदान गर्ने दिन नजिकिंदै गर्दा मतदाताहरूमा थोरै उत्साह र धेरै अलमल रहेको पाइएको छ । यसपटक कसरी मत हाल्ने भन्ने बारेमा धेरैलाई जानकारी छैन, मतपत्रको ढाँचा र धेरै उम्मेदवारका चुनाव चिन्हले मतदाता अलमलमा पर्ने सम्भावना निकै छ । 
मतपत्रमा कसरी सुरक्षित तवरले मत संकेत गर्ने भन्ने बारेमा मतदाता शिक्षा नदिइसकेका र त्यसतर्फ निकै कम मात्र दल वा उम्मेदवारको ध्यान पुगेकाले मत बदर हुनसक्ने सम्भावना यसपालि अलि बढी नै छ । यतिबेला दलका र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै मत दिन आग्रह गर्नैमा मात्रै केन्द्रित छन् । नमूना मतपत्र देखाएर यसरी मत संकेत गर्नुपर्छ भनेर सिकाउने काममा भने धेरैले ध्यान दिएकै छैनन् । बरू पार्टीका चुनावी गीत तथा विभिन्न तामझाम सहित उम्मेदवार टोल–टोल धाउँदैछन््, भोट माग्दैछन्् ।
उम्मेदवारले घर–घर पुगेर मत माग्ने कार्यमा मात्र प्रतिस्पर्धा चलेको छ । तर, आकारमा ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले यसपटक जो कोही अल्मलिने र झुक्किने अवस्था रहेको छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।
यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने नेपाली कांग्रेसका भद्रपुर नगरपालिका, वडा नं– ८ का सभापति रत्नप्रसाद खतिवडा समेत बताउँछन् । त्यसैले उनी उम्मेदवारहरूसँगै घरदैलो कार्यक्रममा पुग्दा मतदाताहरूलाई नमूना मतपत्र देखाउँदै कसरी मत संकेत गर्ने भन्ने बारेमा समेत बुझाइरहेका छन् । यसपालि यो चुनावमा कांग्रेसले अरू राजनीतिक दलबीच गठबन्धन गरेकोले पनि गठबन्धन गरिएका दलका उम्मेदवारको छुट्टै चिन्हमा समेत मत संकेत गर्नु पर्ने हुँदा मतदाता मत हाल्ने बेलामा निकै अलमलमा पर्ने भएकाले आफू लगायतको टोलीले मत खेर जान नदिन मतदातालाई मिहिन ढंगले बुझाउन खटिरहेको वडा नेता खतिवडाले बताए ।
गठबन्धनका कारण नै मत बदर हुनसक्ने सम्भावना उत्तिकै भएकोले गठबन्धन गरेका सबै दलले मतदान गर्ने तरिका बारे आम मतदातालाई सिकाउन अति आवश्यक रहेको छ । मतदातालाई मतदान गर्ने तरिका बारेको अन्यौल हटाउन उनीहरूको जिज्ञासा सम्बोधन गर्नेगरी सचेतना जगाउने हो भने मत बदर हुने सम्भावना कम मात्रै हुँदैन, मताधिकारको सदुपयोग समेत हुन्छ । 
स्थानीय तहको चुनावमा नगरपालिकामा प्रमुख र उपप्रमुख, वडा अध्यक्ष १ र ५ वडासदस्य तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र ५ वडासदस्य गरी ७ स्थानमा मतदान गर्नुपर्ने हुन्छ । त्यसमाथि गठबन्धन वा तालमेल गरिएका स्थानीय तहमा त झन् धेरै पार्टीको चुनाव चिन्हमा मत दिनुपर्ने भएको हुँदा आम मतदाता अल्मलिने पक्का छ । यसबाट मत बदर हुने सम्भावनालाई बढाएको छ ।  यतिञ्जेल मतदातालाई तत्सम्बन्धमा सचेत गराउने काम उम्मेदवार वा दलका प्रतिनिधिहरूबाट भएको छैन भने निर्वाचन आयोगले पनि मतदाता शिक्षाका लागि यसपालि कुनै व्यवस्था नगरेको जनाएको छ । 
यसपटक दलबाट एकल वा गठबन्धनमा सामेल उम्मेदवार बनेकाहरूको पक्षमा मतदान गर्ने सही तरिका सिकाउन कार्यकर्ताहरूलाई मतदाता शिक्षाका लागि घर–घरमा पठाउनु पर्ने हो । तर, केही नमूना मत–पत्रका साथ सीमित संख्यामा मतदाता शिक्षा दिन नगण्य कार्यकर्ताहरू लागिरहेको भने पाइन्छ । तर, त्यो पर्याप्त छैन । त्यसैले धेरै मत बदर हुने अवस्था बहालै छ । जसका कारण जित्ने उम्मेदवार पनि मत बदर हुँदा हार्ने सम्भावना रहन्छ । त्यसलाई मध्यनजर गर्दै जति दिन बँचेको छ, त्यो समय मतदाता शिक्षाका लागि कार्यकर्ताहरूलाई खटाउनुको विकल्प छैन । मतदाताले ध्यानपूर्वक मतदान गर्न अति आवश्यक छ ।
झापा जिल्लाका १५ स्थानीय तह र १ सय ३१ वडामा निर्वाचित हुन उम्मेदवारहरू चुनावी मैदानमा छन्् । यही बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारित छ । –साप्ताहिक समाचारबाट
 

सम्बन्धित समाचार