२०८० मंसीर २० गते , बुधबार

कथा : धनिलाल

sajilo news
रमेश ढकाल
२०७९ बैशाख २ गते , शुक्रबार
कथा : धनिलाल

धनिलाल एउटा अत्यन्तै सिपालु सिकर्मी थिए । उनी एउटा निर्माण व्यवसायी (ठेकेदार) का लागि काम गर्ने गर्थे ।  धनिलाल उक्त ठेकेदारसँग लगातार रुपमा काम गर्न थालेको झन्डै २५ वर्ष पुरा हुन लागेको हुन्छ । उनी अत्यन्तै मेहनत र लगनका साथ काम गर्ने गर्थे । उनको कामको गुणस्तर पनि अत्यन्तै उच्च प्रकारको रहने गर्दथ्यो । त्यसैले होला उनी ठेकेदारका अत्यन्तै प्रिय र विश्वास पात्र कामदार थिए ।  

एक दिन बिहान धनिलाल आफ्नो ठेकेदारकोमा पुग्छन् र भन्छन् तपाईँको म प्रतिको स्नेह, विश्वास सँगसँगै मलाई महिनै पिच्छे प्राप्त हुने गरेको मेरो मासिक पारिश्रमिक यी सबै कुराहरू म अवश्य पनि मिस गर्नेछु तर मैले अब मेरो नोकरी बाट रिटायर हुने निर्णय गरेको छु । हजुरको कृपाले आज सम्म मैले जे जति कमाए, बचत गरे, जुन म र मेरो परिवारका लागि बाँकीको जीवन जिउन पर्याप्त हुन्छ । आज सम्म हजुरका लागि सेवा गर्ने जुन अवसर दिनु भयो त्यसका लागि हजुरलाई धेरै धेरै धन्यवाद । तर अब भने मलाई कृपया बिदा दिनुस् ।  

आफूले अत्यन्तै स्नेह र विश्वास गर्ने आफ्नो कामदारको त्यस्तो कुरा सुनेर ती ठेकेदार अत्यन्तै दुखी हुन्छन् । र भन्छन् ठिकै छ, तिमीले यस्तो निर्णय नै गरिसकेको हौ भने म तिमीलाई जवर्जस्ती रोक्दिन तर सम्भव हुन्छ भने मेरो लागि एउटा अन्तिम एहसान गर । त्यो के भने मेरा लागि तिमीले यतिका घरहरू बनायो, अब एउटा अन्तिम घर बनाइ देऊ । त्यस पछि भने तिमी पूर्ण रुपमा रिटायर लिएर बस्नु । म तिमीलाई कुनै जोर जवर्जस्ती वा तिमी प्रति कुनै गुनासो गर्ने छुइन । ठेकेदारको प्रस्ताव धनिलाले नकार्न सक्दैनन् र उनका लागि एउटा अन्तिम घर बनाइदिन सहमत हुन्छन् ।

ठेकेदारको प्रस्ताव अनुसार धनिलाल त्यसै दिन बाट नयाँ घरको काम गर्न सुरु गर्छन् । तर यो पटक भने उनी पहिला जस्तो मेहनत र लगनका साथ आफ्नो काम गर्न सकिराखेको हुँदैनन् । उनको मन पहिलाको जस्तो गरेर काममा लागिराखेको थिएन । यो पटक उनको कामको गुणस्तर पनि पहिलाको जस्तो राम्रो भएको हुँदैन । तर पनि जसो त्यसो उनले त्यो घर भने बनाई सक्छन् र ठेकेदारलाई निर्माण भएको नयाँ घर निरीक्षण गर्न आउनका लागि खबर गर्छन् ।  

घर बनिसकेको खबर प्राप्त भए सँगै ठेकेदार नयाँ घर हेर्न भनेर आउँछन् । नयाँ घरको सबै कुरा निरीक्षण गरिसकेपछि, ठेकेदारले धनिलाललाई एक पटक अँगालो हाल्छन् र अन्त्यमा हातमिलाउदै उक्त नयाँ घरको चाबी धनिलाललाई दिँदै भन्छन् – धनिलाल तिमीले मेरा लागी यतिका वर्ष जुन लगन र मेहनतका साथ प्रतिबद्ध भएर काम गरौँ त्यसको बदलामा म यो नयाँ घर तिमीलाई उपहार स्वरूप दिन चाहन्छु । आज बाट यो नयाँ घर तिम्रो भयो ।

ठेकेदारको व्यवहारले धनिलाल स्तब्ध हुन्छन् । उनले बनाउँदै गरेको घर, जुन घर आफ्नै लागि हो र त्यो घरमा भोलि गएर म आफैँ बस्ने छु भन्ने कुराको ज्ञान उनलाई पहिला नै भइदिएको भए सायद धनिलालले  त्यो घर पहिला उनले बनाएका अन्य घरहरू भन्दा अझ धेरै मेहनत र लगनका साथ बनाउने थिए । 

आफूले सुरुमानै बुद्धिमत्तापूर्वक सोच्न नसकेकोमा, सही दृष्टिकोण राख्न नसकेकोमा तथा गर्नु पर्ने प्रयास, लगन, मेहनत नगरेकोमा धनिलाललाई निक्कै पश्चात्ताप हुन्छ । धनिलालले जस्तै गरेर हामीले पनि दिनदिनै जुन घर बनाइरहेका हुन्छौँ, पछि गएर त्यही घरमा बस्नु पर्छ भन्ने कुराको हेक्का भने अक्सर गरेर हामी धेरैले राखेको हुँदैनौँ ।  

त्यसैले, भोलिका दिनमा धनिलालले जस्तो पश्चात्ताप हामीले हाम्रो जीवनमा कहिल्यै गर्नु नपरोस् । यसका लागि आज जे निर्माण गरिरहेका छौँ, भोलि हामीले त्यसैमा बस्नु पर्ने हुन्छ भन्ने कुराको हेक्का हामी सबैलाई समयमै हुन आवश्यक हुन्छ । (कथाको स्रोत: आध्यात्मिक प्रवचन)

रमेश ढकाल  भद्रपुर–झापा (हाल दोहा–कतार)

सम्बन्धित समाचार