गरामनी क्याम्पसको भवन प्रयोगविहीन

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीमा स्थापित गरामनी क्याम्पस भौतिक संरचना निर्माण पुरा गर्न नसक्दा प्रयोगविहीन भएको छ।
स्थापना कालदेखि नै स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्दै आएको उक्त क्याम्पस आफ्नो भवन नहुँदा पठनपाठनमा समस्या भएको हो । दुई वर्षअघि क्याम्पस भवन निर्माण गर्न स्थानीय समाजसेवीहरू होम पाण्डे , कृष्णप्रसाद पाण्डे र हरि पाण्डेले आफ्ना मातापिताको स्मृतिमा ९ कट्ठा जग्गा दान गरेपछि भवन निर्माण त भयो तर, आवश्यक पूर्वाधार अधुरै रहेको छ ।
कृष्णप्रसाद पाण्डे र होमप्रसाद पाण्डेले आफ्ना माता–पिता महेश्वर पाण्डे, जालपा र नरमाया पाण्डेको स्मृतिमा र हरिप्रसाद पाण्डेले भानुप्रसाद हरिप्रिया पाण्डेको स्मृतिमा उक्त जग्गा निःशुल्क प्रदान गरेका थिए । उक्त जग्गा बिधिवत रुपमा क्याम्पसको नाममा दर्ता पास गरिदिएको दातामध्येका कृष्णप्रसाद पाण्डेले बताए।
जग्गामा हाल पाँच कोठे पक्की भवन निर्माण भएको छ तर, झ्याल ढोका, खानेपानी, शौचालय, सुरक्षा व्यवस्था गर्न नसक्दा अझै पनि सञ्चालनमा ल्याउन सकिएको छैन। हाल उक्त क्याम्पसमा व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएस कक्षा सञ्चालन भइरहेको छ । अब चाँडै भवन निर्माण कार्य सम्पन्न गरी नयाँ भवनबाटै पठनपाठन सुरु गरिने र मानविकी संकायको लागि पहल गर्ने पाण्डेले जानकारी दिए।