२०८० मंसीर २० गते , बुधबार

गाउँमा फेरि चुनाव आएछ

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
गाउँमा फेरि चुनाव आएछ

रमेश ढकाल । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ भन्ने समाचार देखे देखी नै मनमा धेरै कुराहरू सलबलाउन थालेका छन्। निर्वाचन हुने मिति हेर्दा, सम्भवतः यसपालि त भोट दिनका लागि घर पनि पुगिन्छ जस्तो छ। तर आफू परदेशमा रहने भएकोले अहिले सम्म भोटर लिस्टमा आफ्नो नाम भने परेको छैन। यस्तो अवस्थामा समयमा घर पुगियो भने पनि भोट दिन पो पाइने हो कि हैन भन्ने कुराको अन्योलता भने छँदैछ। 

खैर, दुई वर्ष पहिला छुट्टीमा घर पुगेको बेला राष्ट्रिय परिचय पत्रका लागि फोटो भने खिँचाएको थिए। उक्त परिचय पत्रले भोट दिन पनि काम गर्छ भन्ने पनि सुनेको हो। तर दुःखको कुरा उल्लेखित परिचय पत्र अहिले सम्म प्राप्त भने भएको छैन। जे होस्, अवसर प्राप्त भए छ भने भोट हालौला, अन्यथा अरूले भोट खसालेको हेरेरै भए पनि मन बुझाउला। दुःखको कुरा, म त एउटा प्रतिनिधि पात्र मात्र हुँ। हजारौँ लाखौँ परदेशी युवा दाजुभाइ दिदीबहिनीहरूको हाल मेरो जस्तै छ। 

खैर, यो लेखमा मैले चर्चा गर्न खोजेको विषय भने अलग्गै छ। एउटा आम मान्यता के छ भने लगभग हाम्रो देशका चालीस पचास लाख युवा परदेशमा रहने गरेको भन्ने अनुमान गरिन्छ। यसैलाई आधार मानेर मोटामोटी रुपमा एउटा अनुमान गर्ने हो भने परदेशमा कम्तीमा पनि नेपालमा रहने पचास प्रतिशत परिवारको प्रतिनिधित्व भएको हुनुपर्छ। 

यसरी हेर्ने हो भने कुल मतदाता सङ्ख्याको आधा भन्दा धेरै मतदातालाई हामी परदेशीहरूले प्रभाव पार्न सक्ने अवस्था रहेछ। एउटा परदेशी आफ्नो परिवारका लागि रोटीको जोहो गर्ने व्यक्ति (ब्रेडविनर) हुने भएकाले, परिवारमा उसको प्रभाव नपर्ने भन्ने कुरै हुँदैन। यस्तो अवस्थामा नेपालमा हुने निर्वाचन र त्यसको परिणाममा परदेशीहरूको अधिकतम प्रभाव पर्न सक्ने रहेछ भन्ने कुरा स्पष्ट छ। यसको मतलब कस्ता जनप्रतिनिधि चुन्ने वा कस्ता जनप्रतिनिधिलाई जिताउने भन्ने कुराको निर्णायक भूमिकामा हामी परदेशीहरूको हात निक्कै हुने रहेछ भनेर भन्दा अत्युक्ति नहोला।

यसै सन्दर्भमा अर्को महत्त्वपूर्ण कुरा के छ भने, सामाजिक सञ्जालमा नेताले देश बिगारेर खत्तम पारे भनेर सबै भन्दा धेरै गुनासो गर्ने या नेता तथा जनप्रतिनिधिहरूलाई गाली गर्ने पनि हामी परदेशीहरू नै पर्दछौँ। हामी परदेशीहरू आफैले वा हाम्रो परिवार बाट चुनिएका नेता तथा जनप्रतिनिधिहरूले देश खत्तम पारे भनेर अझै बिलौना गरेर बस्ने कि अबको निर्वाचन पछि भने नेता तथा जनप्रतिनिधिहरूलाई गाली गर्न पर्ने परिस्थिति नआओस् भनेर बेलैमा सचेत बन्ने? बल अब हाम्रो कोर्टमा छ!  

गएका वर्षहरूमा विकासका कामहरू भएनन् भनेर म भन्दिन। हरेक नगर गाउँहरूमा ठुलो सङ्ख्यामा नाली, सडक, पाटी, पौवा, विभिन्न सामुदायिक भवन, गिर्जाघर, देवालय, मठमन्दिर, पार्क, भ्युटावरहरु लगायत विभिन्न सरकारी प्रशासनिक भवनहरूको निर्माण कार्यहरू भए। समग्रमा भन्दा आन्तरिक पर्यटन तथा कृषिका क्षेत्रमा केही उल्लेखनीय कामहरू पनि भएका छन्। यति हुँदा हुँदै पनि हाम्रो विकासको प्राथमिकता के कस्ता विषयहरूमा हुनु पर्ने थियो भन्ने कुरामा भने हामी तथा हाम्रा जनप्रतिनिधिहरू चुकेको देखिन्छ। 

सिङ्गो मुलुकको अर्थतन्त्र धान्ने सवालमा रेमिट्यान्सले मेरुदण्डको काम गरेको छ। यदि हाम्रो गाउँ, नगर अथवा सिङ्गो देशबाट रेमिट्यान्सलाई अलग्याएर हेर्ने हो भने अहिले पनि एउटा कहाली लाग्दो चित्र हाम्रो सामुन्ने आएर उभिने गर्छ। 

अहिले पनि हाम्रा किसान आमा बुवाहरू समयमा नै आवश्यक मल बिउ पाउन नसक्दा निराश बन्नु परेको छ। सरकारी अस्पतालमा आज पनि सर्वसुलभ ढङ्गले उपचार पाउन सम्भव छैन। मुलुकका ठुला ठुला भनिने सरकारी अस्पतालहरूको लथालिङ्ग अवस्था झनै विरक्त लाग्दो छ। सरकार सत्तरी भन्दा पनि धेरै प्रकारका औषधीहरू निःशुल्क उपलब्ध छन् भन्छ, उता आम जनता भने सिटामोल किनेर खान्छु भन्दा पनि नपाएर तड्पनु परेको अवस्था  छ। गाउँ गाउँमा स्कुल कलेजहरू भएर पनि, कमजोर शिक्षा प्रणालीका कारण बेरोजगारहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। केही रहे भएका उद्योग कारखानाहरूमा अहिले पनि अधिकांश प्राविधिकहरू इन्डियाबाट नै आएर काम गरिरहेको अवस्था छ। 

यस्ता अनेकौँ विषयहरू छन् जसको सम्बोधन उच्च प्राथमिकताका साथ हुनु पर्ने थियो, तर विडम्बना त्यस्तो हुन सकेन। अधिकांश जनप्रतिनिधिहरूको प्राथमिकतामा पनि तिनै प्रोजेक्टहरूमा परे जसबाट उनीहरू धेरै भन्दा धेरै व्यक्तिगत लाभ उठाउन सक्थे।

तर अब भने फेरि यस्तो अवस्था नदोहोरियोस् भन्ने कुरामा हामी परदेशीहरू सचेत बन्नै पर्छ। अबको विकास अनुत्पादक नहोस्। आम जनताले राहत महसुस गर्न सकुन्। हाम्रो आफ्नै गाउँ नगरमा रहेको स्कुलहरू बाट कृषि, पशुपालन, जलविद्युत लगायत अन्य लोकल कलकारखानाहरूका लागि आवश्यक प्राविधिकहरू उत्पादन हुन सकुन्। हाम्रो आफ्नै गाउँ नगरमा रहेको स्कुल कलेजहरू बाट हाम्रा छोराछोरी भाइबहिनीहरू नर्स, जेटीए, ड्राफ्ट्सम्यान, ओभरसियर, इन्जिनियर, भेटनेरि डाक्टर बनेर निस्कन सकुन्। 

सरकारी अस्पतालहरूमा एउटा डाक्टर भेट्न ठेलाठेल गरेर लाइनमा उभिनु नपरोस्। ७०–८० काटेका हाम्रा आमा बुवा हजुरबुवा हजुरआमाहरूले आफ्नो स्वास्थ्य चेकजाँच लागि चिन्ता गर्नु नपरोस्। मल बिउ समयमा पाउन सकिएन भनेर किसानहरूले नारा जुलुस निकाल्नु नपरोस्। एउटा +२ सम्मको अध्ययन सकेर निस्केको विद्यार्थीलाई जीविकोपार्जनका लागि अब के गर्ने होला भन्ने कुराको चिन्ता नहोस्। एउटा आम युवाले वैदेशिक रोजगारका लागि भिसा आएन भनेर चिन्ता गर्नु नपरोस्।

४–५ वर्षको अवधिमा माथि उल्लेखित विषयहरूमा शत–प्रतिशत सफलता हासिल गर्न सम्भव थिएन होला तर सफलता प्राप्त गर्ने बलियो आधार बनाउन असम्भव भने थिएन। राजनीतिक सिद्धान्त/दर्शनहरूको आ–आफ्नै महत्त्व होलान् तर सबै भन्दा महत्त्वपूर्ण भनेको राजनीतिक दलका नेताहरूको नियत नै हो। 

अबको स्थानीय चुनावमा भोट माग्न आउने उम्मेदवार, नेता अगुवाहरूलाई भोलि तिमीले जितेको खण्डमा हाम्रो गाउँ तथा नगर बाट कति नर्स, जेटीए, ड्राफ्ट्सम्यान, ओभरसियर, इन्जिनियर, भेटनेरि डाक्टर उत्पादन गर्न सक्छौ भनेर अब हामीले प्रश्न गर्न सक्नु पर्छ। सबैका लागि स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन तिमी सँग के प्लान छ भनेर सोध्न सक्नु पर्छ। आफ्नो गाउँ तथा नगरमा रोजगारीका अवसरहरू सिर्जना गर्न तिमी सँग के कस्ता उपायहरू छन् भनेर सोध्न सक्नु पर्छ। आज हामीले यसरी प्रश्न गर्न सकियो भने मात्र जनप्रतिनिधिहरू भोलि गएर उत्तरदायी बन्ने छन्।

त्यसैले आगामी चुनावमा दुई पैसा चन्दा दिन सक्ने हैन, आउँदा दिनमा तपाईँ हामीलाई कहिल्यै कसैसँग चन्दा लिन नपर्ने एउटा स्वावलम्बी नागरिक बनाउन सक्ने सक्षम र मेहनती नेता तथा जनप्रतिनिधिहरूको छनौट गरौँ अनि मात्र हामी र हाम्रो मुलुकको कल्याण हुन सक्छ। अहिले देखी नै सचेत बनौँ – बल अब हाम्रो कोर्टमा छ!

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार)

सम्बन्धित समाचार