२०८१ फाल्गुन ४ गते , आईतबार

शर्फराज – सन्देशमूलक छोटो कथा

sajilo news
रमेश ढकाल
२०७८ चैत्र ७ गते , सोमबार
शर्फराज – सन्देशमूलक छोटो कथा

शर्फराज आफ्नो हाकिमसँग तलब बढाउने विषयमा कुरा गर्न चाहेर पनि कुरा गर्न सकिराखेका हुँदैनन् । तर जुन जिम्मेवारी सम्हालेर उनले काम गरिराखेका थिए, त्यो हिसाबले आफूले इन्क्रिमेन्ट पाउनु पर्ने कुरामा भने उनी दृढ थिए । केवल हाकिमसँग आफ्नो कुरा राख्न भने उनी हिचकिचाइ रहेका थिए । यस्तैमा एक दिन बिहान आफिस जान तयार हुँदै गर्दा श्रीमतीसँग भन्छन्, हेर आज जस्तोसुकै अवस्थामा पनि म हाकिमसँग मेरो सेलरी इन्क्रिमेन्टका बारेमा कुरा गरेरै छाड्छु भन्दै घरबाट निस्कन्छन् ।
 
खैर, हाकिमसँग जसरी पनि कुरा गर्ने भन्ने दृढ इच्छा भएर पनि अफिसको समय सक्किन लागिसकेको थियो तर आज पनि उनले हाकिमसँग आफ्नो कुरा राख्न भने सकिराखेका हुँदैनन् । यस्तैमा, त्यो दिन एउटा नयाँ कामको विषयलाई लिएर केही सम्झाउने उद्देश्य राखेर हाकिम स्वयम् कार्यालयको अन्तिम समय तिर शर्फराजको अफिसमा पस्छन् । र केही निर्देशन दिएर फर्कनै लागेका हुन्छन्, यसै मौकामा शर्फराजले पनि हिम्मत जुटाएर हाकिमलाई आफ्नो सेलरी इन्क्रिमेन्टका लागि अनुरोध गर्छन् । अचम्मको कुरा हाकिमले पनि सर्फराजको अनुरोधलाई सहजै एकैपटकमा स्वीकार गर्दै, चालु महिनाबाट नै उनको सेलरी बढाई दिने वचन दिन्छन् । 

अतः शर्फराज त्यो दिन आफ्नो उद्देश्यमा सफल भएसँगै अत्यन्त प्रसन्न मुद्रामा घर पुग्छन् । देख्छन्, श्रीमतीले घरमा विशेष प्रकारका शर्फराजलाई अत्यधिक मन पर्ने व्यञ्जनहरू तयार गर्दै गरेकी हुन्छिन् । डिनर टेबल पनि सुन्दर मैनबत्तीहरू राखेर विशेष प्रकारले सजाएकी हुन्छिन् । मानौँ कुनै ठुलो उत्सवको तयारी भएको छ । यो सब देखेर शर्फराजलाई लाग्छ शायद अफिसबाट कसैले फोन गरेर मेरो इन्क्रिमेन्टको बारेमा यिनलाई बताई दिएको हुनसक्छ ।

खैर, आज सर्फराजको खुसीको कुनै सिमै थिएन, उनले किचनमा पसेर श्रीमतीलाई खुसीले अंकमाल गर्दै गुड न्युज सुनाउँछन् । श्रीमतीले पनि पुरा रोमान्टिक भावमा सर्फराजको हात समाएर सजाएर राखिएको डिनर टेबलको पासमा बसाउँछिन् । डिनर टेबुलमा एउटा कार्ड राखिएको हुन्छ, जसमा लेखिएको हुन्छ “बधाई छ प्रिय, मलाई थाहा थियो आज तपाईँले पक्का पनि इन्क्रिमेन्ट पाउनु हुनेछ ।

आजको यो विशेष प्रबन्ध तथा सजावट सबै तपाईँका लागि । तपाईँको आजको सफलताका लागि । र सबै भन्दा धेरै त एक अर्का प्रतिको हाम्रो अनकन्डिशनल लभ र विश्वासका लागि । यस्ता कुरा गरेर केही समयका लागि दुवै जना भावुक बन्छन् । दुवै जनाका आँखामा खुसीका आँसु टप्कन्छन् । त्यस पछि उनले एक पछि अर्को गर्दै सबै खानका परीकारहरू आफ्नो पतिलाई सर्भ गर्छिन् । र अन्त्यमा उनी त्यहाँ बाट उठेर भान्सा कोठामा डिजर्ट ल्याउनका लागि जान्छिन् । उठेर जाँदै गर्दा उनले लगाएको एप्रनको पकेटबाट उनले थाहा नपाई अर्को एउटा कार्ड भुईँमा खस्छ । 
 
शर्फराजले त्यो कार्ड उठाउँछन् । जसमा लेखिएको हुन्छ, “चिन्ता नगर्नुहोस् प्रिय, तपाईँले आज इन्क्रिमेन्ट पाउनु भएन त के भयो । तपाईँ इन्क्रिमेन्ट पाउन योग्य हुनुहुन्छ । आज नभए भोलि कुनै दिन तपाईँको मेहनतको कदर पक्का पनि हुने छ र तपाईँले अवश्य पनि इन्क्रिमेन्ट पाउनु हुनेछ । आज यो विशेष प्रबन्ध तथा सजावट सबै तपाईँका लागि । एउटा कुरा याद गर्नुहोला, जुनसुकै अवस्थामा पनि म तपालाई सधैँ यत्तिकै माया गरिरहेन छु ।” 

कथाको सन्देश – हामी सफल र सुखी रहन परिवार भित्र एक आपसमा साथ, समर्थन र सहयोगको ठुलो भूमिका हुने गर्दछ । यहाँ सम्म कि हामीलाई सिङ्गो दुनियाँले रिजेक्ट गरेको अवस्थामा पनि यदि हाम्रो जीवनमा एउटा कुनै त्यस्तो व्यक्ति छ । जसले हामीलाई सम्पूर्ण रूपमा स्वीकार गर्छ, विश्वास गर्छ, माया गर्छ भने हामी निश्चय पनि आफूले चाहेको हरेक वस्तु प्राप्त गर्न सक्छौँ । हामी जहाँ पुग्न चाहेको हो, त्यहाँ पुग्न सक्छौँ  अर्थात् आफ्नो उद्देश्य पुरा गर्न सफल बन्छौँ ।  

याद गर्नुस्, सकारात्मक सोच सँगै एक आपसको अटुट साथ, समर्थन र सहयोगले मात्र जीवनमा चाहेका हरेक कुराहरू प्राप्त गर्न सम्भव हुन्छ । त्यसैले, परिस्थिति जस्तोसुकै होस्, सधैँ सकारात्मक रहने बानी बसालौँ । ९कथाको स्रोतस् आध्यात्मिक प्रवचन० ।

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार) 
dhakalrp@gmail.com

सम्बन्धित समाचार