२०८१ बैशाख ३ गते , सोमबार

आमा, म कहिले ठुलो हुन्छु ?

sajilo news
रमेश ढकाल
२०७८ चैत्र १७ गते , विहीबार
आमा, म कहिले ठुलो हुन्छु ?

एउटा हुर्कँदै गरेको सानो छोरास् आमाको नजिक गएर, आमा, म कहिले ठुलो हुन्छु, जब म तपाईँलाई सोधे बिना नै घर बाट बाहिर निस्कन सक्छु ?
आमा: “तिमीलाई ठुलो हुन निक्कै समय लाग्छ छोरा । किनकि त्यति ठुलो त अहिले सम्म तिम्रो बुबा पनि बन्न सक्नु भएको छैन ।”  हिजो आजका प्रायः सबै केटाकेटीहरू केवल छिट्टै ठुलो हुन याने हुर्कन चाहन्छन्। तर छिट्टै हुर्कने चक्करमा उनीहरू आफ्नो बचपनको अर्थात् शैशवकालकोे त्यो एउटा पुलकित अवस्था भुसुक्कै बितेको भने पत्तै पाउँदैनन् ।
 
जब उनीहरू अलिक हुर्कन्छन्, त्यसपछि उनीहरू कलेज जान चाहन्छन् । जब उनीहरू कलेज पुग्छन्, धेरै जसो चैँ पढाइमा ध्यान लगाउनु भन्दा पनि कहिले पढाई सकेर एउटा राम्रो जागिर पाउन सकिएला भन्ने कुरामा केन्द्रित हुने गर्दछन् । 

जागिर त पाइहालिन्छ नि, पहिला अध्ययनमा ध्यान केन्द्रित गरौँ । राम्रो सँग अध्ययन गरौँ । तर होइन हाम्रो ध्यान जागिर प्राप्त गर्ने कुरामा नै केन्द्रित रहन्छ ।  एक जना विद्यार्थी एमबिएमा अड्मिसनका लागि कलेजको बाहिर बसेर फारम भर्दै गर्दा, नजिकैमा देखिएका कलेजका चौकीदारलाई यो कलेज कस्तो छ रु भनेर प्रश्न गर्छन् ।
  
चौकीदार: “कलेज एकदम राम्रो छ । वास्तवमा मैले पनि यहीँ कलेज बाट एमबिए गरेको हुँ । चिन्ता नगर, पछि केही बन्न सकेनौ भने कमसेकम यो कलेजको चौकीदार त अवश्य पनि बन्ने छौ ।” हिजोआज हाम्रा अधिकांश भाइबहिनीहरूको ध्यान अध्ययन गर्नमा भन्दा पनि धेरै चाहिँ पैसा कमिने जागिर कसरी प्राप्त गर्ने होला भन्ने कुरामा नै केन्द्रित रहने गर्दछ । जुन एक तरिकाले स्वाभाविक पनि हो । तर महत्त्वपूर्ण कुरा के हो भने, आफ्नो अध्ययनमा चैँ धेरै ध्यान केन्द्रित गर्न सके, राम्रो नम्बर ल्याएर पास गर्न सकिने थियो र राम्रो नम्बर ल्याएर पास गर्न सके, स्वतः राम्रो तलब भएको जागिर पनि प्राप्त हुनेथ्यो ।

दुःख सुख जब डिग्री प्राप्त हुन्छ । हामी नोकरी गर्न सुरु गर्छौँ । हामी धेरैको स्वभाव कस्तो हुन्छ भने, नोकरी सुरु गरे सँगसँगै हामीमा पदोन्नतिको चिन्ता पनि सुरु हुने गर्छ । पदोन्नति पाउने र धेरै पैसा कमाउने चिन्ताले गर्दा हामी आफ्नो काम खुसी भएर गर्ने तथा नयाँ नयाँ कुराहरू सिकेर आफ्नो काम गर्ने क्षमताको विकास गर्ने कुरामा भने पछि पर्न पुग्दछौँ ।  
जब हामी स्कुलमा हुन्छौँ, हामी ठुलो हुने, कलेज पुग्ने चिन्ता बाट ग्रसित हुन्छौँ । जब कलेज पुग्छौँ हामी डिग्री लिएर जागिर खाने चिन्ता बाट ग्रसित हुन्छौँ । जब जागिर सुरु गर्छौँ, प्रमोसन पाउने र धेरै पैसा कमाउने चिन्तामा पिरोलिलिने गर्दछौँ । जब हामी अलिक पैसा कमाउन थाल्छौँ, अनि सुन्दर जीवन साथी पाउने चिन्तामा पिरोलिलिन थाल्दछौँ । जब म आफूले सोचे जस्तै सुन्दर जीवन साथी भेट्ने छु तब गएर चैँ म खुसी हुनेछु र विवाह गरेर एकदम टेन्सन फ्री जीवन जिउने छु भन्ने कल्पनामा हामी जीवनलाई एक तरिकाले घिसारी राखेका हुन्छौँ ।

यस्तै यस्तै कल्पनामा हामी जीवनको वर्तमान क्षणको आनन्द लिनुको सट्टामा आगामी दिनको चिन्ताका कारण जीवनका ती हरेक क्षण तथा चरणहरूको आनन्द लिन बिर्सन्छौँ । जसका कारण जीवन यात्राका ती तमाम चरणहरूमा हामी जुन रुपमा फस्टाउनु पर्ने, फुल्नु पर्ने र फक्रनु पर्ने हुन्थ्यो त्यो रुपमा फस्टाउन, फुल्न र फक्रन भने सक्दैनौँ ।
   
कलेज पुगौँ अनि खुसी हुने छु । डिग्री प्राप्त होस् अनि खुसी हुने छु । जागिर प्राप्त होस् अनि खुसी हुने छु । सुन्दर लाइफ पार्टनर भेट्टाऊ अनि खुसी हुने छु । आफूले सोचेको वा रोजेको त्यो खास गन्तव्य आइपुगोस् अनि मात्र म खुसी हुने छु भन्ने खाले एउटा काल्पनिक अवधारणा वा सोचको हामी प्राय सबै सिकार हुने गरेका छौँ । जसका करण हामी हाम्रो जीवनको वर्तमान क्षणको मज्जा उठाउन भने बिर्सिन्छौँ । अर्थात् जीवनको पूर्ण आनन्द लिन बाट चुक्दछौँ । 
 
त्यसैले याद राख्नुस्, जीवनको कुनै खास गन्तव्यमा पुग्नका लागि यात्रा गर्दै गर्दा बाटोमा आईपर्ने ती हरेक घुम्तीहरूमा रमाउन सक्नु पर्छ तब मात्र हाम्रो जीवन सन्तुलित र सार्थक बन्न सक्छ ।

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार)

सम्बन्धित समाचार