२०८० मंसीर २० गते , बुधबार

हल्ला गर्ने हैन अब आवाज उठाउने हो

sajilo news
रमेश ढकाल
२०७९ बैशाख ११ गते , आईतबार
हल्ला गर्ने हैन अब आवाज उठाउने हो

४६ सालमा पञ्चायत फ्याँकेर प्रजातन्त्र पुनर्स्थापना गर्‍यौँ । यतिले पनि पुगेन भनेर ६२/६३ को आन्दोलन मार्फत संवैधानिक राजतन्त्रलाई फ्याँकेर वा मासेर हामीले गणतन्त्र स्थापना गर्‍यौँ । राजाको ठाउँमा हामीले राष्ट्रपति ल्यायौँ । संविधानमा समाजवाद उन्मुख र धर्मनिरपेक्ष देश भनेर अंकित गर्‍यौँ । 

तर दुःखको कुरा हाम्रा नेताहरु फेरिए । तिनका आफन्तहरू फेरिए । कोही सांसद बने, कोही मन्त्री बने, कोही राजदूत बने त कोही सरकारी संस्थाहरूका हाकिम बने । तर आज सम्म हाम्रो देश फेरिन सकेन । आम जनता फेरिन सकेनन् । आम जनताको दैनिकी फेरिन सकेन । मलेसिया तथा खाडी मुलुकहरूमा दैनिक बाह्र पन्ध्र सयको सङ्ख्यामा लाम लागेर बाहिरिने हाम्रा युवा दाजु भाइ दिदी बहिनीहरूको दुर्दशा फेरिन सकेन । आजका दिन सम्म आइपुग्दा नत हाम्रा शैक्षिक संस्था तथा अस्पतालहरू फेरिए, नत अड्डा अदालतहरू नै फेरिए । फेरिएता केवल नेता फेरिए । मन्त्री फेरिए । सरकार फेरिए । बारबार फेरिए ।

फेरिने कार्य जारी नै छ । भोलि कुनै दिन हाम्रा नेताहरूलाई सनक चढ्यो भने अहिलेको व्यवस्थालाई पनि फेरेर हाम्रो देशमा अहिले एक थरी कम्युनिस्ट नेताहरूले भन्ने गरेको वैज्ञानिक समाजवाद नआउला भनेर भन्न भन्न सकिँदैन । किनभने हाम्रा नेताहरूका लागि जनताको अवस्था फेरिनु परेको छैन, मात्र व्यवस्था फेरिए पुगिहाल्छ । यो मात्र होइन, आउने समयमा देश पुनः हिन्दु धर्म तथा संवैधानिक राजतन्त्रमा फर्कियो भने पनि तपाई हामीले अचम्मित हुनु पर्दैन । किनभने व्यवस्था बदल्नका लागि हाम्रा केही थान नेताहरूलाई सनक मात्र चढ्नु पर्छ, अरू केही हुनु पर्दैन । त्यसै पनि देशको एउटा राजनीतिक शक्ति आज सशक्त रुपमा यसैका लागि लागिपरी रहेको छ ।  

म यसो किन भनी रहेको छु भने हाम्रो देशमा विकास गर्न वा हुन जति गाह्रो छ त्यति गाह्रो व्यवस्था परिवर्तन गर्न छैन । हाम्रा नेताहरूलाई कुनै सनक चढ्यो भने वा उनीहरूले चाहे भने रातारात व्यवस्था परिवर्तन गरेर देखाई दिन सक्छन् ।  गरेर देखाएका पनि त छन् । उनीहरूका लागि कठिन कार्य भनेको विकास गरेर देखाउनु हो ।  आम जनताहरूको अवस्था परिवर्तन गरेर देखाउनु हो ।  

हामी नेताहरूका विकास प्रेमी भाषण सुनेर आज पनि छक्क पर्छौँ, मक्ख पर्छौँ, अचम्मित हुन्छौ । तर उनीहरूले प्रतिबद्धता गरेका तथा घोषणा पत्रमा उल्लेख गरिएका कुराहरू पुरा नभएको वा पुरा गर्न नसकेको देख्दा भने हामी कहिल्यै छक्क पर्दैनौँैं, अचम्मित पनि हुँदैनौ नत नेताहरूलाई प्रश्न गर्ने हिम्मत नै जुटाउन सक्छौँ । नेताहरूका प्रतिबद्धता वा घोषणा पत्रमा लेखिएका कुराहरू मात्र हैन चुनाव जितेर, सरकार बनाएर प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रममा समय सीमा नै तोकेर यति वर्ष उति वर्ष भित्रमा पुरा गरिसकिने छ भनेर उल्लेख गरिएका कुराहरू पुरा नगर्दा, पुरा नहुँदा पनि हामी नेताहरूलाई प्रश्न गर्न सक्दैनौँ ।     

मेलम्ची खानेपानी आयोजना सुरु भएको बाइस वर्ष बित्यो तर काठमाडौँका जनता भने आज पनि मेलम्चीको पानी पर्खेको पर्खेकै छन् । ५२ साल तिरै नै हाम्रा नेताहरूले दश वर्ष भित्रमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने भनेको अहिले सत्ताइस वर्ष बित्यो, तर हाम्रो कुल उत्पादन आज पनि दुई हजार मेगावाट कट्न सकेको छैन । अहिले पनि अर्बौँ खर्चेर सरकार भारत बाट बिजुली किन्न बाध्य छ ।  

जनवाद, समाजवाद, साम्यवाद, वैज्ञानिक समाजवाद जस्ता विभिन्न वादहरू हाम्रा नेताहरूलाई सनक चढ्यो भने रातारात आउन सक्छन् वा नामकरण गरिन सक्छ । तर हकिकतमा विकासवाद ल्याउन वा विकास गरेर देखाउन भने हाम्रा नेताहरूका लागि असम्भव बनेको तथ्यलाई हामी सबैले नजिकै बाट देखिसकेका छौँ । भोगिसकेका छौँ । 

हाम्रो देशमा कुनै पनि प्रोजेक्टहरू किन तोकिएको समय सीमा भित्र पुरा हुन सक्दैनन् ? भ्रष्टाचारीहरू किन डराउदैनन ? निर्मला पन्तहरूले किन न्याय पाउदैनन ? पहुँच भएकाहरू किन अपराध गरेर पनि उन्मुक्ति पाउँछन् ? एउटा रक्सी पिएको मान्छेले नशाको तालमा अन्धाधुन्ध गाडी चलाउँदा एक जना निर्दोष महिलाको  ज्यान जान्छ तर अदालतले उसलाई  निर्दोष मानेर छाडिदिन्छ । 

गएको सरकारकै पालामा आगामी दुई वर्षभित्रमा सबै स्थानीय तहहरूमा प्राविधिक विद्यालय सञ्चालन गरिनेछ, भनिएको थियो – खै पुरा भयो ? रेलमार्ग, पानीजहाज, बन्दरगाहहरूको निर्माण गर्ने, अन्तर्राष्ट्रिय व्यापार बढाउने, युवाहरूलाई स्वरोजगार बनाउने लगायतका प्रतिबद्धता कहाँ पुगे ?     

हामी आज पनि हल्लामा रमाएर बसेका छौँ । हल्ला गर्ने हैन अब आवाज उठाऊ । अब नेताहरूका रेल ल्याउने, पानी जहाज ल्याउने, बन्दरगाह बनाउने लगायतका भाषण सुनेर ट्वाल्ल पर्ने, मक्ख पर्ने, छक्क पर्ने हैन बरु शंका व्यक्त गरौँ । उनीहरूलाई प्रश्न गरेर उल्टै ट्वाल्ल पारौँ, छक्क पारौँ । आफ्ना नेताहरूलाई जबाफदेही र जिम्मेवार बनाउने तिर लागौँ । नेताहरूले प्रतिबद्धता जनाउने गरेका कुराहरूको व्यावहारिक कार्यान्वयनका विषयमा पनि सोचौँ र चित्त नबुझेको विषयमा प्रश्न गरौँ । नेताहरूका भाषण सुनेर मक्ख पर्ने तथा हल्लाका पछि भाग्ने मात्र हैन, अब आवाज उठाउने हो । किनभने हाल्ला गर्नु र आवाज उठाउनु यी दुई फरक कुरा हुन् र यी दुई कुराको प्रभाव पनि फरक ढङ्गले पर्नेछ ।  

रमेश ढकाल : भद्रपुर–झापा (हाल दोहा–कतार)

सम्बन्धित समाचार